२१ भाद्र २०८३, आईतवार

 

बागलुङमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, वैदेशिक रोजगारी र सामाजिक सञ्जाल मुख्य कारण

बागलुङ । सम्बन्ध बिच्छेदको मुख्य कारक बैदेशिक रोेजगारी र सामाजिक सञ्जाल रहेको पाइएको छ । जिल्ला अदालत बागलुङमा एक वर्षमा ३ सय ८५ सम्बन्ध बिच्छेद भएका अधिकांश मुद्दा बैदेशिक रोेजगारी पछिका घटनाक्रम र सामाजिक सञ्जाल लगायतका कारण मुख्य रहेको पाइएको छ ।

अघिल्ला वर्षबाट जिम्मेवारी सरेको २ सय ५१ र आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ६ सय ४२ गरी जम्मा ८ सय ९३ मुद्दा मध्ये ६ सय ९३ फछ्र्योट भएका छन् । जिल्ला अदालतमा एक वर्षका मुद्दामध्ये आधाजस्तो मुद्दा सम्बन्ध बिच्छेदको रहेको पाइएको छ ।

जिम्मेबारी सरेर आएका सहित एक आर्थिक वर्षमा रहेको ८ सय ९३ मुद्दामध्ये ४ सय ७३ मुद्दामात्रै सम्बन्ध बिच्छेदका रहेको जिल्ला न्यायाधिस सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पछिल्ला वर्षमा सम्बन्ध बिच्छेदका मुद्दामा वृद्धि आएको बताउनुभयो । गत आर्थिक वर्षमा ४८ वटा अदालती बिबाह भएको र ३ सय ८५ वटा सम्बन्ध बिच्छेद भएको उहाँको भनाई छ ।  ४ सय ७३ सम्बन्ध बिच्छेदका मुद्दामा ३ सय ८५ मुद्दा फछ्र्योट भएको ८८ मुद्दा बाँकी रहेको छ ।

“मुद्दाको प्रकृतिका आधारमा देवानी मुद्दाहरु सबैभन्दा बढी रहेकोे पाईको छ जसमध्ये सम्बन्ध बिच्छेदका मुद्दा अधिक रहेका छन्, मुद्दाहरुको विश्लेषण गर्दा सिमित फाइदाका लागि बिबाह गर्ने, सम्बन्ध बिच्छेद गरेर बिदेश जाने, पेन्सनका लागि सम्बन्ध बिच्छेद गर्ने, बैदेशिक रोजगारीमा जान बिबाह गर्नेर असफल भएपछि बिच्छेद गर्ने लगायतका कारणहरु देखिन्छ” अधिकारीले भन्नुभयो “मुख्य कारण बैदेशिक रोजगारी र त्यसपछिका घटनाहरुले बढी सम्बन्ध बिच्छेद भएको देखिन्छ, लाहुरेको परिवारमा आर्थिक लाभका लागि सम्बन्ध बिच्छेद गरेपछि बेलायत जाने र पुन बिबाह गर्ने, भारतमा अबिबाहित र सम्बन्ध बिच्छेदभएको छोरीलाई दिने पेन्सन जस्ता कारणले समेत सम्बन्ध बिच्छेदका घटना बढी देखिएको छ, सामाजिक सञ्जाल, देखासिखी र बैदेशिक रोजगारीका कारण लामो समयदेखि श्रीमान श्रीमतीको मिलन नहुनु लगायतले सम्बन्ध बिच्छेदको मुद्दा बढी भएको हो ।”

बागलुङ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८ सय ९३ मुद्दामध्ये ६ सय  ९६ मुद्दा फछ्र्योट गरेको छ भने १ सय  ९७ मुद्दा बाँकी रहेको पाइएको छ । अदालतका अनुसार सबैभन्दा धेरै देवानी मुद्दा रहेका छन् ।

देवानीतर्फ ६ सय ३७ मुद्दामध्ये ५ सय ३ मुद्दा फछ्र्योट भएका छन् भने १ सय ३४ मुद्दा बाँकी छन् । यसमध्ये सम्बन्ध विच्छेदका मात्रै ४ सय ७३ मुद्दा दर्ता हुँदा ३ सय ८५ मुद्दा टुङ्गिएका छन् र ८८ मुद्दा विचाराधीन छन् । विवाहसम्बन्धी ४८ मध्ये ४१, लेनदेनका ३४ मध्ये २८, अंशबण्डाका ३९ मध्ये १९ तथा अन्य ४३ मध्ये ३० मुद्दा फछ्र्योट भएका छन् ।

सरकारीवादी फौजदारी प्रकृति तर्फका कुल १ सय ९२ मुद्दामध्ये १ सय ३९ मुद्दा फछ्र्योट हुँदा ५३ मुद्दा बाँकी छन् । यसमा जबर्जस्ती करणीसम्बन्धी कसुरका ३६ मुद्दामध्ये २३ फछ्र्योट र १३ बाँकी छन् । लागूऔषधसम्बन्धी १२ मध्ये ११, सवारी ज्यानसम्बन्धी १५ मध्ये १२ फछ्र्योट र ३ बाँकी रहेका छन् ।

बैंकिङ कसुरका ३१ मध्ये २४, ज्यान मार्ने उद्योगका १४ मध्ये ८ तथा चोरीसम्बन्धी कसूरमा ९ मध्ये ९ फछ्र्योट भएको अदालतले जनाएको छ । यस्तै बहुबिबाह सम्बन्धी ११ मध्ये ५, बालबिबाह सम्बन्धी ४ मध्ये चार वटै, कत्यव्य ज्यान सम्बन्धी मुद्दामा ८ मध्ये ७, गर्भपतन मुद्दामा १ मध्ये १ फछ्र्योट भएको छ ।

यस्तै, दुनियावादी फौजदारीतर्फ ५९ मुद्दामध्ये ४९ मुद्दा फछ्र्योट भएका छन् भने १० मुद्दा बाँकी छन् । यसअन्तर्गत जालसाजीका २३ मध्ये २०, चेक अनादरका १८ मध्ये १६, घरेलु हिंसाका सबै ४ तथा अन्य १४ मध्ये ९ मुद्दा टुङ्गिएका छन् ।

त्यसैगरी आर्थिक वर्षभर दर्ता भएका ५ वटा निषेधाज्ञासम्बन्धी सबै मुद्दा अदालतले फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा बाँकी रहेका १ सय ९७ विभिन्न प्रकृतिका १ सय ९७ मुद्दा चालु आर्थिक वर्षमा जिम्मेबारी सरेर आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung