पर्खाइको एउटा लामो कालखण्ड
खै कसरी बित्थ्यो त्यो समय ?
आयु अनगन्ती भएझैं
बेप्रवाह बित्ने ती दिनहरू
अब त इतिहास बनिसकेका छन्,
तर हाम्रो प्रणयभूमि
के फेरियो होला र ?
यादहरूको अतृप्त मैदान
खाली-खाली छ यतिबेला
बाटो कतै भेटिएको छैन
केवल कल्पना मात्र बाँकी छ
एउटा पुनर्मिलनको
तिम्रो लागि निर्जन
मेरो लागि निर्जन
त्यो देउरालीमा यतिबेला
को उभिरहेको होला प्रतिक्षाको मुटु बोकेर ?
समयको बहावसँगै
जब सीमारेखा कोरियो धरतीमा
तब हाम्रो लागि यादहरूको
हस्ताक्षर बन्यो त्यो दिव्य माटो
मनको आकाशमा
सम्झनाको मनसुन छ यतिबेला
र लाग्छ कोही गएको छ भर्खर
देउरालीमा फूल चढाएर ।
०००
–भरत ढुङ्गाना