बागलुङ । बागलुङमा गाईजात्राको अवसरमा एक वर्षभित्र दिवंगत भएका सात जनाको सम्झनामा ताया : मचानिकालिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको हो ।
गाईजात्राको अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बागलुङ बजारमा ताया : मचा प्रदर्शनसहित जात्रा निकालिएको नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष जयराम भारीले बताउनुभयो ।
नेवार समुदायले दिवंगत परिवारका सदस्यको सम्झनामा मनाउने गाईजात्रा पर्वअन्तर्गत यस वर्ष बागलुङ बजारका नेवार परिवारका सात जना दिवंगत सदस्यको सम्झनामा ताया : मचा बनाई नगर परिक्रमा गरिएको हो ।
नारायणचोकस्थित लक्ष्मीनारायण मन्दिरबाट ताया : मचार राधाकृष्ण मन्दिरबाट बास्सा नाच निकालिएको थियो । नारायणचोकबाट सुरु भएको जात्रा मरेपिपलको परिक्रमा गर्दै पुनः नारायणचोकमै पुगेर सम्पन्न भएको हो ।
स्थानीय परम्पराअनुसार नेवार समुदायमा दिवंगत व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ताया मचालाई मरेपिपलसम्म पुर्याएर प्रदर्शन गर्ने र त्यसपछि फर्काउने चलन रहेको छ ।
बागलुङमा गाईजात्राको अवसरमा निकालिने ताया : मचाको स्वरूपमा खासै परिवर्तन नभएको नेपाल भाषा मंका: खल: बागलुङका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गाईजात्रामा दिवंगतको सम्झना, पुरानो सांस्कृतिक परम्पराको संरक्षण, परम्परागत बाजागाजा, नाचगान तथा सामूहिक सहभागिता हुने भएकाले यसले नेवार समुदायको संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
विसं १९८३ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि नारायणचोकबाट तायाः मचा निकालेर बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।




सय वर्षदेखि नारायणचोकबाट निकालिँदैछ तायाः मचा
बागलुङ । बागलुङ बजारमा तायाः मचा नाच निकाल्ने परम्परा सय वर्ष पुरानो छ । विसं १९८३ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि नारायणचोकबाट तायाः मचा निकालेर बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।
नेपाल भाषा मंकास् खलस् बागलुङका सदस्य जयराम भारीका अनुसार विसं १९८३ अघिसम्म बागलुङ बजारमा गाईजात्रा अर्थात् तायाः मचा नाच चौधरी थरका नेवार समुदायले बानपा–३ स्थित बुद्ध विहारबाट सुरु गरी नगर परिक्रमा गराउने चलन थियो ।
पछि बागलुङका टेकनारायण भारी, बहुदप्रसाद भारी (मानकाजी भारी) र अश्विनीकुमार वझान्थाछे पाल्पामा परम्परागत रूपमा सञ्चालन हुने ऐतिहासिक तायाः मचा नाच हेरेर फर्किएपछि उनीहरूको पहलमा नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना गरिएको थियो । त्यसपछि सोही स्थानबाट तायाः मचा नाच निकालेर बागलुङ बजार परिक्रमा गराउने परम्परा सुरु भएको भारीले बताउनुभयो ।
लक्ष्मीनारायणको मूर्ति भारतको बनारसमा बनाउन लगाएर बागलुङ ल्याइएको थियो । त्यसयता गाईजात्राको दिन बिहान मृतकको सम्झनामा निकालिने तायाः मचाभन्दा अगाडि लक्ष्मीनारायण भगवानको तायाः मचा बनाई नारायणस्थान मन्दिरमा पूजा गर्ने र त्यसपछि बाहिर निकाल्ने परम्परा छ ।
गाईजात्राका दिन बिहान करिब ४ बजे सबैजना लक्ष्मीनारायण मन्दिरमा भेला भएर तायाः मचा निकाल्ने, नगर परिक्रमा गराउने र पुनः सोही स्थानमा ल्याएर विसर्जन गर्ने चलन रहेको संस्कृतिकर्मी नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष जयराम भारीले बताउनुभयो ।
बाँस र कपडाबाट बनाइन्छ तायाः मचा
बागलुङमा तायाः मचा हरियो बाँसबाट बनाउने गरिन्छ । हरियो बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधिन्छ र कपडाले बेरेर तायाः मचा तयार गरिन्छ । मृतक पुरुष भए पुरुषले लगाउने तथा महिला भए महिलाले लगाउने कपडा झुण्डाउने चलन छ ।
बालबालिकाको मृत्यु भएको अवस्थामा भने डोकामा चाङ्ग्रा, खसीको सिङलगायत सामग्री राखेर तायाः मचा बनाउने परम्परा रहेको भारीले बताउनुभयो ।
तायाः मचाको शिरमा गाईको चित्र र मृतकको तस्बिर राखिन्छ भने चौँरीगाईको रौँसमेत प्रयोग गर्ने चलन छ । यसलाई डोकामा अडाएर मृतकका आफन्तले काँधमा बोकी नगर परिक्रमा गराउँछन् । तायाः मचामा राखिएको मृतकको तस्बिरबाट जात्रा हेर्न आएका मानिसले कुन व्यक्तिको सम्झनामा तायाः मचा निकालिएको हो र कति जनाको मृत्यु भएको हो भन्ने थाहा पाउँछन् ।
मृतकको सम्झनामा निकालिने तायाः मचा नाच घरका छोरी वा बुहारीले पूजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पूजा गरेपछि समापन गर्ने परम्परा रहेको भारीले बताउनुभयो ।
बाजा बजाएर मृतकका परिवारलाई सूचना
तायाः मचा निकाल्नुअघि बिहान १ देखि २ बजेको समयमा मृदंग, झ्यालीलगायत सांकेतिक बाजा बजाउँदै बजार परिक्रमा गर्ने चलन छ । यसरी बाजा बजाएर नगर परिक्रमा गर्नुको उद्देश्य मृतकका परिवारलाई आफ्नो तायाः मचासहित नारायणचोकमा भेला हुन सूचना दिनु रहेको भारीले बताउनुभयो ।
त्यसपछि सम्बन्धित परिवारका सदस्य बिहान ४ बजे तायाः मचासहित नारायणचोकमा भेला भएर नगर परिक्रमा गर्ने गर्छन् । दिउँसोसमेत नारायणचोकमा भेला भएर बजार परिक्रमा गर्ने परम्परा रहेको छ ।
तायाः मचा निकाल्दा सबैभन्दा अगाडि भगवान् लक्ष्मी–नारायणको नाममा बनाइएको तायाः मचा राखिन्छ । त्यसपछि मात्र दिवंगत व्यक्तिको सम्झनामा बनाइएको तायाः मचा राखेर जात्रा अघि बढाउने गरिन्छ ।
बागलुङमा सय वर्षदेखि निरन्तर चल्दै आएको तायाः मचा परम्पराले दिवंगत व्यक्तिको सम्झना गर्नुका साथै नेवार समुदायको मौलिक संस्कृति, परम्परागत बाजागाजा र सामूहिक सहभागितालाई पुस्तान्तरण गर्दै आएको छ ।
















































































































































































