४ जेष्ठ २०८१, शुक्रबार

 

भिडियोमा आउँदै वीरकोटको सोरठी देउसीभैलो

गलकोट नगरपालिका–८ काँडेबास, वीरकोट मगर समुदायको बसोबास भएको गाउँ हो । यहाँ तिहारमा गाइने सोरठी देउसीभैलोको छुट्टै विशेषता छ ।

यो देउसीभैलोलाई भिडियोमा संरक्षण गरिने भएको छ । स्थानीय स्तरमा क्रियाशील संस्कृति संरक्षण मञ्चले मञ्चले गाउँमै सुटिङ युनिट ल्याएर धमाधम छायांकन गरिरहेको छ । नचरी नाम दिइएको उक्त भिडियो चार भाग छायांकन भइसकेको छ । भाग ३ सम्मका सबै गीति एल्बम सार्वजनिक भइसकेका छन् । चौथो भाग तिहारअगावै सार्वजनिक गर्ने तयारी छ ।

संस्थालाई वीरकोट मगर समाज र गैरीगाउँ आमासमूहले पनि संस्कृति संरक्षणमा सघाइरहेका छन् । तिहारमा खेलिने देउसीभैलो सोरठीलाई डिजिटल प्रविधिमा जीवित राख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न आफूहरू लागिपरेको मञ्चका पूर्वअध्यक्ष तथा सोरठी कलाकार डिलबहादुर बुढाथोकीले बताए । यसमा रामायण, कृष्णचरित्र, तिहारमा भाइटीकाको महत्त्व, दिदीभाइको सम्बन्ध, त्यस्तै १४औं शताब्दीका पाल्पा, बल्ड्याङगढीका लोकप्रिय राजा बलि हाङको पालादेखि तिहारमा भाइटीका सुरु भएको किंवदन्ती जोडिएको मञ्चका सदस्य पदम सलामी मगरले जानकारी दिए ।

किंवदन्तीअनुसार ती राजालाई यमराजले लैजाने थाहा पाएपछि प्रजाहरू तिहारे औंसीमा उनको सुस्वास्थ्य, दीर्घायुको कामना गरेर चोखोनितो बस्छन् । राजाप्रतिको यस्तो माया देखेर यमराजले उनलाई लैजान सक्दैनन् । त्यही खुसियालीमा राजाले जनतालाई ३ दिन ३ रात दीपावली गर्न अनुरोध गरेको र त्यही प्रचलन अहिलेसम्म कायम रहेको विषयवस्तु एल्बममा समावेश गरिएको छ ।

अर्को रोचक किंवदन्ती पनि छ । यसअनुसार दिदीकोमा टीका थाप्न जाँदै गरेका भाइलाई कालीनागले बाटो छेकेर भन्छ– ‘आज म तँलाई खान्छु–खान्छु ।’ भाइले नागसँग आफूलाई पहिले दिदीकोमा जान दिन र फर्केर आएपछि मात्र खान पुकारा गर्छन् । कालीनागले उनको अनुरोध स्विकार्छ । दिदीकोमा पुगेपछि भाइले सबै बेलीविस्तार लगाउँछ । दिदीले भाइलाई सप्तरंगी टीका लगाइदिएर ओखर फोड्छिन् । भाइको दीर्घायुको कामना गर्दै आशीर्वाद दिन्छिन्– तिमी फर्कंदा त्यो काली नाग सातै टुक्रा भएको होस् । नभन्दै भाइ फर्कंदा नाग सातै टुक्रा भएको हुन्छ । यही खुसियालीमा भाइटीका मनाउने प्रचलन सुरु भएको किंवदन्तीलाई गीत र नृत्यमार्फत प्रस्तुत गरिँदै आएको छ । एल्बममा लोकप्रिय कलाकार भूपेन्द्र सलामीमगर, तुलबहादुर सलामीमगर, डिलबहादुर बुढाथोकीलगायतको आवाज छ ।

भिडियो छायांकनमा गलकोट नगरपालिकाले पनि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको नगर उपप्रमुख रेनुका काउचामगरले बताइन् । त्यस्तै ताराखोला गाउँपालिकाले २५ हजार र विदेशमा रहेका अन्य स्थानीयले पनि आर्थिक सहयोग गरेका छन् । छायांकन कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढामगर, नगर उप्रमुख काउचामगर, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्