२ जेष्ठ २०८१, बुधबार

 

चन्द्रकान्त पौडेलले दुर्व्यवहार गरेको भन्दै कुुँडुलेका ११ महिलाले गुहारे प्रशासन

बागलुङ नगरपालिका–४ कुँडुलेका महिलाले आफूहरूलाई गाउँकै एक युवकले दुव्र्यवहार र गाली–बेइज्जती गरेको आरोप लगाएका छन् । कुँडुले फेदीको तिरुपती बालाजी धाममा गएका बेला स्थानीय चन्द्रकान्त पौडेलले आफूहरूलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् ।

उनीहरूले मंगलबार जिल्ला प्रशासन पुगेर प्रमुुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई निवेदन बुझाएका हुन् । निवेदन दिनेमा बानपा–४ कुँडुलेका दिलकुमारी सापकोटा, शान्ति सापकोटा, विष्णु कँडेल, देवी आचार्य, सीता चापागाई, सीता शर्मा, सरस्वती सापकोटा, लक्ष्मी सापकोटा, प्रतीक्षा सापकोटालगायत ११ जना महिला छन् ।

उनीहरूले निवेदनमा पौडेलले आफूहरूलाई दुव्र्यवहार गरेको र मन्दिरमा जाने भक्तजनहरू पनि असुरक्षित भएको भन्दै उनलाई कारबाही गर्न माग गरेको जिल्ला प्रशासनका सूचना अधिकारी धीरेन्द्रराज पन्तले नयाँ विश्वलाई बताए ।

पौडेलले महिलामाथि दुव्र्यवहार गर्दै जथाभाबी बोलेको र जिउज्यानको असुरक्षा बढेकाले जिल्ला प्रशासनमा उजुरी दिएको दिलकुमारीले बताइन् ।

पौडेलले सोमबार दिउँसो १२ बजेतिर मन्दिरमा गई आफूलाई समेत अमर्यादित व्यवहार गरेको मन्दिरका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले नयाँ विश्वलाई बताए । मन्दिरमा आउने भक्तजनको सुरक्षा नभएको भन्दै उनले सुरक्षाको वातावरण मिलाइदिन माग गरेका छन् ।

गत साउनमा पौडेलले सामाजिक सञ्जालमार्फत पञ्चकोट, कँडुले मन्दिर र स्वामीहरूको सार्वजनिक छविमा आँच पु¥याएको र मानमर्दन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनलाई अबदेखि त्यस्तो नलेख्ने सर्त गराएर छाडेको श्री तिरुपति बालाजीधाम कुँडुलेका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले बताए ।

यसैबीच पौडेलले पनि आफू अन्यायमा परेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिएका छन् । दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई आवश्यक छलफल गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मन्दिरका विषयमा पौडेल र स्थानीयबीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप  भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्