६ जेष्ठ २०८१, आईतवार

 

सहकारी बैंकको पर्ल्स अनुगमन तालिम सम्पन्न

 

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले सदस्य संस्थाहरूको वित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको तीनदिने पर्ल्स अनुगमन तालिम सम्पन्न भएको छ ।

तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले तालिममा सिकेको सीप आफ्नो संस्थामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिए ।

सहकारी क्षेत्रको प्रभावकारिताका लागि सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरूले अध्ययन, भ्रमण र तालिम आवश्यक रहेको भन्दै जिसीले देशको शिक्षानीतिमा सहकारीको पाठ्यक्रम नभएकाले तालिम नै सिकाइको महत्त्वपूर्ण आधार हुने धारणा राखे ।

तालिमका सहभागीहरू शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष राजु केसी र मातृभूमि बहूद्देश्यीय सहकारी संस्थाका कर्मचारी गीता शर्माले पर्ल्स अनुगमन तालिम प्रभावकारी भएको भन्दै संस्थाको उन्नतिका लागि उपयोग गर्ने बताए ।

तालिमका सहजकर्ता ललितपुर जिल्ला सहकारी संघका लेखा संयोजक अनिलवीर वज्राचार्यले सुशासनयुक्त र प्रभावकारी सहकारी सञ्चालनका लागि पर्ल्स तालिम आवश्यक रहेको बताए । तालिम समापन कार्यक्रम बैंकका सञ्चालक जीसीको अध्यक्षता र शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा विभिन्न विषयका ३५ वटा सहकारी संघसंस्थाका व्यवस्थापक, लेखापाल तथा पदाधिकारीसहित ३५ जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्