बागलुङ । बागलुङ नगरपालिका–४ ओढारचौरस्थित देउराली महिला समूहले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ लाख ५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समूहले सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरेको हो।
रकम हस्तान्तरण गर्दै समूहकी अध्यक्ष विष्णुकुमारी शर्माले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो।
समूहकी कोषाध्यक्ष लक्ष्मी शर्माले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा सबै एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा समूहका सदस्य अस्मिता क्षेत्री थापा, मधु शर्मा, जशोदा शर्मा, सल्लाहकार सावित्री विष्ट तथा समाजसेवी नारायण शर्मा लगायतको उपस्थिति थियो।
गत भदौ १० गते चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए।
बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। विपत्तिपछि सर्वसाधारण, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, संघसंस्था तथा विभिन्न दाताले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।
















































































































































































