६ जेष्ठ २०८१, आईतवार

 

हो… त्यहीँ भेटिन्छु म

कहाँ छौ तिमी ?
म जहाँ छु त्यहाँ तिमी छैनौ
तिमी जहाँ छौ त्यहाँ म पनि
देखिन्नँ होला सायद ।
म अलि एकान्तमै छु
सायद झट्ट भेटिन्नँ म अहिले
तिमीलाई थाहा छ नि
हिजोआज कोरोनाले
संसार एकैचोटि हल्लायो
सारा जीवन क्षतविक्षत बनायो
गरिबी त यसको सिकार थियो नै
पैसा र शक्तिको आडमा
डकार्नेहरूलाई पनि तर्सायो यसले
घरघरमा अनि जजनजनमा
त्रासदी बर्सायो यसले,
उद्योग–धन्दा, कलकारखाना
चल्न दिएन
धेरैलाई रोजगारीमा जान दिएन
कैयौं बस्तीको चुल्होमा
आगो बल्न दिएन
विद्यार्थीलाई स्कुल जान दिएन
शिक्षकलाई पढाउन जान दिएन
हामीलाई पनि एक्लै हिँड्ने बनायो
अलग–अलग जिउने बनायो
अरू त छोड तिमी बिरामी हुँदा
मलाई भेट्न जान दिएन
अस्पतालको बेडबाट
आफन्तको याचना गरेको बेला
मलाई भेट्न जान दिएन,
अस्पतालको झ्यालबाट
टुलुटुलु हेर्दै आफन्तको
प्रतीक्षा गरेको बेला
मलाई भेट्न जान दिएन,
तिम्रो याद थाम्नका खातिर
बनाएको आफ्नै मनको बाँध
भत्किनै लाग्दा पनि
मलाई भेट्न जान दिएन
ओखतीमूलो लैजान दिएन
पीडाले जलेको तिम्रो
मन छाम्न दिएन
अविरल बगेका आँसुका ढिक्का
थाम्न दिएन
आँसुले लुछुप्प भिजेको
तिम्रो प्रेमिल अनुहार
सुमसुम्याउन दिएन,
बस्तीका आफन्तसँग
भेटघाट गर्न दिएन
दसैंका बेला मान्यजनको
आशीर्वाद थाप्न दिएन
तर्साउनसम्म तर्सायो
कुन जुनीको पापले हो कुन्नि
दुनियाँलाई
मुखै छोपेर हिँड्ने बनायो
धन्य रहेछौ कान तिमी
तिमी नै नभएको भए
दुनियाँको मुख कसरी
छोपिन्थ्यो होला
अनि कोरोना कहरबाट
कसरी जोगिन्थ्यो होला
तिमिलाई नमो नमः
यति बेला
कैयौं आफन्तहरू परलोक गए
तिनको मलामी जान दिएन
उनका नातेदारलाई
अन्तिम इच्छा सोध्न दिएन
धर्म–संस्कारअनुसारको
कर्म गर्न दिएन
छोराछोरीलाई मुख हेर्न दिएन
नजिकमा बसेर रुन दिएन
आफ्नै जन्मदाताको
मृत शरीर छुन दिएन
आफन्तहरू जम्मा भएर
शव यात्रा चलाउन दिएन
मृत्यु–संस्कारअनुसार
चितामा राखेर जलाउन दिएन
गर्नु ग¥यो कोरोनाले
तर केही छैन
कोरोनाको कहरसम्म
फेरि पनि
म जहाँ छु त्यहीँ रमाउँला
तिमी जहाँ छौ त्यही रमाऊ
समाऊ कलम र लेख
कोरोना मुक्तिका सन्देशहरू
स्वास्थ्य र सुरक्षाकर्मीप्रति
सम्मानजनक शब्दहरू लेख
उनीहरूलाई आँट र साहस देऊ
आत्मबल बढाऊ
आफू सुरक्षित बस
विनाकाम बाहिर नजाऊ
मेरो यादले सताएछ भने
आफैंभित्र हुर्केको यादरूपी रुखको
‘डाली डालीमा तिमी छौ’
भनेर मनोगत कविता लेख
विगतका रमाइला र अविस्मरणिय
क्षणहरूको सँगालो लेख
जीवनका भोगाइलाई
सिर्जनाको फूल बनाऊ,
कोरोनाको समयलाई
सिर्जनाको मूल बनाऊ,
तिमीलाई याद छ नि
बितेका ती कैयौं रमाइला
क्षणहरूमा रमाउँदा
आफैंलाई बिर्सेका पलहरूलाई
जिन्दगीको गोरेटोमा लेख
बाल्यकालमा धुलो खेलाउँदा र
हाँस्दै, खेल्दै स्कुल जाँदाका
रमाइला क्षणहरू लेख,
घाँस, दाउरा, वन, जंगल गर्दाका
यादगार सम्झनाहरू लेख
मेलापात गर्दा
र वस्तुभाउ चराउँदाका
अवस्मरणीय यादहरू लेख
गोधूलि साँझको यात्रामा
उकाली–ओराली गर्दा
उनेका सपनाहरू लेख,
जुनेली रातमा रोपेका
पिरतीका फूलहरू लेख
विगत भोगाइका रमाइला
क्षणहरू सम्झ अनि त्यही बेला
मन–मस्तिष्कमा चित्रांकित
रंगीन पानाहरू पल्टाऊ त
हो… त्यहीँ भेटिन्छु म ।

( सुवेदी बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत र सूचना अधिकारी हुन ।)

प्रतिक्रिया दिनुहोस्