५ जेष्ठ २०८१, शनिबार

 

हामी देवकोटाकै विचारहरूका प्रोडक्ट हौं : बीपी कोइराला

प्रतिनिधिसभाका सभामुख कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा २०१६ भदौ ३० गते मंगलबार दिउँसो तीन बजे बैठक प्रारम्भ भयो । प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सदनमा भने, ‘नेपाली साहित्य जगत्का एक महान् विभूति महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाको असामयिक

निधनबाट देशलाई हुन आएको ठूलो क्षतिउपर यो सदनले हार्दिक दुःख प्रकट गर्दै, उहाँको दिवंगत आत्माको शान्तिका लागि आन्तरिक कामनाका साथै उहाँको सन्तप्त परिवारका प्रति समवेदना प्रकट गर्दछु ।’

आफू स्वयं लेखक तथा साहित्यकारका रूपमा स्थापित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले देवकोटाबारे सदनमा थपे, ‘यो सभाका प्रत्येक माननीय सदस्यलाई थाहा भएको कुरा हो, हिजो नेपालको सबभन्दा ठूलो साहित्यिक मलाई त यो भन्नामा अत्युक्ति लाग्दैन कि नेपाली साहित्यको इतिहासको सबभन्दा ठूलो व्यक्तिको हिजो निधन भयो ।

हामीहरू उहाँकै साहित्यको छत्रछायामा हुर्केका हौं जस्तो लाग्दछ ।’ देशको प्रधामन्त्रीबाट म उहाँको छत्रछायामा छु भन्ने अभिव्यक्ति आउनु देवकोटाको विराट् र स्वीकार्य व्यक्तित्वको वियोगको क्षणको क्षणिक मूच्र्छना मात्र नभएर उनीप्रति ठूलो सम्मानभाव पनि हो ।

अन्त्यमा प्रधानमन्त्री कोइरालाले सदनमा प्रस्ताव गरे, ‘स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा अब सभा स्थगित होस् ।’बीपी सदनमा अघि बढ्छन्, ‘उहाँले नै जुन एउटा नयाँ दृष्टिकोण साहित्यमा दिनुभयो, नयाँ भावना र नयाँ विचारहरू साहित्यमा दिनुभयो, त्यसैका हामी पनि प्रोडक्ट हौँ ।

यो सभामा उपस्थित हुनुभएका माननीय सदस्यहरू पनि उहाँलाई गुरु मान्दथे र त्यस्तो ठूलो व्यक्तिको हिजो मृत्यु भयो । म उहाँको मृत्युलाई हठात् भन्न सक्दिनँ ।’

आफूलाई भविष्यमा अविश्वास गर्ने मानिस होइन भन्दै प्रधानमन्त्री बीपी झनै भावुक भएको देखिन्छ । उनी भन्छन्, ‘हामीहरूको इतिहासमा, साहित्यिक इतिहासमा पनि यत्रो ठूलो साहित्यिक जन्मेको थिएन । उहाँको क्षतिको पूर्ति हुन धेरै गाहारो पर्नेछ ।’

( विसं २०१६ भाद्र ३० गते मंगलबार दिउँसो ३ बजे बसेको प्रतिनिधि सभाको तत्कालिन प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाले साहित्यकार देवकोटाको असमायिक निधनमा प्रस्तुत शोक प्रस्तावको पूर्ण पाठ )

प्रतिक्रिया दिनुहोस्