बागलुङ । नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले कानून व्यवसायीहरू न्यायको पहुँचका सारथी भएको बताउनुभएको छ।
उच्च अदालत बार इकाइ बागलुङको ४८औँ साधारणसभाको उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले न्याय प्रणालीलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन नेपाल बारले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो।
न्याय र कानूनका क्षेत्रमा देखिएका नकारात्मक पक्ष पहिचान गरी तिनलाई सकारात्मक दिशातर्फ रूपान्तरण गर्न सबै कानून व्यवसायी सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो।

कानून व्यवसाय विश्वसनीय पेसा भए पनि यस क्षेत्रप्रति विभिन्न गुनासा र प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै उहाँले त्यसको समाधानका लागि आचारसंहिता निर्माण तथा कार्यान्वयनको काम भइरहेको जानकारी दिनुभयो।
महान्यायाधिवक्ता कँडेलले विद्यमान कानूनमा रहेका कमी–कमजोरी तथा अस्पष्टता सुधार गर्न कानूनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय कानून सुधार समिति गठन गरिएको बताउनुभयो।
उहाँले चालु वर्षलाई ‘कानून निर्माण वर्ष’ का रूपमा मनाउने गरी काम अघि बढाइएको जानकारी दिँदै कानूनबाट सम्बोधन हुन नसकेका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
जिल्लास्तरबाट प्राप्त सुझाव र सल्लाहलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङकी अध्यक्ष गीता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको सञ्चालन र उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न साधारणसभामा उच्च अदालत बागलुङकी न्यायाधीश सरलाकुमारी पाण्डे, मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद शर्मा निउरे, काजी गाउँले श्रेष्ठ, हरिप्रसाद शर्मा, भूमिश्वर शर्मा गौतम, बारका पूर्वअध्यक्ष राम शर्मा, महिला विभाग प्रमुख लक्ष्मीदेवी जिसी कार्की तथा लेखापढी व्यवसायी संघका प्रतिनिधि सञ्जीव श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
साधारणसभाका अवसरमा बारले उच्च अदालत बागलुङमा सरुवा भई आउनुभएका न्यायाधीश तेजनारायण पौडेलको स्वागत तथा सरुवा हुनुभएका न्यायाधीश डण्डपाणी शर्माको बिदाइसमेत गरेको थियो।
सभाले सचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामराज कँडेलको आर्थिक प्रतिवेदन पारित गरेको अध्यक्ष श्रीषले जानकारी दिनुभयो।
















































































































































































