वर्षातमा टिलिक्क टल्कने
लोभलाग्दा ती बाछिटाहरू
बलेसीमा जुहारी खेलिरहन्छन्
मनले खिचिक्क पारेको
तिम्रो मुस्कानको टुक्रा पनि
हृदयभरि छताछुल्ल बेरिएर
मलाई फिस्स हँसाइरहन्छन् ।
स्मृतिको पाकशालामा
तिम्रा झझल्कोहरू नै
चौरासी–व्यञ्जन बनेर
कान्तसाथ स्वादिष्ट बन्छन्
यदाकदा अङ्कुराउने
तिम्रा बासन्ती छापहरू
मलाई पुलकित पार्दै
झन् मनोहर जीवन गोड्छन् ।
तिम्रो आगमनमा फारिएका
मेरा निर्लिप्त नजरहरू
उफ् !
सधैँ झुटो आश राखिबस्छ
तब त एक निमेष पनि
शताब्दीभन्दा लामो बन्छ
भ्रमलाई विश्वासको झुठो आवरणले किचेपछि
आखिर यस्तै त हुन्छ !
वर्षातमा टिलिक्क टल्कने
लोभलाग्दा ती बाछिटाहरू…
०००
–श्रीषा पाण्डे