४ जेष्ठ २०८१, शुक्रबार

 

म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

जीवन आचार्य ३० को दशकका प्रभावशाली कवि हुन् । युवा उमेरमै आफ्नो कविता लेखनका कारण नेपाली साहित्यमा बलियो नाम बनाएका आचार्यको ३१ वर्षको अल्पायुमै निधन भयो । कविताबाहेक चित्रकारिता र अखबारी लेखनमा समेत उनको कलम चलेको थियो । आचार्यको ‘म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?’ कविता त्यतिबेलाका युवा स्रष्टामाझ लोकप्रिय थियो । संस्थापन र सत्ता अनि शक्ति र अहमला चुनौती दिने यस कविता सान्दर्भीक भएकाले यहाँ पुनःप्रकाशन गरिएको छ । उनका ‘अन्तहीन सुरुआत’ (२०४१) र ‘जीवनका धुनहरू’ (कवितासङ्ग्रह, २०४७) प्रकाशित छ ।

म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

हामी दुवै एउटै बगैँचामा फक्रन लागेका
दुईवटा कोपिला थियौँ
लाखौँ झारपातहरूको रोदनबीच
तिमीले मेरो फक्रन लागेको कोपिला— चुँड्यौ र फाल्यौ
हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ
तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो ।
यसरी म कोपिला नचुँडिएको भए
तिमी कसरी बगैँचामा एक्लो घमन्ड फक्रन्थ्यौ
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

म नानीहरूका असंख्य पाइतालाहरू भएर
क्षितिज नाघ्नलाई डाँडाबाट शंखनाद गर्दै हिँडेको थिएँ
तर तिम्रो एउटै विशाल र कठोर पाइतालाले—
हामी सम्पूर्ण बालकहरूका नरम–नरम पाइतालाहरू
र, कोमल–कोमल मनहरू
कुल्चियौ र यस्तरी दबायौ—
हुन सक्छ मैले क्षितिज नाघ्नुको अर्थ
तिमी एक्लो सूर्य आकाशमा हाँस्न केही धमिलो हुन्थ्यो
यसरी म नदबेको भए—
तिमी कसरी मैमाथि टेकेर उभिने साहस गथ्र्यौ ?
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

म बिस्तारैबिस्तारै ढुङ्गाहरू बटुलिँदै
चौतारी भएर पहाड अग्लिँदै थिएँ
तिमी हिमाल पग्लेर मलाई बगाउँदै लग्यौ
यसरी म टुक्रिँदै गएँर तिमी विशाल हुँदै गयौ
हुन सक्छ म पहाड अग्लिनुको अर्थ
तिमी हिमाल छोपिनु थियो ।
यसरी म नटुक्रिएको भए तिमी कसरी सिङ्गो हुन्थ्यौ
या, यसरी म नटुक्रिएको भए—
तिमी कसरी हामी टुक्रा–टुक्राको गारो लगाएर अग्लो महल बन्थ्यौ ?
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

अब हामी दुवैबीच एउटा प्रश्न (?) बाँकी रह्यो
तिमीले कोपिला चुँडेर फालेको मेरो बिरुवामा
अझै जराहरू र हाँगाहरू बाँकी छन्,
म पुनः बिरुवा हुर्कन सक्छु— लहलहाएर ।
म पुनः कोपिला फक्रन सक्छु— मगमगाएर ।।
०००

 

प्रतिक्रिया दिनुहोस्