३० बैशाख २०८१, आईतवार

 

विम पुस्तकालय : विगत र वर्तमान

ऐतिहासिक पृष्ठभूमि

प्रकृतिमा विचरण गर्ने हरेक प्राणीमा केही न केही भावना र चेतना हुन्छ नै । तर त्यो चेतना र भावनालाई अभिव्यक्त गर्नेमा मानिसबाहेक अरू प्राणी नगण्य छन् । अन्य प्राणीले व्यक्त गर्ने भावना र चेतना अत्यन्त सीमित विषयमा हुन्छन् जबकि मानिसले हरेक विषयलाई एकआपसमा अभिव्यक्त गर्न र बाँडचुँड गर्न सक्छ । सायद यसैले मानवलाई चेतनशील प्राणीमा गणना गरिन्छ ।

मानिस सचेत बन्नुका पछाडि धेरै कारक तत्त्व छन् । एक किसिमको बाँदर युगबाट आजको अवस्थामा पदार्पण गरेको मानव समाज जङ्गली अवस्थाबाट आदिम साम्यवादी युग, पशुपालन युग, कृषि युग, सामन्तवादी युग हुँदै आजको विज्ञान तथा प्रविधिको युगमा प्रवेश गरेको छ । विश्वका केही विकसित मुलुकले पुँजीवादी स्वरूप त कतै साम्राज्यवादी चरण र कतै समाजवादी चरणमा समेत पाइलो टेकेको मानिन्छ । तर नेपालको सन्दर्भमा भने सामन्तवादी चरणले यहाँका जनतालाई लामै समय गाँज्यो । प्राचीन कालमा नेपालमा कहिले गोपालवंशीले त कहिले महिषपालवंशीले राज्य चलाए । त्यस्तै मध्यकालमा कहिले किराती त कहिले मल्लहरूले राज गरे । वि.सं. १८२५ देखि नेपालमा शाहवंशीय शासनपद्धति थालनी भयो भने वि. सं. १९०३ को कोतपर्वपछि १०४ वर्षसम्म राणाहरूको एकतन्त्रीय जहानियाँ शासन चल्यो । यस प्रकार लामो समयसम्म सामन्तवादी शासन व्यवस्था नै हाबी रहेको इतिहासको अध्ययनबाट स्पष्ट हुन्छ ।

मानिसलाई सचेत तुल्याउन शिक्षाले अभूतपूर्व योगदान गर्दै आएको छ । मानिसले पाउने यो शिक्षा औपचारिक र अनौपचारिक तथा प्रत्यक्ष र अप्रत्यक्ष हुने गर्छ । बाबुआमा, घरपरिवार, साथीभाइ, छरछिमेक, गाउँघर, इष्टमित्र र पुस्तकालयबाट प्राप्त गरिने शिक्षा अनौपचारिक तथा प्रत्यक्ष र अप्रत्यक्ष प्रकृतिको हुने गर्छ । गुरुकुल, विद्यालय, शिक्षालय, महाविद्यालय, विश्वविद्यालय आदि स्थानबाट प्राप्त गरिने शिक्षा औपचारिक तथा प्रत्यक्ष र अप्रत्यक्ष प्रकृतिको हुन्छ ।

परापूर्व कालमा नेपालका विभिन्न ठाउँमा गुरुकुलशिक्षा अगाडि बढ्यो । तर यो केही जातिविशेष र समूहविशेष वा व्यक्तिविशेषका लागि केन्द्रित थियो । वि. सं. १९१० मा काठमाडौंको रानीपोखरीमा स्थापना गरिएको दरबार स्कुल पनि खासखास वर्ग र परिवारकै लागि सञ्चालित थियो । वि. सं. १९७५ मा त्रिचन्द्र कलेज खोलियो । यो पनि मूलतः राजपरिवार, राणापरिवार र उनका भाइभारदारकै निमित्त लक्षित थियो । एकतन्त्रीय जहानियाँ राणाशासनका बखत नेपालीहरू सन्तोषको सास फेर्न पनि धक मान्नुपर्ने अवस्थाबाट गुज्रिरहेका थिए भन्ने तथ्य तत्कालीन अग्रजहरूसँग अनुभव साटासाट गर्ने क्रममा अनुभूत गरेका व्यक्तिहरू आज पनि भेटिन्छन् । यस्तो पृष्ठभूमिबाट गुज्रिरहेका नेपालीका लागि औपचारिक शिक्षाको अवसर जुट्नु आकाशको फलजस्तै थियो भन्दा अतिशयोक्ति नहोला । बीसौं शताब्दीको अन्तिम चौथाइ कालमा सर्वसाधारणमा पनि गुरुकुलशिक्षा र भाषापाठशालामा गई शिक्षा ग्रहण गर्ने साहस सहरबजारमा देखा पर्‍यो । तर यो पनि अत्यन्त थोरै स्थानमा मात्र सञ्चालित थियो । कतिपय व्यक्ति भारतको बनारस, दार्जिलिङ, देहरादून, कलकत्ता आदि ठाउँमा पुगी शिक्षाभ्यास गरे । यसबाट कतिपयमा राजनीतिक चेतना जाग्यो । सचेत मानिसहरू आ–आफ्ना स्थानमा विद्यालय, पुस्तकालय आदि खोल्ने जमर्को गरे ।

बागलुङको सन्दर्भ

बागलुङ बजारमा वि. सं. १९९६ तिरको एक सरकारी घटनाले यहाँका युवा आफ्नो बचावका लागि भागाभाग गर्नुपर्ने अवस्था आइलाग्यो । एक समाजसेवीले सत्य कुरा बोल्दा तत्कालीन जहानियाँ शासनका प्रतिनिधिले आपूmलाई पाल्पाको जेलसम्म पु¥याई त्यहाँको जेलभित्र ठेड्को लगाई नेलसम्मको सजाय भोग्नुपर्दा उनले अट्टाहास छाडे । यसरी सजाय भोग्नुपर्दा पनि हाँसेको देखेर प्रशासनका मानिसले त्यसको कारण सोध्दा यो सबै अशिक्षाको कारण हो, सत्य–साँचो बोल्दा डरले लुकीलुकी भाग्नुपर्ने, जेलनेल खानुपर्ने र यस्तो सजाय भोग्नुपर्ने हुँदा हाँसो खटाउन सकिनँ भनी वास्तविकता खुलासा गरे । उनमा सर्वसाधारण जनतामा चेतनाको बिगुल फुकिदिने शिक्षाको प्रचारप्रसारका लागि काम गर्नुपर्छ भन्ने बुद्धि पलायो । त्यो समस्याबाट छुटकारा पाएपछि जब उनी बागलुङ आए, बागलुङमा शैक्षिक जागरण ल्याउन लागिपरे ।

उनी थिए सबै बागलुङेका काका समाजसेवी ओमप्रसाद गौचन । मुस्ताङको थाक, टुकचेदेखि आई बागलुङ बजारलाई आफ्नो कर्मथलो बनाएका उनले समवयी मेघकुमार वैद्यसँगको रायसल्लाह र तत्कालीन युवावर्गसँगको सहकार्यमा राणाकालको चरम उत्कर्षको कुनै परबाह नगरी वि. सं. १९९७ मा घरेलु उद्योग विद्यामन्दिरको नामबाट औपचारिक अंग्रेजी शिक्षा र घरबुना कपडा बुन्न सिकाउने तानको व्यवस्था गरी औद्योगिक शिक्षाको समेत जग बसाल्ने कामको थालनी गरे । त्यसरी नै वि. सं. २००३ मा विद्यामन्दिर पुस्तकालयको स्थापना गरे, विद्यालयकै पश्चिम खण्डको एउटा कोठामा । यो नेपालका पुराना ६/७ वटा पुस्तकालयमध्ये गणना हुन सफल छ । यस प्रकार बागलुङको पुस्तकालयले नेपालको पुस्तकालयको इतिहासमा महत्वपूर्ण इँटा थप्न र निरंकुश जहानियाँ राणाशासनको बेलामै बागलुङलाई शैक्षिक जागरण आएको थलोका रूपमा परिचित तुल्याउन उहाँहरूबाट निर्वाह भएको उल्लेखनीय योगदानको यथार्थ बोध हुन आउँछ । यसको श्रेय यसका महामना संस्थापकद्वय स्व. ओमप्रसाद गौचन र स्व. मेघकुमार वैद्यलाई जान्छ ।

आजभोलि हामी हाम्रो समाजमा विभिन्न संघ–संस्था खोलिएको देख्छौं र सुन्छौं । हामी यो पनि सुन्ने गरेका छौं कि संस्था खोल्नु मात्र ठूलो कुरो होइन, त्यसलाई निरन्तरता दिन सक्नु महान् हो । वि. सं. २००३ मा खोलिएको पुस्तकालयमाथि तत्कालीन शासकवर्गको वक्रदृष्टि पर्न जाँदा यसले वि. सं. २००४ मा डेढ वर्षजति भोटे ताल्चाको सकस बेहोर्नुपर्‍यो । तथापि यो पुस्तकालय यहाँका जागरूक युवावर्ग, शिक्षाप्रेमी, पुस्तकालयप्रेमी र सेवीहरूको माया, ममता र सद्भावका कारण आजको अवस्थासम्म आइपुगेको छ ।

पुस्तकालय शैक्षिक ज्ञानको प्रचारप्रसारमा अभूतपूर्व योगदान गर्ने एउटा त्यस्तो जीवन्त शैक्षिक केन्द्र हो जहाँ लेखिएका, छापिएका, कोरिएका, खिचिएका, लिपिबद्ध गरिएका विभिन्न ज्ञानवर्धक सामग्री संकलन गरी सुव्यवस्थित तबरबाट पाठकवर्गलाई नियमित रूपमा उपलब्ध गराइन्छ । संसारमा विभिन्न किसिमका मानिस छन् । सबैको आ–आफ्नै रुचि र आवश्यकता छन् । कोही विज्ञान–प्रविधिमा रुचि राख्दछन् त कोही साहित्य, कला, सङ्गीतमा । त्यस्तै कोही राजनीति, इतिहास, संस्कृतिका अध्येता छन् भने कोही भूगोल, स्वास्थ्यविज्ञान र व्यवस्थापनका । कोही फेरि सबै विषयको केही न केही जानकारी हासिल गर्न चाहने हुन्छन् । कुनै पनि व्यक्तिलाई ज्ञानको अथाह संसारमा डुबुल्की मार्न आफैंले सबै किसिमका पुस्तक आफैं संकलन गर्ने वा खरिद गर्ने भन्ने कुरा वर्तमान आर्थिक युगमा सम्भव छैन । त्यसैले पुस्तकालयको जरुरत हुन्छ ।

पुस्तकालय भनेको ‘पुस्तक’ र ‘आलय’ दुई शब्द मिलेर बनेको शब्द हो जसको शाब्दिक अर्थ हुन्छ ‘पुस्तकै पुस्तकको घर वा मन्दिर’ । स्थापनाको प्रारम्भमा यसले केवल पुस्तक संकलन, वितरण वा  अध्ययनको वातावरण सिर्जना गर्ने मात्र गरेन बल्कि यो ठाउँमा मनोरञ्जन र सिर्जनशीलताका अन्य माध्यम उपलब्ध हुन नसकेको त्यो कठिनतम अवस्थामा साहित्य र सङ्गीत गोष्ठीको आयोजना गरी तत्कालीन युवावर्गमा शिक्षाप्रति रुचि जगाउने र शैक्षिक, सामाजिक एवम् राजनीतिक चेतना जगाउने कार्य पनि गर्‍यो । यस किसिमको मन्दिर बागलुङजस्तो अत्यन्त विकट ठाउँमा राणाकालमै स्थापना हुनु यहाँका जनता र युवावर्गमा जागृत चेतना र जागरूकताकै प्रतिफल मान्नुपर्छ जसले गर्दा बागलुङले क्रमिक रूपमा विभिन्न क्षेत्रका विद्वत्वर्ग उत्पादन गर्न सकेको छ ।

युवाको जागरूकता र घुम्ती पुस्तकालय

केही द्रष्टाको दूरदर्शिताको प्रतिफलस्वरूप स्थापित यस पुस्तकालयलाई क्रियाशील तुल्याउन जागरूक युवावर्गको खाँचो थियो । यसको गतिशीलताका लागि संस्थापकद्वय ओमप्रसाद गौचन र मेघकुमार वैद्यका अतिरिक्त तत्कालीन युवकहरूको सक्रियता, साथ र सहयोगलाई स्मरण गर्नुपर्ने हुन्छ । सबै युवक समुदायको साथ लिएर अगाडि बढ्ने र पुस्तकालयको गतिविधिलाई निरन्तरता प्रदान गर्नमा ओमकारप्रसाद गौचन, स्व. कुलप्रसाद श्रेष्ठ, महेशकुमार राजभण्डारी, देवेन्द्रराज अधिकारीलगायत पूर्वअध्यक्षहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ । पुस्तकालयले कुनै बेला यति सक्रिय अध्यक्ष र कार्यसमिति सदस्य पनि पाए कि पुस्तकालयसम्म पुगेर नयाँ पुस्तकहरू अध्ययनको अवसर पाउन नसकेका घरपरिवारका बेफुर्सदी महिला पाठक (गृहिणी) का साथै विभिन्न सजाय भोग्न बाध्य भई बन्दी जीवन बिताइरहेका कैदीहरूलाई पुस्तक अध्ययनको सुविधा पुर्‍याउने उद्देश्यले हरेक शनिबार घुम्ती पुस्तकालय सञ्चालन गरे । यसबाट घरघरमा व्यस्त जीवन बिताउन बाध्य नारीहरूलाई आफ्नो ज्ञानको क्षेत्र विस्तार गर्ने अवसर प्राप्त भयो ।

साथै बन्दी जीवन बिताउन बाध्य कतिपय राजनीतिक व्यक्तित्वलाई जेलभित्र आफ्नो अमूल्य समय त्यत्तिकै व्यतीत गर्नुपर्ने बाध्यतापूर्ण परिस्थितिसँग जुध्न मद्दत पुगेको थियो । लाग्छ, पुस्तकालयले विगत कालमा साहित्य गोष्ठीका माध्यमबाट शैक्षिक तथा राजनीतिक जागरण ल्याउने प्रयास भएजस्तै यसरी घुम्ती पुस्तकालय सञ्चालन गर्नुका पछाडि महिला जागरण र कैदीहरूमाझ पनि समयसापेक्ष जानकारी प्रवाह गरी थप संघर्षशील बन्नका लागि अभिप्रेरित गर्ने लक्ष्य राखेको हुन सक्ने अनुमान गर्न गाह्राे पर्दैन । यो कार्यक्रमको सुविधा उपभोग गर्नेमा यो आलेखकारका माता स्व. मोहनकुमारी प्रधान (स्व. हरिकुमार प्रधानका श्रीमती) पनि हुनुहुन्छ जुनबेला म करिब ९/१० वर्षको थिएँ ।

यस पुस्तकालयले आजसम्म दुई महिला अध्यक्षहरूको नेतृत्व पाएको छ– विश्वज्योति गौचन वि. सं २०२१–०२३ र गंगादेवी राजभण्डारी वि. सं. २०२५–०२६ मा । पुस्तकालयले संस्थाको नियमित कार्य सम्पादन गर्नका लागि हरेक चरणमा जुझारु कार्यकर्ता पाइरहे पनि यो विद्यामन्दिर माध्यमिक विद्यालयको एउटा कोठामा सञ्चालित थियो । वि. सं. २०२१ सालमा विद्यामन्दिर मावि बहूद्देश्यीय बनेपछि र स्थानीय अन्य विद्यालयमा प्रावि तहसम्म मात्र सञ्चालन गर्ने भएपछि विद्या मन्दिर माविका लागि विद्यालय भवन साँघुरो हुँदै गएको आभास भयो । पुस्तकालयले छुट्टै ठाउँको खोजी गर्नुपर्ने अवस्था आइलाग्यो । यसको दिगोपनका लागि आफ्नै भवनको खाँचो थियो जुन सर्वथा अभाव थियो ।

भवनको प्राप्ति

तत्कालीन पञ्चायती सरकारले वि. सं. २०२७ मा लागू गरेको शिक्षा नियमले कुनै पनि गा. पं. भित्र सञ्चालित शिक्षण संस्था सोही निकायअन्तर्गत रहने र तिनको अध्यक्ष सोही गा. पं.को प्रधानपञ्च हुने व्यवस्था गरेको थियो । यसै बेला बागलुङ सदरमुकामको गाउँ पञ्चायतको नाम कालिका गाउँ पञ्चायत थियो । यो गा. पं. को प्रधानपञ्चमा तत्कालीन का. आ. गा. पं. वडा नं. ३ नौबीसे टोलका जुझारु सामाजिक व्यक्तित्व टोपबहादुर बिजुक्षे निर्वाचित हुनुभएको थियो । शिक्षा नियममा भएको नयाँ व्यवस्थाअनुसार उहाँ विद्यामन्दिर पुस्तकालयको पदेन अध्यक्ष बन्नुभयो ।

उहाँले यस पुस्तकालयको दिगो विकासका लागि अत्यन्त दूरदर्शी निर्णय लिनुभयो । यो पुस्तकालयले चर्चेको वर्तमान भवन बन्नुअघि यो एक सार्वजनिक पौवा थियो जुन बागलुङ बजार हुँदै मुक्तिनाथ जाने तीर्थयात्री, संन्यासी, साधु, सन्त, जोगी, फकिरहरूका लागि आश्रयस्थलका रूपमा निर्माण गरिएको थियो, सरकारी तबरबाट । यो पौवामा केही समय तत्कालीन श्री ५ को सरकार घरेलु कार्यालयद्वारा सञ्चालित रङ्गाइ–छपाइ शाखा सञ्चालन भयो । पछि सो शाखा घरेलुको आफ्नै कार्यालय परिसरमा सरेपछि मिति ०२९।६।३०।६ प. संं. १०२३।१०।७ को घरेलु विभागको विभागीय आदेश र तत्कालीन धवलागिरि अञ्चलाधीशको आदेशबाट गा. पं. को जिम्मामा रहेको त्यो भवन (पौवा) मा विद्यामन्दिर पुस्तकालय सञ्चालनार्थ भवन हस्तान्तरण भएको देखिन्छ । (प्रधानपञ्च टोपबहादुर बिजुक्षे र सचिव श्रीप्रसाद श्रेष्ठको दस्तखतमा प्रेषित उक्त पत्र विम पुस्तकालयमा सुरक्षित छ ।) वि. सं. २०२९/०३० मा उक्त पौवालाई मर्मतसम्भार गर्ने कार्य अगाडि बढ्यो । सरकारी ठाँटी/पौवाको छानो चुहुने भएकाले छानाको मर्मतसम्भारका लागि पाली ढुंगाको आवश्यकता भयो । त्यतिखेर उपल्लाचौर प्रावि उपल्लाचौरको भवन भत्किई त्यहाँको पालीढुङ्गा लथालिङ्ग अवस्थामा थियो । तत्कालीन प्रधानपञ्च टोपबहादुरका पहलमा त्यहाँको पालीढुङ्गा ल्याई छाना छाउने काम भएको थियो । यस प्रकार करिब २५/२६ वर्षसम्म विद्यामन्दिर बहुउद्देश्यीय मा. वि. को एउटा कोठामा सञ्चालित यो पुस्तकालय आफ्नै भवनमा सर्‍यो ।

साहित्यिक गतिविधि

विद्यामन्दिर पुस्तकालयले आफ्नो स्थापनाकालदेखि नै विभिन्न कार्यक्रमका माध्यमबाट स्थानीय युवावर्ग र सर्वसाधारणलाई जागृत तुल्याउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी आएको छ । पुस्तकालयको यो जागरूकतालाई निरन्तरता प्रदान गर्न समसामयिक रूपमा राष्ट्रिय स्तरका कवि–लेखकहरूको जयन्तीका अवसरमा विभिन्न साहित्यिक क्रियाकलाप हुँदै आएको छ । वि. सं. २०६१ देखि यस संस्थाअन्तर्गत देवकोटा जयन्ती संयोजन समिति गठन गरी हरेक वर्ष साहित्य गोष्ठी, कविगोष्ठी, प्रवचन कार्यक्रम आदिका साथ महाकवि देवकोटा जयन्ती मनाउने गरिएको छ । यसका साथै पुस्तकालयका साहित्यानुरागी सदस्यहरूको अग्रसरतामा राष्ट्रिय स्तरका कवि–लेखकहरूको जयन्तीका अवसरमा विविध साहित्यिक कार्यक्रम अद्यापि सञ्चालन हुँदै आएको छ ।

कोचिङ कक्षा सञ्चालन

विममाविको एउटा कोठामा सञ्चालन गरिँदा पनि पुस्तकालयले आफ्नो सेवा प्रवाह गरी आएकै थियो । भुइँ तलासमेत दुई तला भएको आफ्नै भवनमा सरेपछि पनि संस्थालाई वाचनालय कक्षको अभाव महसुस भयो । यो समस्या समाजसेवी टोपबहादुर बिजुक्षेसमक्ष प्रस्तुत गर्दा उहाँले आफ्ना स्व. सुपुत्र समीर बिजुक्षेको स्मृतिमा पुस्तकालय भवनको पछाडि जोडिएको करिब साढे दुई दाम (१९.५×१२) वर्गफिटको जमिन संस्थालाई प्रदान गर्नुभयो । २०३३ सालमा प्रजिअ कार्यालयबाट रू. ५०००।– मूल्य पर्ने १०० बोरा गहुँ प्राप्त भएपछि उक्त जग्गामा जग हाल्ने काम भयो । यो जगमाथि बाँके कोठा निर्माण गर्न आवश्यक आर्थिक रकमको जोहो गर्न विममावि, धविमावि, कालिका कन्यामन्दिर प्राविमा अध्यापनरत अंग्रेजी, गणित, विज्ञान शिक्षकहरूको सहयोगमा कोचिङ कक्षा सञ्चालन गरियो– एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि । यो हरेक वर्ष असार र साउन तथा मंसिर र पुस महिनामा सञ्चालन गर्ने गरिन्थ्यो ।

नाटक प्रदर्शन

यति मात्र होइन, संस्थाका लागि आवश्यक रकम व्यवस्था गर्न २०२५ सालमा गोपालप्रसाद रिमालको ‘मसान’ नाटक प्रदर्शन गरिएको थियो । वैकुण्ठप्रसाद विजुक्छेद्वारा निर्देशित यस नाटकमा तत्कालीन अध्यक्ष गंगादेवी राजभण्डारी र चन्द्रकुमारी श्रेष्ठले महिला कलाकारका रूपमा बागलुङ बजारमा पहिलो पटक महिलाकै पात्रको जिम्मेवारी लिई मञ्चन गरिएको थियो भने शत्रुघ्न श्रेष्ठलगायतका कलाकारले प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । २०३० सालमा मनबहादुर मुखियाको ‘वियोग’, २०३४ मा यशपालको ‘शकुन्तला’ तथा २०३६ मा रामशेखरको ‘भाले बास्यो’ नाटक र अन्य विविध सांस्कृतिक कार्यक्रम बागलुङ नगरीका विभिन्न कलाकारहरूको सहयोगमा प्रदर्शन गरिएको थियो । नेपालभाषामा लेखिएको रामशेखरको ‘खाः हाःल’ बाट अनूदित नाटक ‘भाले बास्यो’ लाई प्रदर्शनका लागि २०३२ सालमै तयार गरिएको थियो । तर प्रशासनको कोपभाजनका कारण सो नाटकको प्रदर्शनमा रोक लगाइएपछि २०३५/०३६ को विद्यार्थी आन्दोलनबाट उत्पन्न खुला वातावरणमा सो नाटक मञ्चन गरिएको थियो ।

मुष्टिदान, उपहार तथा भदौरे नाच कार्यक्रम सञ्चालन

यस किसिमका सिर्जनात्मक क्रियाकलापका अतिरिक्त यस पुस्तकालयले मुष्टिदान कार्यक्रम, उपहार कार्यक्रम र भदौरे नाच आदि कार्यक्रम सञ्चालन गरी पुस्तकालयको निरन्तर सुसञ्चालन र सुव्यवस्थापनको प्रबन्ध मिलाई आएको थियो । समाजसेवी टोपबहादुर बिजुक्षेबाट प्राप्त जग्गामा हालिएको जगलाई बाँकेका रूपमा पूर्णता दिन माथि उल्लिखित कार्यक्रमहरूबाट सङ्कलित रकम र दुर्गम तथा स्थानीय विकास विभागबाट प्राप्त आ. स. रु १४ हजारले सम्भव भएको थियो । छिमेकहरूले निर्माण गरेको घरबाट बाँके कोठामा असर पर्न गई भत्किने समस्या सिर्जना हुन सक्ने भएकोले वि. सं. २०३८ मा शिक्षा मन्त्रालयबाट प्राप्त रू. ५ हजारले त्यसको मर्मतसम्भार गरिएको थियो ।

अक्षय कोषको स्थापना

पुस्तकालय सञ्चालनार्थ पुस्तकाध्यक्ष तथा सहयोगी आदि मानवीय स्रोतको आवश्यक पर्दछ । तिनको नियमित तलबभत्ता र विभिन्न पुस्तक पत्रपत्रिका, बिजुली, फोन, पानी आदि र अन्य मसलन्द सामग्रीको व्यवस्था यस संस्थाको खर्चका क्षेत्र हुन् । यस पुस्तकालयले लामो बाटो पार गरेर आउँदा पनि यसको सञ्चालन सधैँ धरमराउँदो स्थितिमा रह्यो । यही तथ्यलाई हृदयङ्गम गर्दै बागलुङदेखि काठमाडौं गई विभिन्न व्यवसाय र कारोबारमा संलग्न पुष्पमान श्रेष्ठ, बुद्धिप्रसाद पौड्याल, शत्रुघ्न श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठलगायत २५ जना शिक्षासेवी व्यक्तित्वहरूले प्रतिव्यक्ति रू. ८ हजारका दरले योगदान गरी पुस्तकालयको स्वर्णजयन्तीका अवसरमा अक्षय कोष स्थापनार्थ रू. २ लाख प्रदान गर्नुभयो । यसले पुस्तकालयको निरन्तर कार्य सञ्चालनका लागि ठूलो भरोसा मिल्यो । तर कुनै समय एक घण्टा मात्र खोल्ने गरिएको पुस्तकालय हाल हरेक वर्षको कात्तिकदेखि चैतसम्म दिउँसो १२ देखि ६ बजेसम्म र वैशाखदेखि आश्विनसम्म बिहान ११ः०० देखि ७ बजेसम्म सञ्चालन हुन थालेपछि यसको खर्च क्रमिक रूपमा बढ्दै गइरहेको छ । त्यसैले २०५३ सालमा स्थापित अक्षय कोषको रकमलाई २०७१ सालमा वृद्धि गरी रू. ३ लाख ५० हजार पुर्‍याइयो भने वर्तमान अध्यक्ष राजेशचन्द्र राजभण्डारीको सक्रियतामा यो कोषको रकम हाल रू. १० लाख ५० हजार पुर्‍याइएको छ । वर्तमान अध्यक्ष राजेशचन्द्र राजभण्डारीको टिमलाई साधुवाद !

नयाँ भवन निर्माण

एउटा सार्वजनिक पौवालाई मर्मतसम्भार गरी पुस्तकहरूको आदान–प्रदान र पत्रपत्रिका अध्ययनका लागि वाचनालयसमेत सञ्चालन गर्दै आएको ठाउँ वि. सं. २०५३ मा पुस्तकालयले ५०औं वर्षगाँठ पूरा गर्ने क्रममा आयोजित स्वर्णजयन्तीका समयमा यो भवनका कोठा–चोटा पुस्तकालयका लागि साँगुरो महसुस हुन थाल्यो । सालबसाली नयाँनयाँ पुस्तक प्रकाशन हुँदै गएको र विश्वमा विज्ञान तथा प्रविधिको विकास हुँदै गएको सन्दर्भमा पुस्तकालयका लागि आधुनिक सेवासुविधा प्रदान गर्न सक्ने एक आधुनिक भवनको खाँचो थियो । यसै क्रममा २०५८ सालमा रिड नेपालबाट ग्रामीण क्षेत्रका पुस्तकालयको भौतिक संरचना निर्माणार्थ आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन मिलेपछि यस पुस्तकालयले बागलुङ बजारबासी तथा रोजगारी र व्यवसायका सिलसिलामा बागलुङबाट बसाइँसराइ गरी पोखरा, काठमाडौं, बुटवल, भैरहवा, नारायणगढ आदि विभिन्न स्थानमा पुगेका पुस्तकालयप्रेमी व्यापारी, व्यवसायीबाट व्यापक सहयोग जुटाउने अभियान सञ्चालन भयो । रिडबाट प्राप्त रू. १६ लाख र पुस्तकालयले विभिन्न सहयोगीबाट संकलित सहयोग रकम रू. १५ लाख १७ हजार ३ सय १० समेत रू ३१ लाख १७ हजार ३ सय १० को लागतमा हालको यो तीनतले नयाँ भवन निर्माण गरी आफ्ना सबै सेवा प्रवाह गरिरहेको छ । भुइँतलाका दुईवटा सटर र भवनको सबभन्दा माथिल्लो तलामा रहेको बुर्जामा नेपाल दूरसञ्चार संस्थानसँगको सम्झौताअनुसार राखिएको टावरबाट प्राप्त हुने भाडा पुस्तकालयका नियमित आयस्रोत बनेको छ ।
रत्न–श्रेष्ठ पुरस्कार नेपाली वाङ्मय विभाग

यस पुस्तकालयमा साहित्यकार प्रेम छोटाद्वारा आफ्नी ममतामयी माता स्व. रत्नकुमारी श्रेष्ठको स्मृतिमा वि. सं. २०३७ मा स्थापित रत्न–श्रेष्ठ पुरस्कार पुस्तकालयलाई त्यस पुस्तकालयको उद्देश्य र अस्तित्व यथावत् कायम रहने गरी वि. सं. २०५९ देखि यस पुस्तकालयमा समाहित गरिएको छ । यसरी समाहित हुने बखत उक्त पुस्तकालयको भवन निर्माणका लागि संकलित नगद रू. २ लाख १८ हजार तथा २४७० पुस्तकहरू पनि यसै पुस्तकालयको दोस्रो तलामा रत्न–श्रेष्ठ पुरस्कार नेपाली वाङ्मय विभागको नामबाट सञ्चालित छ । पुस्तकालयको यो विभागमा नेपाली भाषाका पुस्तकहरू मात्र रहने गरेका छन् । यस विभागमा रहेका पुस्तक यसै विभागमा रही अध्ययन गर्नुपर्ने प्रावधान छ ।

ग्रामीण सूचना केन्द्र र ई–लाइब्रेरीको सञ्चालन

हामी विज्ञान प्रविधिको युगमा बाँचिरहेका छौं । बागलुङमा सञ्चालित पुरानो पुस्तकालयमार्फत जिल्ला, अञ्चल र राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा सूचना आदानप्रदान गर्ने उद्देश्यले नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालयको पहलमा ग्रामीण सूचना केन्द्र सञ्चालनका लागि कदम चालिएको थियो । तर दक्ष प्राविधिक जनशक्तिको अभाव र केन्द्र सञ्चालनार्थ प्राप्त कम्प्युटरहरू सेकेन्ड ह्यान्डका पर्न गई तिनको यथोचित मर्मत–सम्भारमा निरन्तर समस्या आइरहँदा सो सेवा सुचारु हुन सकेन । तथापि आजको विज्ञान प्रविधिको युगमा पाठकवर्गलाई युगसुहाउँदो ज्ञान सञ्चार गर्न पुस्तकालयलाई स्तरोन्नति गरी इन्टरनेटको माध्यमबाट ई–लाइब्रेरीका रूपमा रूपान्तरण गर्ने प्रयास गरियो, वि.सं. २०७० मा । हाल नेपाल लाइब्रेरी फाउन्डेसनको सहकार्य तथा एनआरएनका सोमप्रसादको सहयोगमा पुस्तकालयमा ई–लाइब्रेरी सञ्चालन भएको छ ।

आध्यात्मिक चिन्तन र अध्ययन–कक्ष

विम पुस्तकालयमा स्थापनाकालदेखि नै विभिन्न विषयका पुस्तक राखिएका छन् । बानपा वडा नं. ३ मा जन्मनुभई हाल काठमाडौंनिवासी धवलागिरि बहुमुखी क्याम्पस, बागलुङका पूर्वप्रमुख वैकुण्ठप्रसाद बिजुक्षेले पुस्तकालयमा आध्यात्मिक चिन्तन र अध्ययन कक्षको व्यवस्थापन गरी पाठकको संख्या वृद्धि गर्ने उद्देश्यले २५ हजार रुपैयाँको अक्षयकोष स्थापनार्थ रकम प्रदान गर्नुभएको छ ।

बालविकास केन्द्रको सञ्चालन

आजका बालबालिकालाई भोलि गएर पुस्तकालयको पाठक र कार्यकर्ताका रूपमा विकसित गर्ने विश्वास लिई यस पुस्तकालयले वि. सं. २०६५ देखि विमपु बालविकास केन्द्र सञ्चालन गरिरहेको छ । जिल्ला शिक्षा कार्यालय, बागलुङ र सेतोगुराँस बालविकास सेवा, बागलुङको सहयोगमा ३ वर्षदेखि ५ वर्षका बालबालिकालाई गुणस्तरीय अवसर प्रदान गर्ने कार्य नियमित अगाडि बढिरहेको छ । यस केन्द्रमा हरेक वर्ष १५ देखि २०/२२ जना बालबालिका भर्ना भई गुणस्तरीय बालशिक्षा प्राप्त गरिरहेछन् । यस पुस्तकालयद्वारा सञ्चालित बालविकास केन्द्रमा अध्ययन गरेका बालबालिकाहरू अन्य विद्यालयमा गई राम्रो शिक्षाभ्यास गरिरहेका छन् ।

उत्कृष्ट पाठक पुरस्कार (२०६५)

पुस्तकालय खोल्दैमा यसको उद्देश्य पूरा हुन सक्दैन जबसम्म यसले नियमित पाठक प्राप्त गर्न सक्दैन । वास्तवमा नियमित पाठक पुस्तकालयको अनन्य गहना हो । सहरीकरण, विज्ञान प्रविधिको उन्नति–प्रगति र प्रभाव, व्यस्त आर्थिक जीवन प्रणालीको विस्तार आदिले पुस्तकालयमा पाठकको संख्या अपेक्षाकृत बढाउन सकिएको छैन । यसै तथ्यलाई मध्यनजर राख्दै पुस्तकालयमा नियमित पाठकको संख्यामा वृद्धि ल्याउने उद्देश्यले वि. सं. २०६५ देखि यस पुस्तकालयमा रत्न–श्रेष्ठ पुरस्कार नेपाली वाङ्मय विभाग स्थापना गर्नुहुने संरक्षक प्राज्ञ प्रेम छोटाले हरेक वर्ष एक जना नियमित पाठकलाई पुरस्कृत गर्ने गरी रू. ५ हजार ५ सयको अक्षय कोष स्थापना गर्नुभएको छ । यस कोषबाट हरेक वर्ष पुस्तकालयको वार्षिक साधारणसभाका अवसरमा पठन संस्कृतिमा टेवा पुर्‍याउने उत्कृष्ट पाठक छनोट गरी रू. ५ सय रुपैयाँको नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।

गंगाप्रसाद स्मृति पुरस्कार (२०६९)

विम पुस्तकालयले हरेक वर्ष भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइरहेको छ । उक्त अवसरमा आयोजना हुने विभिन्न सिर्जनात्मक कार्यक्रमका उत्कृष्ट सहभागीलाई पुरस्कृत गरी प्रोत्साहित गर्ने उद्देश्यले यस पुस्तकालयका वर्तमान उपाध्यक्ष रामप्रसाद शर्माले वि. सं. २०६९ मा आफ्ना स्वर्गीय पिता गंगाप्रसाद शर्माको स्मृतिमा ३० हजार रूपैयाँको गंगाप्रसाद स्मृति अक्षय कोष स्थापना गरेका छन् । यो कोषबाट प्राप्त हुने वार्षिक ब्याजबाट राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रमका लागि पुरस्कृत गर्ने गरिएको छ ।

हरि–मोहन स्मृति पुरस्कार–२०७१

संस्थाका ३२औं कार्यकालका अध्यक्ष महेशचन्द्र प्रधानले आफ्ना पूजनीय पिता हरिकुमार प्रधान र स्व. माता मोहनकुमारी प्रधानका नाममा २०७१ पौष ६ गते यस पुस्तकालयको ३२औं अधिवेशन तथा ६८औं वार्षिक साधारणसभाका अवसरमा पुस्तकालयसेवी, शिक्षासेवी, समाजसेवी, कलाकर्मी, भजन/सङ्गीतसाधक व्यक्तित्वहरूलाई हरेक २/२ वर्षमा सम्पन्न हुने विम पुस्तकालयको अधिवेशन वा श्री हरिकुमार प्रधानको जन्ममिति वा स्व. मोहनकुमारी प्रधानको पुण्यतिथिका दिनमा रू. १० हजारको नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित हरि–मोहन स्मृति पुरस्कार सम्मान प्रदान गर्ने उद्देश्यले यस पुस्तकालयसँग सहकार्य गर्ने गरी रू. ५० हजार १ सय १ को हरि–मोहन स्मृति अक्षय कोष–२०७१ स्थापना भएको छ । यस कोषबाट प्रथमपटक २०७३ सालमा पुस्तकालयका चौथो कार्यकालका अध्यक्ष श्री महेशकुमार राजभण्डारीलाई सम्मान गरिएको थियो भने वि. सं. २०७५ मा दोस्रोपटकका लागि तेह्राैं कार्यकालका अध्यक्ष श्री टोपबहादुर बिजुक्षेलाई सम्मान गरेको छ ।

पुस्तकालयको मुखपत्र ‘झिल्का’को प्रकाशन

यस पुस्तकालयले संस्थाको रजत जयन्ती, स्वर्ण जयन्ती र हीरक जयन्तीको अवसर पारी आफ्नो मुखपत्र/बुलेटिनका रूपमा ‘झिल्का’का ४ अङ्क प्रकाशन गरिसकेकोमा पुस्तकालयको ६८औं वार्षिक साधारणसभा तथा ३३औं अधिवेशनका अवसरमा पाँचौं अङ्कका रूपमा झिल्का बुलेटिन प्रकाशन गरेको छ । यस बुलेटिनलाई घटीमा हरेक अधिवेशनका अवसरमा नयाँ सोच, कार्यक्रम र रणनीतिका साथ प्रकाशन गर्नका लागि सबै पुस्तकालयकर्मी कटिबद्ध र प्रतिबद्ध हुनु जरुरी छ । यो अञ्चल र प्रदेशकै एक ऐतिहासिक पुस्तकालय भएकाले यसलाई एक नमुना पुस्तकालयका रूपमा विकसित गर्न सम्पूर्ण सरोकारवाला क्रियाशील बन्न र वचनबद्ध रहन ढिलाइ गर्नुहुँदैन ।

वर्तमान अवस्था

वि. सं. २०६२/०६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनपछि देशभित्र नयाँ राजनीतिक वातावरणको सूत्रपात भएको छ । वि. सं. २०७२ मा जारी नेपालको संविधानले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरलाई नैसर्गिक अधिकारका रूपमा स्थापित गर्ने उद्घोष गरेको छ । शिक्षाका दुई स्वरूपमध्ये विद्यालय, महाविद्यालय, क्याम्पस, कलेज, विश्वविद्यालयको माध्यमबाट हरेक छात्रछात्राले औपचारिक शिक्षा प्राप्त गर्छ भने पुस्तकालयको माध्यमबाट अनौपचारिक शिक्षा । ज्ञानको सागर अथाह छ । आजको विज्ञान प्रविधिको युगमा कुनै पनि विद्यार्थी वा शिक्षार्थीले आफ्नो ज्ञानको विस्तारका लागि आवश्यक पर्ने सबै स्रोतसामग्री आफैंले जुटाउन सम्भव छैन । ज्ञानपिपासु हरेक विद्यार्थी वा शिक्षार्थीका लागि पुस्तकालय एक भरपर्दो माध्यम हो ।

यद्यपि आज हामीले मोबाइल, कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याब्लेट, ग्याजेट आदिको प्रयोगबाट पनि आफ्नो ज्ञानको क्षेत्रलाई विस्तार गर्न नसक्ने होइनौं । राज्यले शिक्षालाई नैसर्गिक अधिकारका रूपमा अंगीकार गरेको वर्तमान सन्दर्भमा देशका जनताको चेतनास्तर उकास्न हरेक तहमा स्थापित र सञ्चालित पुस्तकालयलाई स्तरोन्नति गरी विकास निर्माण, समृद्धि, सुखपूर्ण जीवनको सुनिश्चितता र सभ्य समाज निर्माणका खातिर विशेष जिम्मेवारी बहन गर्नु आजको टड्कारो आवश्यकता हो । पुस्तकालयले हरेक अधिवेशनमा क्रियाशील पुस्तकालयसेवीको साथ पाउँदै आएको छ । स्थापनाकालदेखि नै यो संस्था युवा स्वयंसेवी सहयोगीहरूको सहयोगी हातका कारण यो अवस्थामा आइपुगेको छ । त्यसो त प्रौढ एवम् पुस्तकालयप्रति समर्पित अग्रज पुस्तकालयसेवी समाजसेवीहरूको सर–सल्लाह र साथले यसको आर्थिक, भौतिक र नैतिक उन्नति–प्रगतिमा भएको मल–जललाई कदापि बिर्सन मिल्दैन ।

उपसंहार

जहानियाँ राणाशासनमा स्थापित ऐतिहासिक महत्त्व बोकेको यस पुस्तकालयलाई समयानुकूल गति प्रदान गर्न स्थानीय तह (बागलुङ नगरपालिका) बाट यदाकदा हुने गरेको ५० हजारसम्मको आर्थिक सहयोग पछिल्लो समयमा वृद्धि भई एक लाख पुग्दा पुस्तकालयको आर्थिक अवस्थामा थप ऊर्जा प्राप्त भएको छ । राज्यले पुस्तकालयलाई आगामी दिनमा अझ आधुनिक, सुव्यवस्थित र विकसित तुल्याउन विस्तृत योजनाका साथ अगाडि बढ्न समयोचित आर्थिक अनुदान प्रदान हुने आशा यस पुस्तकालय राख्दछ । देशको सुदूर पश्चिमको एक विकट जिल्लामा पठन संस्कृतिको विकास र शैक्षिक एवम् राजनीतिक चेतनाको बिगुल फुक्नमा अभूतपूर्व योगदान पुर्‍यााएको यस पुस्तकालयलाई शिक्षा मन्त्रालयलगायत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत यथोचित सहयोग जुटाउन हामी सबै सरोकारवालाको ध्यान जानु अपरिहार्य आवश्यकता हो । सबैको सहयोग भए पुस्तकालयको गरिमा अरू वृद्धि हुने मात्र होइन, समाज र राष्ट्रलाई समेत सम्पन्नताको बाटोतर्फ अग्रसर तुल्याउन मद्दत हुनेछ ।

सन्दर्भ स्रोत–सामग्री

१. विद्यामन्दिर पुस्तकालयको ५० वर्ष : सिंहावलोकन, प्रस्तोता सचिव/पुस्तकाध्यक्ष हरिहर श्रेष्ठ, झिल्का (पुस्तकालय विशेषाङ्क), अङ्क ३, २०५५, सन्दर्भ स्वर्णजयन्ती (२००३–२०५३), प्रकाशक : विद्या मन्दिर पुस्तकालय, बागलुङ ।
२. झिल्का, अङ्क ५, २०७१, प्रकाशक : विद्या मन्दिर पुस्तकालय, बागलुङ ।
३. मिति २०७६।०२।०६ मा अनुसन्धाता प्रेम छोटासँगको वार्तालापका आधारमा ।
४. विम पुस्तकालयका संरक्षक (पूर्वअध्यक्ष) हरिहर श्रेष्ठसँग २०७६।०२।१३ मा भएको फोन सम्पर्कबाट प्राप्त जानकारीका आधारमा ।

(यस आलेखका अनुशीलनकर्ता विद्यामन्दिर पुस्तकालय बागलुङका ३२ औं कार्यकाल (२०६९–२०७१) का पूर्वअध्यक्ष एवम् अमृत आदर्श आमावि बागलुङका प्रिन्सिपल हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्