५ जेष्ठ २०८१, शनिबार

 

सिवाईसी सहकारीद्वारा ई–टेलर सेवा सुरु, बिनाचेक पैसा झिक्न सकिने

बागलुङ सदरमुकाममा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले ११औं समृद्धि दिवसको अवसर पारेर उक्त सेवा सुरु गरेको हो ।

ई–टेलरमार्फत ग्राहकले चेक प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग इन गरेर काउन्टरमा भएको क्यूआरकोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।

मोबाइल एपबाट दैनिक एक लाख र एक महिनामा १० लाखसम्म भुक्तानी पाउने नीति सहकारीले बनाएको छ ।सेवा शुभारम्भ गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहकारीले ल्याएको कार्यक्रम प्रभावकारी भएकाले यसलाई दिगो बनाउन जरुरी भएको बताए ।

त्यस्तै बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सीवाईसीले गरेको कार्य प्रशंसनीय रहेको भन्दै सहकारीलाई उत्पादनसँग जोड्न सके समृद्धि ल्याउन मद्दत पुग्ने जनाए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले सहकारीले ल्याएका कार्यक्रम प्रभावकारी भएकाले यसलाई अझै सदस्यमैत्री र पारदर्शी बनाएर जानुपर्ने धारणा राखे ।

सहकारीले यसअघि रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, एटीएम, क्युआरकोड, मिस्डकल बैंकिङ सेवा, ट्यालेट बैंकिङ, सुत्केरी पोषण सुविधा, ज्येष्ठ नागरिक पेन्सन सुविधा, एकल महिला पेन्सन सुविधा, चौरासी पूजा सुविधा, नयाँ बुहारी स्वागत कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, औषधी–उपचार सुविधा, दुर्घटना राहत सुविधा, प्राकृतिक प्रकोप राहत सुविधा, बिमा सुविधालगायत योजना ल्याएको छ ।

११ हजार ७ सय २४ सेयर सदस्य, २१ करोड ९८ लाख १८ हजार सेयर पुँजी, १ अर्ब २७ करोड ८० लाख बचत रहेको संस्थाले ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ रुपैयाँ लगानी गरेको छ ।

दायित्वरहित कोष ६ करोड ७२ लाख ४९ हजार ४ सय ६१ रुपैयाँ रहेको सहकारीको कुल सम्पत्ति १ अर्ब ७१ करोड ४१ लाख ५४ हजार ४६ रुपैयाँ छ । सहकारीको मुख्य कार्यालयसहित जिल्लाका ११ स्थानका सेवा केन्द्रमा ६६ जना जनशक्ति कार्यरत रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, सहसचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

समृद्धि दिवसका अवसरमा सहकारीले बुधबारै सहकारीका सदस्यहरूलाई लक्षित गरी ‘सदस्य शिक्षा कार्यक्रम’ समेत सम्पन्न गरेको छ । बिहीबार बागलुङ नगरपालिका–४ रमेटारमा डस्टविन वितरण, पूर्वसञ्चालक भेटघाट तथा अन्तरक्रिया, असल सदस्य परिचयपत्र वितरण, गाउँ टोल अभिमुखीकरण, सबै जुटौं–कोही नछुटौं, घरदैलो कार्यक्रम हुने सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्