२ जेष्ठ २०८१, बुधबार

 

मानव सेवा आश्रमलाई समाजसेवी श्रेष्ठद्वारा ५० हजार रुपैयाँ सहयोग

बागलुङ समाज कल्याण केन्द्र महिला समूहकी कोषाध्यक्ष तथा इनर ह्विल क्लब अफ बालाजुकी कार्यसमिति सदस्य मन्दिरा श्रेष्ठले मानव सेवा आश्रमलाई आर्थिक सहयोग उपलब्ध गराएकी छिन् । काठमाडौं, वटुनिवासी उनले ५० हजार नगद सहयोग गरेकी हुन् ।

मानवसेवा आश्रम काठमाडौं शाखाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा श्रेष्ठले उक्त सहयोग गरेकी हुन् । ‘आश्रमले घरभाडासमेत तिर्न नसकेको र काठमाडौं महानगरपालिकाबाट आउने सहयोग पनि रोकिएको थाहा पाएपछि सामाजिक उत्तरदायित्व महसुस गरी रकम उपलब्ध गराएकी हुँ,’ श्रेष्ठले भनिन् ।

उनले आश्रममा रहेका दुई जनाको अभिभावकत्व पनि लिएकी छिन् । श्रेष्ठले आश्रितहरूको पालनपोषण र औषधोपचारमा सघाउन मासिक दस हजार रुपैयाँ सहयोग पनि गर्दै आएकी छिन् । ‘मैले श्रीमान् मथुरा श्रेष्ठ र छोरा अनमोलसँग सल्लाह गरेर यस्तो आपतको बेला आश्रमलाई सानो सहयोग उपलब्ध गराएकी हुँ,’ उनले भनिन् ।

विद्यालय, सामुदायिक भवन, खानेपानी, धार्मिक क्षेत्रका संरचना निर्माणमा पनि सघाउँदै आएको श्रेष्ठ परिवारले देशमा दैवी प्रकोप पर्दा पनि सहयोग गर्दै आएको छ ।

श्रेष्ठले यसअघि असार २५ र २६ गते म्याग्दीमा आएको बाढीपहिरोले विस्थापित भएकाहरूलाई खाद्यान्न, लत्ताकपडा, औषधि र नगद सहयोग गरेकी थिइन् । धौलागिरि गाउँपालिका–७ मराङ, धारापानी र मालिका गाउँपालिका–७ को बिम गाउँमा पुगेर उनले २ सय ५० परिवारलाई राहत बाँडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्