४ जेष्ठ २०८१, शुक्रबार

 

पुस्तक समीक्षा : ‘सम्मोहन’मा फसेको मन

- पुस्तक समीक्षा

हजुरबाको हस्तिहाड बन्दकी राखेर रमेश आफ्नो सपनाको राजधानी छिर्छ । आँसुको पेग चढाएर सपनाहरूको कुठाराघात गर्दै मनमस्त राजधानीमा, उसका अनन्त इच्छाहरू पेन्डोरामै सीमित हुन्छन् ।

राजधानीमै न हो, हरेक वर्ष बर्खा लागेपछि सरकारले सपनाको खेती गर्ने । त्रिमूर्ति : प्रेम, पैसा र प्रतिष्ठालाई इहलीलाकै भोक लगाउँदा युवा आत्मपहिचानको गायत्री मन्त्रलाई ग्रहण गर्दै भ्याउँदैनन् । यथार्थको धरातलबिना जीवनको मोक्ष सापेक्ष छैन ।

समकालीन युवासमाजमा अभिन्न बनेको भिन्न तृष्णा र विकृतिमाथि भुवनसिंह कार्कीले आफ्नो पहिलो औपन्यासिक कृति ‘सम्मोहन’मार्फत यिनै अभिव्यक्ति दिएका छन् ।

‘सम्मोहन’को अभिषेकले नेपाली साहित्यमा एउटा नयाँ आयाम थपेको छ । लेखकको नवीन नजिरले मथिङ्गल नै अतिक्रमण गर्दछ ।

जम्मा १० पृष्ठमा जीवनाेपयोगी मिर्मिरेले तत्कालीन समाज छताछुल्ल समेटिएको छ । लागू दुर्व्यसनको कृत्रिम चकाचौँधले जीवनको सारबाट अज्ञात बनी आसक्तिले रुमल्लिएका युवा-समाजको प्रतिनिधित्व गर्छ उपन्यासले ।

रत्नपार्कमा रमेश र हरिशको भेटघाटसँगै कथाले आफ्नो बाहुपाश फिजाउँछ । रेस्टुराँमा आफ्नो सानो संसार चलाइराखेको हुन्छ, हरिश । रमेश त्यहाँ हिरा, सुहेब र अरू थुप्रै मनहरूसँग ठोक्किन पुग्छ । उसले चियर्स भन्दै निलेको रक्सीको हरेक गिलासजस्तै नियतिले उसलाई विवशता, हन्डरको हारसँगै प्रियसी रूपासँगको वियोगको टिको लगाइदिएर जीवनको युद्धमा नमज्जाले पछारिदियो । अग्रसरता, परिश्रमका दिव्योपदेशहरू कुम्भकर्णकै मीत बनेछन् क्यारे, उसको आसपास पटक्कै देखिएनन् ।

सम्पादक भएर पनि रमेशको जीवन–सम्पादन भने चिरिच्याट्ट भएन । हिरासँगको उसको नजिरले प्रेम गर्‍याे र  त असफल भयो । शरीर भएर पनि कसैले भाकेर आत्मा सारेजस्तो अकर्मण्य बनी रमेश जीवनको रासलीलामै हराउँदा हिरा जवानीको वेगसँग लड्न नसक्दा सुहेबको गिद्धे नजरमा परेर ओइलाउँछे । महिषासुरको अन्त्य देवीले छिट्टै गर्छिन् ।

हरेक दिन आफ्नो लडाइँ आफैंसँग हार्छ रमेश । मानौँ, उसले सम्भावनाका ऐरावतसँग समीप हुन भावीले लेखेको रहेनछ । यसरी बाँझो पल्टाइरहेको गोरुले निर्दयी हलीको चुटाइ खाएझैँ रमेशको जिन्दगी चलिरहेछ र कथाले पनि कागजबाट बिदाइ लियो मनमस्तिष्कमा सम्झनाको मृदुल डोब छाडेर ।

कस्तुरी, जो आफ्नै नाभिबाट आएको सुगन्ध खोज्दै भौँतारिरहन्छ । आजका युवा लक्ष्यको खोजी गर्दागर्दै लक्ष्यको शून्यमा बिलाउँछन् । रमेश केवल एउटा बिम्ब न हो । मरुभूमिमा पानी खोज्दै अत्तालिएको मृगजस्तै रमेश, परिस्थितिको दोधारे पिल्लरमा मूक बनी निरर्थक जीवन बाँच्छ ।

यथार्थ र कल्पना त नदीका दुई किनारा नै हुन्, मिलन असम्भव छ । कल्पनाको चाँदनी रातले यथार्थ ओतप्रोत मात्र हुन सक्छ, निर्वाण हुन सक्दैन । प्रेमरसमा चोपलिएका पात्र गबाही दिन्छन्– प्रेम अमूर्त छैन, अलौकिक छ । जीवनको आदर्श बन्छ ।

मन सार्ने पात्र त रूपा नै छिन् । प्रेम निःस्वार्थ बने सञ्जीवनी बुटी बन्छ । रूपाको आसानीले यसलाई घामजस्तै छर्लङ्ग पार्छ। हिरासँग पनि ईवत् दया लम्कन खोज्छ । सुहेबको चरित्रले इमान बचेका बदनामहरूसँग घृणा जगाउँछ ।

उपन्यासको विश्रामसम्बन्धमा लेखकलाई सुझाव दिन चाहन्छु । अन्त्य, योभन्दा अलिक घतलाग्दो हुन सक्थ्यो कि ? वियोगान्तसँगै संयोगान्त पनि भएको भए सुनमा सुगन्ध छाउँथ्यो । बाँकी उपन्यास दृष्टान्त हो ।

सुपथ मूल्यमा पाइने उपन्यास युवालाई लक्षित छ । यसले दिएको सन्देशलाई ब्रह्मास्त्र बनाए जीवन अवश्य सफल र सहज बन्छ । भाषाको सुमधुर लयले विचारको झंकार झकझकाउँछ ।

एकफेर पाठक र युवाले ‘सम्मोहन’ पढेमा असीमित उपलब्धि हासिल गर्नेछन् भन्नेमा कुनै आशंका छैन ।

– श्रीषा पाण्डे

प्रतिक्रिया दिनुहोस्