२ जेष्ठ २०८१, बुधबार

 

जसले ब्रह्माण्ड छिचोले

- सन्दर्भ : स्टेफन हकिङ जन्मदिवस

अल्बर्ट आइन्स्टाइनपछि विज्ञान क्षेत्रमा योगदान गर्ने वैज्ञानिकमध्ये स्टेफन हकिङ अग्रपंक्तिमा पर्छन् । आइन्स्टाइनले व्याख्या गर्न नसकेका भौतिक शास्त्रका कतिपय विषयले हकिङकै कारण पूर्णता पाए । ब्ल्याक होल र बिग ब्याङ सिद्धान्त पनि उनैले व्याख्या गरे ।

न्युयोर्क सिटी विश्वविद्यालयका प्राध्यापक मिचियो काकु भन्छन्– ‘आइन्स्टाइनपछि विश्व ब्रह्माण्डबारे उच्चतम कल्पनाशक्ति प्रयोग गरी अन्वेषण गर्ने एक मात्र वैज्ञानिक स्टेफन हकिङ नै हुन् ।’

हकिङको सन् १९८८ मा प्रकाशित किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ को माध्यमबाट उनले विज्ञानलाई ठूलो योगदान गरेकाे चर्चा आज पनि गरिन्छ । उक्त पुस्तक डेढ करोड प्रतिभन्दा बढी बिकिसकेको छ ।

यसै गरी सन् २०१४ मा उनको जीवनीमा आधारित फिल्म ’द थ्योरी अफ एभ्रिथिङ’ बनेको थियो । एडी रोडम्यानले हकिङको भूमिका खेलेका थिए जसले उनलाई ओस्कर अवार्ड दिलायो । यो फिल्म अन्य विश्वप्रसिद्ध अवार्ड मनोनयनमा पनि पर्‍याे ।

सन् १९६३ मा हकिङले ग्य्राजुएसन गरेका थिए । त्यसै बेला उनी ‘मोटर न्युरोन’ नामक रोगबाट ग्रस्त भए । सो समयमा डाक्टरहरूले उनलाई दुई वर्ष मात्रै बाँच्ने आशा गरेका थिए । उनका प्राय अंग नचल्ने भए । सिङ्गो स्नायुप्रणालीमै रोगले आक्रमण गर्‍याे । उनी हिँडडुल, बोलचाल गर्न नसक्ने भए । उनको दिमागी क्षमतामा भने यसको कुनै असर परेन ।

उनले सुरुमा आइन्स्टाइनको सापेक्षतावादमाथि नयाँ खोज गरे । यसपछि लामो समय खोज–अनुसन्धान गरेर कालो छिद्र (ब्ल्याक होल) को रहस्यबारे विभिन्न तथ्य फेला पारे । यही खोजका कारण उनी आफ्नो युगको सबभन्दा अग्रणी वैज्ञानिक बने ।

कालो छिद्र (ब्याल्क होल) को अस्तित्व अन्तरिक्षमा रहेको र ती छिद्र अन्त्यमा गएर विलीन हुने निष्कर्ष पनि निकाले । कालो छिद्रबाट विकिरण प्रवाह हुने पत्ता लगाएका उनले उक्त विकिरणको नाम नै ‘हकिङ रे’ राखे ।

‘हकिङले पेस गरेको शोधपत्र क्याम्ब्रिज विश्वविद्यालयको इतिहासमै सबभन्दा उत्कृष्ट थियो’, शोधपत्र लेखनका सल्लाहकार डेनिस डब्लु सेइमा बारम्बार भनिरहन्छन्, ‘भौतिक शास्त्रकाे इतिहासमै सबभन्दा सुन्दर शोधपत्र थियो त्यो ।’

सन् २००७ को अप्रिलमा आफ्नो ६५ औं जन्मदिन मनाएको केही समयपछि हकिङले शून्य गुरुत्वमा  उडान गरे । बोइङ जहाज ७२७ मा उडान गरेका उनलाई सहयोगीहरूको साथ थियाे । त्यसअघि बेलुन यात्रा पनि गरिसकेका थिए ।

यस घटनापछि उनलाई ‘किन यस्तो जोखिम किन मोलेको’ भनेर सोधियो । ‘मानिसको शारीरिक क्षमतामा गडबड भए पनि उसको अन्तरात्मा सक्षम हुन्छ,’ उनले जवाफ दिए । हकिङ आफैं यसको प्रमाण थिए ।
०००

सन् १९४२ जनवरी ९ मा बेलायतस्थित अक्सफोर्ड सहरमा जन्मेका हकिङको पूरा नाम स्टेफेन विलियम हकिङ हो ।

उनी जन्मिएको दिन महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलीको निधन भएको ठीक तीन सय वर्ष पुगेको थियो । ग्यालिलियो नै त्यस्ता वैज्ञानिक थिए जसले विश्वमा पहिलो पटक गुरुत्वबारे खोज सुरु गरेका थिए ।

उनका पिता फ्य्राङ्क हकिङ पनि जीवविज्ञानका अन्वेषक थिए ।

सेन्ट अल्बान्स स्कुलका आफ्ना सहपाठीमाझ हकिङ मन्दबुद्धि भएका विद्यार्थीका रूपमा चिनिन्थे । केही शिक्षकका नजरमा भने उनी तीक्ष्ण बुद्धिका थिए ।

अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भएपछि उनले गणित र भौतिक शास्त्र अध्ययन गरे । त्यहाँ पनि उनलाई अध्ययन गर्ने–गराउने शैली मन परेन । त्यहाँ उनलाई खगोल विज्ञानमा मात्रै रुचि थियो । अन्ततः उनले यसैलाई ध्येय बनाए र ब्रह्माण्डको खोजमा आफूलाई समर्पित गरे ।

अक्सफोर्ड विश्वविद्यालयको पढाइपछि उनी क्याम्ब्रिज गए । त्यहाँ गएर अनुसन्धानमा खटिन थाले ।

हकिङ बारम्बार भन्थे, ‘मान्छेहरू गणित भनेको सूत्र र समीकरण भन्ने मात्र सम्झन्छन् । यथार्थमा समीकरण साह्रै दिक्कलाग्दो कुरा हो ।’

उनले क्याम्ब्रिजमा कुनै समय प्रसिद्ध वैज्ञानिक आइज्याक न्युटनले सम्हालेको लुकासियन प्रोफेसर अफ म्याथम्याटिक्सको पदवी सम्हालेका थिए । यो उनको जीवनको अर्को संयोग थियो ।

सन् १९७४ देखि नै हकिङ आधुनिक भौतिक शास्त्रका दुई ठूला विषय आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्त जोड्न लागिपरेका थिए । सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षण र ब्रम्हाण्डमा हुने ठूला घटनाचक्र व्याख्या गर्छ भने क्वान्टम सिद्धान्तले उपपरमाणुले कसरी काम गर्छ भन्ने व्याख्या गर्छ ।

‘मेरो उद्देश्य सरल छ,’ उनले भनेका थिए, ‘ब्रम्हाण्डको पूर्ण बुझाइ मेरो उद्देश्य हो । यो यस्तै किन छ र यसको अस्तित्व नै किन छ ?’

यो खोजको नतिजास्वरूप हकिङले दुईखाले समयको अवधारणामा आधारित ब्रह्माण्डको मोडल प्रस्तुत गरे ।

पहिलो, ‘वास्तविक समय’ अर्थात्, मान्छेले अनुभव गर्ने समय ।

दोस्रो, क्वान्टम सिद्धान्तको समय ‘काल्पनिक समय’ हो, जसमा सायद यो ब्रह्माण्ड चल्छ ।

‘काल्पनिक समय साइन्स फिक्सनजस्तो लाग्न सक्छ । तर यो असली वैज्ञानिक अवधारणा हो,’ उनले भनेका थिए ।

उनको खोजको अर्को महत्त्वपूर्ण क्षेत्र ‘ब्ल्याक होल’ हो। ब्ल्याक होल ब्रम्हाण्डको त्यो क्षेत्र हो, जहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ, प्रकाशसमेत उम्कन सक्दैन ।

उनको यो खोज आधुनिक भौतिकशास्त्रको अर्को घुम्ती मानिन्छ । सन् १९८८ मा उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ प्रकाशित भएपछि उनी विश्वचर्चित बने। यो किताब जटिल विषयवस्तुमा लेखिएको सबभन्दा चर्चित किताबमध्ये एक हो ।

उनी आफ्नो किताबबाट बालबच्चाका शिक्षाका लागि खर्च गर्ने केही पैसा पनि कमाउन चाहन्थे । निश्चय नै, उनले पर्याप्त पैसा कमाए । त्यसभन्दा बढी उनी अपांगता भएका व्यक्तिहरूका नायक बने ।

सो किताबमा एक मात्र गणितीय सूत्र रहेकोमा उनी गर्व गर्थे ।

हकिङले सन् १९६५ मा जेन वाइल्डसँग पहिलो विवाह गरेका थिए । उनीहरूका तीन सन्तान जन्मिए । २५ वर्षको दाम्पत्य जीवनपछि सम्बन्धविच्छेद भयो । यो सम्बन्धलाई ‘द थ्योरी अफ एभ्रिथिङ’ फिल्ममा उतारिएको छ ।

त्यसपछि हकिङले आफ्नै पूर्वनर्स एलेन मेसनसँग १९९५ मा विवाह गरे । एलेनकै पूर्वपति डेविडले हकिङको आवाज उतार्ने मेसिन ‘भ्वाइस सिन्थेसाइजर’ डिजाइन गरेका थिए ।

‘एलेनसँग मेरो वैवाहिक सम्बन्ध भावुक र तुफानी थियो’, उनले संस्मरणमा लेखेका छन्, ‘हामीबीच निकै उतारचढाव आयो तर उनी मेरो नर्स भएकैले थुप्रै पटक मेरो ज्यान बच्यो ।’

तर सन् २००७ मा दुर्व्यवहारको आरोप लगाउँदै एलेनले हकिङको साथ छोडिन् जसलाई उनले अस्वीकार गरे । यसरी हकिङले आफ्नो पारिवारिक जीवनमा पनि अनेकौं आरोह–अवरोह बेहोरे ।

हकिङले थुप्रै मानसम्मान पाएका छन् । १९८२ मा उनलाई ब्रिटेन साम्राज्यको कमान्डर पदवी दिइयो। यस्तै सन् २०१२ को पारा ओलम्पिक खेलकुदमा उनी सबभन्दा आकर्षक व्यक्तिका रूपमा रहे । हकिङलाई विश्वप्रसिद्ध नोबेल पुरस्कार भने दिइएको थिएन । त्यसको पनि खास आफ्नै कारण रहेको बताउँथे उनी ।

हकिङ अन्तरिक्ष र समग्र मानव–अस्तित्वबारे कडा अभिव्यक्ति दिन्थे । उनले पटकपटक मानव–अस्तित्वरक्षाका लागि चाल्नुपर्ने नयाँ कदम सुझाएका छन् । आणविक शक्तिको होड, कडा जीवाणु संक्रमणलगायत कारणले कुनै पनि बेला मानव–अस्तित्व संकटमा पर्ने उनकाे धारणा थियो ।

अनेकौं चुनौतीका बाबजुद कहिले नहार्ने हकिङले सधैं नयाँ–नयाँ खोज अनुसन्धान गरेर आफ्नो जीवन मानव–समुदायको हितमा लगाए ।

उनले पटकपटक भनेका थिए, ‘म खुसी छु किनकि ब्रह्माण्ड बुझ्न मैले आफ्नो भूमिका देखाएँ  ।’
०००
(सन् २०१८ मार्च १४ तारिखमा निधन भएका विश्वप्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको जन्मदिन  जनवरी ९ हो, एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्