५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ सदरमुकाममा सुपथ मुल्य सहकारी पसल

सरकारले देशमा खुलेका सहकारी संघसंस्थालाई उदेश्य अनुसार काम गर्न निर्देशन दिएपछि बागलुङ सदरमुकाममा रहेको एक सहकारीले सुपथ मुल्य सहकारी पसल संचालनमा ल्याएर आम उपभोक्तालाई सेवा दिन शुरू गरेपछि ग्राहकको आकर्षण बढेर गएको छ ।

बागलुङ सदरमुकाममा २०५७ सालमा स्थापना भएको बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो शेयर सदस्य तथा आम उपभोक्तालाई सेवा दिने उदेश्यले े सुपथ मुल्य सहकारी पसल संचालन गरेपछि पसलमा उपभोक्ताको भिड लाग्ने गरेको छ ।

सरकारले चाडपर्व लाई लक्षित गरि सुपथ मुल्यको पसल सिमित समयलाई संचालन गर्ने गरेको भए पनि सहकारीले सुपथ मुल्य पसल संचालन गरेको छ ।

सहकारीको उदेश्य अनुसार काम गर्नुपर्ने निति सरकारले ल्याएपछि बागलुङ सदरमुकाममा ३ बर्ष अघि बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मुल्यमा बिक्रीवितरण गर्ने गरी सुपथ पसल संचालन गरेसंगै पसलमा ग्राहकको आकर्षण बढेर गएको हो ।

बजारको अन्य पसलमा भन्दा हरेक दैनिक उपभोग्य किराना सामाग्री खरिद गर्दा २ देखी ४ रूपैयाँ सहुलियतमा पाउने भएको कारणले पनि उभोक्ताको भिड लाग्ने गरेको सुपथ मुल्य सहकारी पसलका कर्मचारी बिना केसीले बताए ।

२०७४ सालदेखि बिषयगत सहकारीले उदेश्य अनुसार काम गर्नुपर्ने निति ल्याएपछि सहकारीले सुपथ मुल्य पसल संचालन गरेको छ । ६४० शेयर सदस्य रहेको सहकारी पसलमा नुन चिनी चामल दाल चिया तेल देखि आम उपभोक्ता लाई आबश्यक पर्ने दैनिक उपभोग्य सामाग्री बिक्री हुने गरेको सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले वताए ।

सहकारीको सुपथ मुल्यको पसलमा खोजे अनुसारको सामग्री पाइने भएको हुनाले आफुहरू लाई धेरै सहज भएको सहकारीका शेयर सदस्य तथा उपभोक्ताहरू बताउँछन् ।

बिहान ७ बजेदेखि बेलुका ६ ः३० बजेसम्म खुल्ने सहकारी पसलमा ३ जना स्थानीय महिलाले रोजगारी समेत पाएका छन् । पसलमा कम्प्युटर प्रणाली बाट बिलिङ गर्ने हुदा हिसाबकिताब समेत चुस्त दुरूस्त हुने कारणले पनि पसलले बजारमा राम्रो प्रभाव पारेको देखिन्छ ।

सहकारीका शेयर सदस्यले पाउने शेयर लाभांशको ५ प्रतिशत अनिवार्य रूपमा यहीँ पसलबाट सामान खरिद गरेर लैजानुपर्ने नियम भएको कारणले पनि सहकारी पसलमा राम्रो व्यापार भएको देखिन्छ ।

सरकारले मात्रै चाडपर्व लाई लक्षित गरि सुपथ मुल्यको पसल केही समयलाई चलाएर तामझाम देखाउनु भन्दा देशभर संचालित सहकारीहरूलाई उदेश्य अनुसार यस्तै खालको सुपथ मुल्यका पसल खोल्न अनिवार्य गराउने हो भने राम्रो हुने देखिन्छ ।

जिल्लामा रहेका दर्जनौं सहकारी संस्थाहरूले आफनो उदेश्य बाहिर रहेर ऋण तथा बचतको काम कारोवार गर्दै आएका छन् । साच्चै समृद्ध नेपाल सुखी नेपालीको नारा ब्यबहारिक रूपमा लागू गर्ने हो भने उत्पादनमूलक काम करोवार गर्ने योजना र सोच बनाउन आवश्यक छ । हैन भने समृद्धिको नारा नारामा सिमित हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्