२ जेष्ठ २०८१, बुधबार

 

मृगौलापीडित बोहोराको उपचारका लागि सहपाठीले जुटाइदिए १ लाख ७४ रुपैयाँ सहयोग

बागलुङ नगरपालिका–१ रामरेखाकी एक मृगौलापीडित महिलालाई विद्यार्थीजीवनका सहपाठीहरूले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

दुई वर्षदेखि उपचार गराइरहेकी दिलमाया बोहोरालाई सहपाठीहरूले १ लाख ७४ हजार ३ सय ८४ रुपैयाँ सहयोग जुटाइदिएका हुन् । विद्यामन्दिर मावि र धवलागिरि वीरेन्द्र माविका २०४४ र २०४५ सालको एसएलसी ब्याचका र धौलागिरि बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थीहरु ५८ जनाभन्दा बढीको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।

सहयोग रकम बोहराका साथीहरु साथीहरु मनोज शाक्य, जयराम भारी र रुद्र महतले बोहोराको घरमै पुगेर हस्तान्तरण गरेका थिए । रोजगारीको सिलसिलामा बागलुङ, पोखरा, काठमाडौंका साथै अमेरिका, बेल्जियमलगायत देशमा पुगेका सहपाठीहरूले बोहोराको उपचारका लागि सहयोग गरेका हुन् ।

बोहराको उपचारमा सहयोग पुगोस भनेर देशविदेशमा रहेका साथीहरुले आर्थिक सहयोग संकलन गरेर साथीलाई दिन पाउदा धेरै खुशि लागेको सहयोग संकलनमा समन्वय गर्नु भएको मनोज शाक्यले नयाँ विश्वलाई बताए ।

दुई वर्षदेखि मृगौलाको समस्याले पीडामा रहेकी बोहोराको उपचार सहज होस् भनेर रकम जुटाइएको जयराम भारीले बताए । रकम बुझ्दै वोहोराले सहयोग गर्ने साथीहरूलाई धन्यवाद व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्