३१ बैशाख २०८१, सोमबार

 

८८ वर्षीय अर्ज्याल भन्छन्– ‘टुँडिखेल बचाऔं’

राजधानीका खुलामञ्चलगायत स्थल अतिक्रमित भएको देख्दा ८८ वर्षीय पुण्यप्रसाद अर्ज्याल (कपिलवस्तु) दुःख मान्छन् । ६० वर्षअघि तीनधारा संस्कृत पाठशालाको अध्यापक रहेका उनलाई काठमाडौंका पुरानो सहर र खुला स्थानबारे राम्रै जानकारी छ ।

खुलामञ्च अतिक्रमणविरुद्ध ‘मुक्त टुँडिखेल’ अभियान सुरु भएको जानकारी पाउँदा उनले खुसी व्यक्त गरे । साथै अतिक्रमित टुँडिखेल पुरानै स्वरूपमा फर्किने विश्वास दर्साए ।

अर्ज्यालले बिपी कोइराला प्रधानमन्त्री भएका बखत उपत्यकाञ्चल सुधारका लागि सरकारले गरेका उल्लेख्य कार्य समेटिएको पुस्तकमा सम्पादन सहयोगीको भूमिका निर्वाह गरेका रहेछन् । त्यसैले पनि राजधानीका खुला स्थान, मन्दिर, पाटीपौवा, धारा, कुलोबारे उनलाई जानकारी छ ।

त्यति बेला गरिएका सुधार कार्यलाई काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन खण्डमा विभाजन गरेर पुस्तक प्रकाशन गरिएको थियो । बिपी कोइराला प्रधानमन्त्री रहँदा उपत्यकाका खुला स्थान, धारा, पाटीपौवा, मन्दिर निर्माण तथा पुनर्निर्माणमा ध्यान दिएको अर्ज्याल बताउँछन् ।

तर यति बेला उनै कोइरालाका अनुयायीले त्यस्ता स्थानलाई अतिक्रमण र निसाना बनाएको देख्दा उनलाई आदर्श र व्यवहार फरक भएको महसुस हुने गरेको छ ।

‘सपरिचय, सुधारकार्य (सचित्र) उपत्यकाञ्चल नेपाल’का नामबाट प्रकाशित पुस्तकको सम्पादन पण्डित सोमनाथ सिग्देलले गरेका थिए । अर्ज्याल सहयोगी सम्पादक तथा भाषा–सम्पादक थिए । उक्त पुस्तक प्रधानमन्त्री बिपी कोइराला र राजा महेन्द्रको इच्छाअनुसार प्रकाशित गरिएको उनी बताउँछन् ।

२ सय ३७ पृष्ठको उक्त पुस्तकमा त्यति बेला जीर्णोद्धार गरिएका ऐतिहासिक स्थल र मन्दिरबारे सचित्र वर्णन गरिएको छ । करिब ९६ पृष्ठमा काठमाडौंका स्थल, कुवा, हिटी, धारा, कुलो, बाटो, पुस्तकालय, ढल, पुल, गुम्बा, विद्यालय, उद्यानको मर्मत तथा सम्भार गरिएको जानकारी छ ।

५७ मन्दिरहरू त्यस बखत पुनर्निर्माण गरिएका थिए । तिनमा पशुपतिनाथ, गोरखनाथ, अन्नपूर्ण, वनकाली, स्वयम्भू, कोटेश्वर, भद्रकाली, संकटा मन्दिरलगायत रहेको जानकारी उक्त पुस्तकको अध्ययनबाट हुन्छ ।

त्यसै गरी ललितपुरका बंगलामुखी, दक्षिणकाली, शेषनारायणलगायत १५ मन्दिर, कुलो, धारा, बाटो, पुल, पुस्तकालय, अग्निशाला, तलाउ, औषधालयसहित ४४ स्थलको पुनर्निर्माण तथा मर्मतसम्भार गरिएको जानकारी उक्त पुस्तकमा उल्लेख छ । भक्तपुरका १५ पुरातात्त्विक स्थलको पुनर्निर्माण तथा मर्मत–सम्भार गरिएको थियो ।

तिनमा सूर्यविनायक, तुलजा भवानी, भैरव, चाँगुनारायण, महेश्वरी मन्दिरलगायत थिए ।पुर्ख्याैली घर कपिलवस्तुको तौलिहवा रहेका अर्ज्याल काठमाडौं र बनारसमा अध्ययन गरेको पुराना दिनसँगै आफूले गरेका कामको स्मरण गर्छन् । तीनधारा पाठशालामा अध्यापनको अवसर पाए पनि उनी गृहजिल्ला फर्किएर तौलिहवामा संस्कृत मावि चलाई प्राचार्य बनेका थिए ।

केही वर्षअघि मात्र सेवानिवृत्त भएका उनी अहिले पनि सक्रिय छन् । नेपाल तथा भारतका राजनीतिक घटनालाई नजिकबाट देखेका र भोगेका अर्ज्याल भारतका पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीसँगको आफ्नो निकटभाव सुनाउन उत्साही हुन्छन् ।

नेपालमा राजा महेन्द्र, वीरेन्द्र र बिपी कोइरालाको सामीप्यमा रहेर गरेका कामप्रति उनी गर्व मान्छन् । भन्छन्, ‘कसैको स्वार्थमा परेर शिर निहुरिने काम गरिनँ । त्यसैमा गर्व लाग्छ ।’

राजधानीको विकृतिसँगै प्रदूषण देख्दा दुःख मान्ने उनले शनिबारबाट सुरु हुने ‘मुक्त टुँडिखेल’ अभियानबारे सुनेपछि यसलाई असल कामको सुरुआत भनेका छन् ।

उक्त कामप्रति सद्भाव दर्साएका छन् । भैंसेपाटी, फूलबारी मार्गस्थित निवासमा आफूले सम्पादन गरेको पुस्तक पल्टाउँदै उनले भने, ‘मुक्त टुँडिखेल अभियानमा म उपस्थित हुन सक्ने अवस्था रहेन, तपाईंहरू त उपस्थित हुनुहोला है ।’

प्रतिक्रिया दिनुहोस्