६ जेष्ठ २०८१, आईतवार

 

सीवाईसी र नमस्ते सहकारी एकिकरणपछि एटिएमसहितको सेवा दिने

बेनीस्थित नमस्ते बहुउद्देश्यीय सहकारी र बागलुङको सीवाईसी बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरणसँगै एटिमसहितको सेवा शुरु गरिने भएको छ ।

एकिकरणपछि बेनीको क्याम्पसचोकमा रहेको नमस्ते सहकारीको कार्यालयबाट सीवाईसीको सदस्य सेवा केन्द्रका रूपमा एटिएमसहित अत्याधुनिक सेवा सञ्चालन गर्ने सहकारीले जनाएको छ ।

सहकारीले बेनीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार सहकारीको एकिकरण र सेवा केन्द्रको औपचारिक शुभारम्भ गरिने केन्द्रका संयोजक तुलसीनाथ सुवेदीले जानकारी दिए ।

एकिकरणपछि नमस्ते सहकारीको सञ्चालक समिति सीवाईसीको सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन उपसमितिका रूपमा रहने सहमति भएको छ । नमस्ते सहकारीमा ७४ जना सेयर सदस्यको १ करोड १२ लाख रुपैयाँ सेयर पुँजी थियो ।

बेनीमा सञ्चालन हुने सीवाईसीको १७ औँ सेवा केन्द्रमा एटिएम काउन्टरसमेत राख्ने तयारी गरिएको सिवाईसीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।

हुनेखानेको पैसा हुँदा खानेसम्म पु¥याउने र हुँदा खानेलाई हुनेखाने बनाउने उद्देश्यले सीवाईसीले आफ्नो सेवालाई प्रभावकारी बनाउँदै आएको उनले बताए । सहकारीको बेनीमा रहने सदस्य सेवा केन्द्रको बुधबार गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्