२ जेष्ठ २०८१, बुधबार

 

सृष्टि फर्निचर पसलबाट उद्योगसम्मको यात्रा

लकडाउन खुकुलो भए पनि अत्यावश्यकबाहेक अन्य सामान खासै बिक्री हुँदैन भन्ने लागेको थियो, सरिता गौतमलाई । ‘तर मेरो अनुमान फेल खायो ।

असारपछि राम्रो व्यापार भयो,’ बागलुङ नगरपालिका–३, जिप पार्कस्थित सृष्टि फर्निचरकी प्रोप्राइटर उनले भनिन्, ‘फर्निचर, कार्पेटलगायत सामानको घर र संघसंस्थाहरूबाट अत्यधिक माग भयो ।’

उनका अनुसार अहिले फर्निचरको उत्पादन घटेको छ । कोरानाले गर्दा काम गर्ने जनशक्ति पनि धेरै छैन । धेरै कामदार घर गएका छन् । तर नभई नहुने कामदार भएकाले मागअनुसारको उत्पादन ग्राहकलाई पु¥याउन सकिएको छ ।

‘रिभल्बिङ चियर म्याग्दी, पर्वत, कास्की, तनहुँ, गोरखा, गुल्मी र अरू जिल्लाहरूमा मागअनुसार पठाएका छौं,’ उनले भनिन् । गौतमका अनुसार रिभल्बिङ चियरको उत्पादन सुरु भएपछि यसले राम्रो बजार लिएको छ । यसको कच्चा पदार्थ भारतबाट आउँछ ।

काठमाडौं, पोखरा, बुटवलका सामान यहीँ सुपथ मूल्यमा पाइने र मर्मतको पनि सुविधा भएकाले ग्राहकलाई धेरै सुविधा भएको छ ।उनको बुझाइमा हरेक घर होस् वा अफिस, डेकोरेसनले त्यसको रूप नै फेरिदिन्छ ।

डेकोेरेसनले नै घर वा अफिसलाई आकर्षक देखाउँछ । आवश्यक फर्निचरदेखि विभिन्न डिजाइनका सामग्रीको साजसज्जाले नै कोठाको आकर्षण बढाउँछ । तर, ठूलाठूला रूखका मुढालाई आकर्षक रूपमा काटेर त्यसबाट डेकोरेसनका सामग्री उत्पादन गर्नु त्यति सजिलो छैन ।

बागलुङ नगरपालिका–२ जिप पार्कमा रहेको सृष्टि फर्निचर एवं फर्निसिङ सेन्टर अहिले बागलुङ बजारमा लोकप्रिय उद्योगका रूपमा स्थापित भएको छ । झन्डै एक करोडको लगानीमा सुरु भएको फर्निचर व्यवसायले अहिले हजारौंको मन जितेको छ ।

३५ जनालाई रोजगारीसमेत दिएको फर्निचरमा उत्पादन हुने किचन, बेडरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेटलगायत सामग्री मुख्य आकर्षण बनेका छन् ।

यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, अफिस फर्निचर, होम अप्लाइन्सेज, होम डेकोर आदिका लागि आवश्यक सामग्रीसमेत एकै छानामुनि पाइने भएकाले यहाँ सेवाग्राहीको भीड लाग्ने गरेको गौतमको बुझाइ छ । सृष्टि फर्निचरले सामग्री उत्पादन मात्रै नभएर घर वा अफिसमै पुगेर पनि सेवा दिने गरेको छ ।

उनीहरूले २०६८ मा किराना पसल खोलेका थिए । त्यसमा राम्रो सफलता मिलेन । श्रीमान् ऋषि गौतम सोलार प्लान विक्रीवितरणको काम पनि गर्थे ।

दुवै व्यवसायबाट राम्रो सफलता नमिलेपछि कर्णबहादुर कार्कीसँगको सहकार्यमा उनीहरूले फर्निचर व्यवसाय सुरु गरे । बागलुङ बजारमै २०–२० लाख लगानी फर्निचर उद्योग सञ्चालन गरियो ।

‘त्यसमा सन्तोषजनक व्यापार भएन । त्यसपछि आफ्नै झन्डै एक करोडको लगानीमा सृष्टि फर्निचर एन्ड फर्निसिङ सेन्टर खोल्यौं,’ गौतमले सम्झिइन्, ‘अहिले यो व्यवसायमा ५,६ करोड लगानी भइसकेको छ । यसबाट राम्रै फाइदा पनि मिलेको छ ।’ बानपा–२ जिप पार्कमा यसको शोरुम छ ।

त्यहाँबाट नै उद्योगमा उत्पादन भएका सामग्रीको विक्रीवितरण हुँदै आएको छ । उद्योग उपल्ला चौरमा छ । गलकोटमा पनि शाखा विस्तार गरी त्यहाँका स्थानीयलाई समेत सेवा दिइँदै आएको छ । ‘शोरुम मैले जिम्मा लिएकी छु । श्रीमान्ले उद्योग र बजार हेर्नुहुन्छ,’ गौतमले भनिन् ।

उनीहरूले हटिया, जिपपार्कमा ५०–६० लाखको लगानीमा त्यस क्षेत्रका ग्राहकलाई लक्षित गरेर नयाँ फर्निचर उद्योग सञ्चालन गरेका छन् । केही महिनाभित्रै स्टिलका दराज पनि उत्पादन गर्दै छन् । ‘हामी चाहन्छौं– ग्राहकलाई चाहिने सबै प्रकारका सामग्रीका साथै समस्या समाधान गर्ने उद्योगका रूपमा विकसित हुन सकियोस्,’ ऋषिले भने ।

प्रतिक्रिया दिनुहोस्