६ जेष्ठ २०८१, आईतवार

 

एकता सहकारी एकीकरण अभियानमा, शेयर पूँजी ७ करोड पुग्यो

बागलुङका दुई ठूला र पुराना सहकारीबीच एकीकरण हुने भएको छ । एकता सहकारी संस्था र बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाकाबीच एकिकरण घोषणा भएको हो ।

शनिवार एकता सहकारी संस्थाको २२ औं साधारणसभामा सदरमुकाममा क्रियाशिल चार सहकारी संस्थाका बीच एकिकरण गर्ने प्रस्ताव पारित भएकोे हो ।

एकता, बागलुङ, कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारी, र न्यूलाईफ उपभोक्ता सहकारी संस्थाले एकिकरणको घोषणा गरेका हुन् । शेयर पुँजीलाई एकिकृत गर्दै उद्देश्य अनुरुपको काम गर्ने उद्देयले सहकारीहरु एकिकरणमा लागेको एकता सहकारीका सचिव महेशचन्द्र प्रधानले बताए ।

सहकारीहरुको बीचमा एकताका लागि आवश्यक प्रकृया अघि बढेको सहकारीले जनाएको छ ।बागलुङ बजारमा बचत तथा ऋणको कारोवार गर्दै आएको एकता सहकारी संस्थाले गत आर्थिक बर्षमा ७६ लाख २४ हजार रुपैयाँ मुनाफा कमाएको छ ।

९४ करोड ८४ लाख ९३ हजार २ सय ५७ रुपैयाँको करोवार गरेको सहकारीले उक्त अंकको मुनाफा कमाएको हो ।शेयर पूँजी ७ करोड पुगेको छ ।

सहकारीले शनिवार आफ्नो २२ औं साधारणसभा मार्फत आम्दानी, खर्च, कारोवार र मुनाफा सार्वजनिक गरेको हो । आगामी आर्थिक बर्षका लागि एक अर्ब ३४ करोड, ४७ लाख करोवार र १ करोड ७७ लाख ६४ हजार रुपैयाँ मुनाफा प्रस्ताव गरिएको छ । सहकारीले शनिवारनै शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको छ ।

साधारणसभा सकिंदासकिंदै शेयर सदस्यका खातामा जम्मा हुनेगरी लाभांश वितरण गरिएको प्रबन्धक दिपक राजभण्डारीले बताए । यो बर्ष ३।३३ प्रतिशत लाभांश शेयर सदस्यका लागि वितरण गरिएको हो ।

साधारणसभाको उद्घाटन गर्दै संरक्षक देव बहादुर श्रेष्ठले उद्देश्य मिल्ने सहकारी एकैठाउँमा भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्दराज भण्डारी, शेयर सदस्य अनुप रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले सचिव महेशचन्द्र प्रधानको प्रगती प्रतिबेदन र कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीको आर्थिक प्रतिबेदन सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, सचिव महेशचन्द्र प्रधानको सञ्चालन र महेन्द्र प्रसाद कँडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्