२ जेष्ठ २०८१, बुधबार

 

महिलाहित सहकारीका सेयर सदस्यलाई अचार बनाउने तालिम

महिलाहित बचत तथा ऋण सहकारी संस्था बागलुङले आफ्ना सेयर सदस्यलाई अचार बनाउने तालिम दिएको छ । असोज ४ देखि थालिएको एकहप्ते तालिम सोमबार सकिएको छ ।

१८ जना सेयर सदस्य सहभागी रहेको तालिममा कागती, लसुन, खुर्सानी, खुर्सानीको लेदो, अदुवा, करेला, मासु र प्याज गरी सात प्रकारका अचार बनाउन सिकाइएको थियो ।

तालिमको सहजीकरण प्रशिक्षक ज्योत्स्ना शाक्यले गरेकी थिइन् । महिलालाई आत्मनिर्भर र व्यवसायी बनाउन तालिम आयोजना गरिएको संस्थाकी अध्यक्ष लीलादेवी खड्काले बताइन् ।

सहभागीले बनाएका अचार बिक्रीका लागि बजार व्यवस्थापन पनि संस्थाले गरिदिने उनको भनाइ छ । संस्थाकी ज्येष्ठ सेयर सदस्य कुमारी रानाले घर–परिवारका लागि दैनिक खाना बनाउने महिलाले अचारजस्ता परिकार बनाएर बिक्री गरी आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्ने बताइन् ।

तालिमको समापनमा संस्थाका सल्लाहकार खड्ककुमारी खड्का, प्रशिक्षक ज्योत्स्ना शाक्य, तालिमका सहभागी गोमा छन्त्याललगायतले धारणा राखेका थिए । २०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।

२५ जना महिलाको २५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल ११ सय सेयर सदस्यको २ करोड ४५ लाख ७४ हजार रुपैयाँ सेयर पुँजी छ ।

यसै गरी संस्थामा ७ करोज २४ लाख ९० हजार ९ सय रुपैयाँ कर्जा लगानी र ७ करोड ९१ लाख ७ हजार ५ सय ७४ रुपैयाँ बचत रहेको संस्थाकी प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिइन् ।

सहकारीले संस्थाका सदस्यको क्षमता अभिवृद्धिका लागि प्रौढ कक्षा, ब्युटिपार्लर, बालशिक्षादेखि लैंगिक हिंसा न्यूनीकरणसम्मका ४६ वटा तालिम सञ्चालन गरिसकेको छ ।

भविष्यमा पनि शेयर सदस्यहरुको हितमा जिवन उपयोगी तालिमहरु राखेर आर्थिक बजारमा काम गरेर खाने वातावरण महिला सहकारीले राखेको संस्थाका अध्यक्ष लिलादेवी खड्काले नयाँ विश्वलाई बताइन ।

प्रतिक्रिया दिनुहोस्