३ जेष्ठ २०८१, बिहीबार

 

मेला–महोत्सवले उद्योगीलाई प्रोत्साहित गर्छ

 

सुवासचन्द्र राजभण्डारी

प्रोप्राइटर महालक्ष्मी अर्गानिक खाद्य उद्योग, बागलुङ

 

 

तपाईंमा उद्योगमा लाग्ने सोच कहाँबाट आयो ?

मलाई पहिलेदेखि नै नयाँ–नयाँ वस्तु कसरी तयार हुन्छन् र तिनलाई उपभोक्ताले कसरी मन पराउँछन् भन्ने लागिरहन्थ्यो । विस्तारै उद्योगबारे बुझ्दै गएँ । बागलुङमा उद्योगको कस्तो सम्भावना छ भनेर सोच्न थालेँ । के व्यापार गरे सफल भइएला भनेर आफैंलाई प्रश्न गर्थें ।

पहिला कुन उद्योग सञ्चालन गर्नुभयो ?

मैले सुरुमा ढुंगा उद्योग चलाउने विचार गरेँ । किनकि ठूला सहरमा यसको व्यावसायिक बजार रहेको थाहा पाएको थिएँ । घर, होटल, विद्यालय, मन्दिरलगायत ठाउँमा ढुंगाको प्रचुर प्रयोग भएको देख्थेँ । तर यो काममा सहकर्मीहरूबीच समझदारी नहुँदा सोचेजस्तो गर्न पाइनँ ।

त्यसपछि इँटा उद्योग सुरु गर्नुभयो, होइन ?

इँटा उद्योगको बागलुङमा राम्रो बजार छ । तर यो धेरै दुःख र मेहनतको क्षेत्र हो । तपाईं मौसम र धेरै मजदुरमा निर्भर रहेर काम गर्नुपर्छ । मौसमले साथ नदिँदा सुरुको बेला ठूलो नोक्सानी पनि सहनुपर्‍यो । मैले लामो समय यो क्षेत्रमा काम गरेँ । धेरै समस्या र दुःख भएकाले पछि यो काम छोड्न बाध्य भएँ ।

नयाँ–नयाँ उद्योग गर्न तपाईंलाई के कुराले प्रेरित गर्छ ?

मैले फर्निचर उद्योग सञ्चालनमा ल्याएँ साठीको दशकमा । उद्योगविना राष्ट्र निर्माणको कुरा बेकारजस्तो लाग्छ मलाई । गुणस्तरीय वस्तु उपभोक्तालाई दिँदा जुन आनन्द आउँछ त्यसको बयान गरेर साध्य छैन । नाफा त भइहाल्छ समय आएपछि । तर गुणस्तरीय सामान उत्पादन गर्नु भनेको इज्जत कमाउनु पनि हो । यसले एकातिर रोजगारी सिर्जना गर्छ, अर्कातर्फ राज्यको राजस्वमा वृद्धि पनि हुन्छ ।

मेला–महोत्सवले उद्योगी–व्यवसायीलाई के फाइदा गर्छ ?

मेला–महोत्सव उद्योगी र व्यवसायीको सामान उपभोक्तासम्म पुर्‍याउने सहज माध्यम हो । सामानको ब्रान्डिङ र बजार विस्तार गर्न, उपभोक्ताको रुचि–चाहना थाहा पाउन पनि सजिलो हुन्छ । यस्तो मेला–महोत्सवले उद्योगीलाई प्रोत्साहित गर्छ ।

तपाईंको पानी उद्योगले सफलता पायो । अहिले महालक्ष्मी अर्गानिक खाद्य उद्योग अगाडि बढाउनुभएको छ । कस्तो रह्यो अहिलेसम्मको यात्रा ?

उद्योगी–व्यवसायीले धेरै जोखिम मोलेर काम गरिरहेका हुन्छन् । कुनै सामान आयात गरेर बेच्नु र आफैं उत्पादन गर्नु धेरै फरक विषय हो । हाम्रो देशले आफैंलाई चाहिने सामान पनि उत्पादन गर्न सकेको छैन । निर्यातभन्दा आयात धेरै हुँदा देशको व्यापार घाटा बढेको छ । यसको प्रत्यक्ष असर हाम्रो अर्थतन्त्र र बजेटमा परेको छ ।
मैले सुरुमा कालिका पानी बजारमा ल्याउँदा उपभोक्तालाई सफा र शुद्ध पानी स्वास्थ्यका लागि कति आवश्यक छ भनेर बुझाउनै धेरै वर्ष लाग्यो । अहिले सबैले कालिका पानी किनेर खाएको देख्दा धेरै खुसी लाग्छ । यसमा नाफा मात्र होइन, उपभोक्ताको हित पनि जोडिएको छ ।

अहिले महालक्ष्मी शुद्ध तोरीको तेललगायत खाद्य वस्तु बजारमा ल्याएको छु । यसले स्वास्थ्य राम्रो बनाउनुका साथै उपभोक्तालाई नक्कली सामान किन्नबाट सचेत पनि गराएको छ । मकै, कोदो, फापर, जौको पिठो र सातु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै ताराहिल अर्गलको सिरम्ला मकैलाई लेभलिङ गरेर बजारमा ल्याएको छु ।

प्रतिक्रिया दिनुहोस्