४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङ महोत्सवमा १० संस्कृतिकर्मी सम्मानित

परम्परागत चैतेदशै मेला जर्गेना गर्ने १० जना संस्कृतिकर्मी शुक्रबार सम्मानित भएका छन् । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवमा उनीहरु सम्मानित भएका हुन् ।

चैतेदशै मेला पहिलो पटक धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा हुँदा बागलुङको लोक दोहोरी र संगीतलाई संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, विराटकुमार श्रेष्ठ, विश्वनाथ रेग्मी, शुभराम भारी, सुुदेशचन्द्र राजभण्डारी, ओमबहादुर जिसी, ईश्वरजंग राजभण्डारी, रमेशकुमार श्रेष्ठ, बसन्त केसी र रघुराम भारीलाई संघले सम्मान गरेको हो ।

यस्तो छ इतिहास
परम्परागत रुपमा चलिआएको बागलुङको प्रसिद्ध चैतेदशै मेलालाई कला र संस्कृतिमार्फत् जर्गेना गरी व्यवसायिक रुपमा आधुनिकिकरण गर्न बागलुङ उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष विराटकुमार श्रेष्ठ, बागलुङ कालिका गाउँ विकास समितिका अध्यक्ष कृष्णराज अधिकारीको संयोजकत्वमा समिति गठन भएको थियो ।

चैतेदशैं मेला हुँदा परम्परागत शैलीमा गाउँबाट डम्फू, मादल, नाम्लो, डोको ठेकी बेच्न ल्याउने चलन थियो । त्यति बेला गाउँबाट झर्ने कलाकारले डम्फू, मादल, सोलीमा रोटी, अचार, रक्सी ल्याउँदै लोकदोहरी गीत गाउँदै आउने पम्परागत थियो ।

त्यो संस्कृति लोप हुँदै गएका बेला २०४९ सालदेखि २०५३ सालसम्म चैतेदेशै मेलामा लोकदोहरी तथा लोकनृत्यलाई प्रतियोगिताको रुपमा ढालेर संरक्षण र सम्वर्द्धन गर्ने काम गरेको संस्कृतिकर्मी तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश सदस्य सुदेशचन्द्र राजभण्डारीले जानकारी दिए ।

परम्परालाई जर्गेना गर्नका राष्ट्रिय स्तरका कलाकारहरु बमबहादुर कार्की, नरबहादुर विसी, कृष्ण पौडेल, धनकुमारी शिषिस, कास्कीका प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानै, बागलुङका दीपक केसी, फुलकुमारी केसी, निता पुन, मैना पुन, रमु भुजेल र सीता खनालले सोही बेला लोक दोहरी गीतमा भाग लिएका थिए ।

तत्कालीन समयमा चैतेदशै मेला कालिका मन्दिरदेखि बागलुङ बजारको किनारा टोलमा १५ दिनसम्म लाग्ने गर्दथ्यो । सोही मेलामा झ्याउरे गीत गाउँनुका साथै घोडा दौड र छेलो फाल्ने प्रतियोगिता हुन्थ्यो । उक्त प्रतियोगितामा बिजयी खेलाडीहरुलाई फेटा, अविर लगाई काँधमा बोकेर बजार परिक्रमा गर्ने प्रचलन रहि आएको थियो ।

प्रतिक्रिया दिनुहोस्