२ जेष्ठ २०८१, बुधबार

 

ढोरपाटन बाढी : सामान जोगाउन खोज्दा आफैं जोगिएनन् गाउँले

साँझ ६ बजेको हुँदो हो । अँध्यारो छिप्पिइसकेको थिएन । भागीसरा विकका आँखामा टिलपिलाएको आँसु प्रस्टै देखिन्थ्यो । दुवाल हुँदै सुप्राङतिर लाग्दै गरेकी उनको अनुहारमा शोकबाहेक केही थिएन ।हामीलाई देख्नासाथ उनी झन् रुन थालिन् ।

बिलौना गरिन्, ‘अब मेरा माइती रहेनन्, भाइहरूलाई खोलाले बगाइदियो, मेरो घर–बारी बगायो ।’ केही समयपहिले मात्र ढोरपाटन गएकी थिइन् उनी ।

माइतीघर सधैंका लागि उजाडिएको उनलाई पत्तो थिएन । खबर पाऊन् पनि कसरी ? बाढीले विद्युत्गृह बगाउनुका साथै तत्काललाई मोबाइल फोनको टावरले समेत काम गर्न छाडेको थियो ।

फोनले काम गरेपछि बल्ल उनले थाहा पाइन् ।‘आज गोठमा काम गर्दै थिएँ, आफन्तलाई खोलाले लगेको दुई दिन भयो भन्दै फोन आयो,’ उनले भनिन्, ‘हामी मरेको छोराछोरीले थाहा नपाउने, छोराछोरी मरेको हामीले थाहा नपाइने भयो ।’

गत बुधबार पहिरोसँगै आएको आएको बाढीले सुप्राङमा गाँवै सोतर पा¥यो । विकका आफन्तसँगै थुप्रै गाउँलेले ज्यान गुमाए । उनीहरूमध्ये १४ जनाको शव भेटियो । बाँकी अझै बेपत्ता छन् ।

बस्ती बगरमा बदलिएको छ । कतैकतै घरका थोरै अवशेष मात्र देखिन्छ । लहलह बाली झुलिरहेका बारी कहाँ पुगे पत्तो छैन । भागीसरा पनि आफ्नो घर र बारी रहेको ठाउँ एक तमासले हेर्न थालिन् ।

उनको घर सुप्राङमा पनि छ । त्यहीँ बसोबास गर्ने माइतीहरू भने बाढीमा परे । दुवालबाट सात जना र घट्टचौरबाट छ जनालाई बाढीले बगाएको छ ।नरबहादुर विकको मनोदशा खगीसराकै जस्तो छ । उनी पनि त्यही साँझ बाटोतिर झर्दै थिए ।

( बागलुङको ढोरपाटन–९ मा बाढीले माइतीसँगै घरबारी गुमाएकी भागीसरा विक )

बाढीले उनका दाजुका छोराछोरी बगाइदियो । उनको पनि घर पहिरोले पुरियो । तर आफू ढोरपाटन बस्दै आएकाले जोगिए । ‘दाइका छोराछोरी खोलाले बगाएछ तर मलाई थाहा भएन, आज झर्दै छु,’ उनले भने, ‘राति ठूलो पानी प¥यो, हामी गोठमा थियौं, काममै बिजी भयौं, थाहा भएन ।’

खोलाको छेउबाटै सडक लगिएको र त्यहीँ घर बनाउँदा क्षति अहिले बेहोर्नुपरेको उनको बुझाइ छ । ‘धेरैजसोको घर ढोरपाटनमा पनि छ । हिउँदको ६ महिना बेसीमा र बर्खाको ६ महिना ढोरपाटन बस्छौँ,’ नरबहादुरले भने, ‘सबै जना बेंसीतिरै हुन्थे त १ सय ५० जनाको ज्यान जान्थ्यो ।’

सडकमा अव्यवस्थित रूपमा बसोबास गर्नाले पनि बाढी बस्तीमा पसेको स्थानीयको भनाइ छ । ‘खोलाको छेउमै घर बनाउँदा भौतिकसँगै मानवीय क्षतिसमेत भोग्नुप¥यो,’ काशीराम विकले भने ।

भागिसकेकाहरू फर्कंदा झन् क्षति

ढोरपाटन–९ का नमलाल पुन त्यस दिन सुतिसकेका थिएनन् । भुजीखोला चौथो लघु जलविद्युत्का अपरेटरसमेत रहेका उनी फिल्म हेर्दै थिए । अचानक खोला नजिकै सुसाइरहेझैं लाग्यो । बाहिर निस्केर हेर्दा खोलामा बाढी निकै उर्लिसकेको थियो ।

उनले हतार–हतार मोबाइल निकाले । त्यहाँ नम्बर ‘सेभ’ रहेका ३० जनाजति गाउँलेलाई फोनबाटै सचेत गराए । नजिकैका घरमा सुतिसकेकाहरूलाई उठाएर सुरक्षित ठाउँमा जान सुझाए ।

‘बाढीले जमिन कटान गर्दै गएको थियो,’ पुनले भने, ‘त्यत्तिकै बेलामा भागेर गएका भए मानवीय क्षति कमै हुन्थ्यो, कोहीले अटेर गरेर सामान निकाल्छु भन्दा बाढीले लग्यो ।’ पुनका अनुसार उनले स्थानीय मुक्तिराम बुढाको घरमै पुगेर उनीहरूलाई त्यहाँबाट अर्को घरमा पठाएका थिए ।
त्यहाँबाट लगत्तै राजकुमारको घरमा गए । उनीहरूलाई पनि ब्युँझाएर बाहिर निकाले । यति गर्दासम्म बाढी घरभित्रै पसिसकेको थियो । ‘तर उनीहरू ओढ्ने कपडा भए पनि निकाल्नुप¥यो भन्दै फेरि घरतिरै गए, नजाऊ भन्दा मानेनन्,’ उनले भने, ‘राजकुमारकी श्रीमती धनयामा र छोरालाई समेत बाढीले लग्यो ।’ उनका अनुसार बाढी आउँदै छ भन्ने सूचना दिँदादिँदै अटेर गर्दा मानवीय क्षति भयो ।

यस्तो थियो विपत्तिको पूर्वसंकेत

ढोरपाटन, देउरालीका कुलबहादुर पनि त्यस दिन सुतिसकेका थिएनन् । झमझम पानी झरिरहेको थियो । त्यहीँबाट उनले वडा नं ९ फुर्दममा पहिरो खसेको देखे ।

‘सानो पहिरो गएको केही समयपछि नजिककै ठाडो खोला उर्लेर आएको थियो,’ उनले भने । पहिरोले थुनिएको खोला बाँध फुटेपछि वरपरका रूखसमेत लडाउँदै ओरालिन थाल्यो । देउरालीनजिक खोला पाँच मिनेटजति थुनिएको थियो ।

तल गएपछि अर्को पहिरोले झन् थुनियो । त्यसपछि बाढीमा बस्ती आएको स्थानीय महिसरा श्रीषले बताइन् । उनी पनि रातभरि सुत्न सकिनन् । नजिकैबाट बगिरहेको बाढी उनको जमिन कटान गर्दै बगिरहेको थियो ।

हेर्दाहेर्दै पावर हाउससमेत बगायो । त्यहाँ रहेका धनकुमार पुन ५ मिनेटअघि मात्रै निस्किएकाले जोगिए । ‘विद्युत् खुलै थियो, केही समय पानी कम आयो,’ उनले भने, ‘तर त्यसपछि ठूलो स्वरले सुसाउँदै आएपछि आत्तिँदै पावर हाउसबाट निस्किएँ ।’

बाढीले वडा नं ९ मा सबैतिर क्षति गरेको छ । तर क्षतिको विवरण टिपिरहेका प्रहरीहरू आफ्नोतिर नआएको फल्लेघरका स्थानीयको गुनासो छ । ‘हाम्रो खेतीयोग्य जमिन र केहीको घर बगाएको छ,’ उनीहरू भन्छन्, ‘तर हामीसँग कोही आएका छैनन् ।’

स्थानीय चन्द्रबहादुर रसाइलीको पनि जमिन बगाएको छ । भन्छन्– ‘आलु र मकै लगाएको जमिन बगाएर लग्यो, अब बाटो कहिले खुल्ने हो थाहा छैन ।’

ढोरपाटन नगरपालिकाको बोबाङबाट त्यहाँसम्म सवारी पुग्दैनन् । बाढीले सडक नै बगाइदिएको छ । ‘किनेर खाने खाद्यान्नसमेत पाइँदैन, के खाने ? राहतको व्यवस्था पनि भएको छैन,’ मानबहादुर रसाइली भन्छन् । उनका अनुसार अहिलेसम्म त्यहाँ राज्यका कुनै संयन्त्र राहतका लागि पुगेका छैनन् ।

यति बेला पूरै भुजीखोला शोकमग्न छ । केही दिनअघिको हराभरा बस्ती अब खण्डहरझैं भएको छ । प्रभावित क्षेत्रमा पुगेर गृहमन्त्री रामबहादुर थापा तत्काल राहत उपलब्ध गराउने आश्वासन दिएर फर्किएका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्थायी बसोबासका लागि प्रदेश सरकारले एक लाख रुपैयाँ दिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्