१५ भाद्र २०८३, सोमबार

 

लायन्स क्लब धौलागिरिद्वारा बाढीपीडितका लागि ६९ हजार सहयोग

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएका बेला क्लबले बाढीपीडितका लागि ६९ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो।

शनिबार लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठले उक्त रकम जोन चियरपर्सन गणेश महतोलाई हस्तान्तरण गर्नुभयो।

रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो।

क्लबका चिफ एक्जुकेटिभ एडभाइजर काजिमान गुरुङले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा देशभरका सामाजिक क्लब तथा विभिन्न संघ–संस्था एकजुट भएर सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा एक्जुकेटिभ चिफ एडभाइजर राजेशचन्द्र राजभण्डारी, एक्जुकेटिभ चिफ एडभाइजरद्वय दुर्गा कुँवर र अनुप रिजाल, डिपार्टमेन्ट चिफ ओमप्रकाश गौतम, कोचिफ एडभाइजर तालबहादुर कुँवर, पिआरओ मुकेशचन्द्र राजभण्डारी, कोषाध्यक्ष रामनाथ शर्मालगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रम क्लबका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। बाढीबाट अकल्पनीय जनधनको क्षति भएपछि सर्वसाधारण नागरिक, उद्योगी–व्यवसायी, संघ–संस्था तथा अन्तर्राष्ट्रिय दाताले सहयोग रकम उपलब्ध गराउँदै आएका छन्।

यसैक्रममा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ जम्मा भएको जनाइएको छ।

गत १० भदौमा चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए। बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung