बागलुङ । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड ११ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ ।
२०८३ भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
विपद्का कारण राष्ट्रले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा प्रभावित परिवारलाई सहयोग पुर्याउने तथा बेपत्ता नागरिकको खोजी, उद्धार र राहत कार्यमा योगदान गर्ने उद्देश्यले प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु. २ करोड ११ लाख १ सय ११ रपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो ।
















































































































































































