६ जेष्ठ २०८१, आईतवार

 

कोभिड प्रभावित ट्रेकिङ गाइडलाई खुम्बुमै पुगेर प्रभु बैंकले दियो सहुलियत ऋण

दावा फुन्जा शेर्पा ट्रेकिङ गाइड हुन् । कोभिड महामारीअघि उनी विभिन्न मुलुकका पर्यटकलाई खुम्बु क्षेत्र घुमाउँथे । एक वर्षयता भने घरमै बसिरहेका छन्, पर्यटक आएका छैनन् ।

वैकल्पिक पेसा नभएर छटपटिएका उनलाई प्रभु बैंकले बिनाधितो सहुलियत ब्याजमा १ लाख रुपैयाँ उपलब्ध गरायो । त्यसयता भने केही राहत महसुस गरेका छन् । उनले भने, ‘एक वर्षसम्म यत्तिकै बसिरहेको थिएँ, अझै पर्यटक कहिले आउने थाहा छैन, थोरै रकम भए पनि राहतको महसुस भएको छ, यसले बैंकसँग जाने बाटो पनि खुल्यो ।’

कोभिडका कारण पर्यटक नआउँदा आम्दानी गुमाइरहेका खुम्बु क्षेत्र वरिपरिका २४ जना पर्यटक तथा ट्रेकिङ गाइडलाई सोलुखुम्बुको फाक्डिङमा बुधबार आइडिया स्टुडियोको सहकार्यमा प्रभु बैंकले बिनाधितो सस्तो ब्याजमा कर्जा उपलब्ध गरायो । प्रभु बैंक र आइडिया स्टुडियोको सहकार्यमा यसअघि कोभिड प्रभावित शिक्षक र टेम्पो चालकलाई यस्तो ऋण उपलब्ध गराइएको थियो ।

गत वर्षको माउन्टेन ट्रेकिङको सिजन ठप्पै भयो । विदेशी पर्यटक त के घरेलु पर्यटकसम्म हिँडडुल गर्ने अवस्था थिएन । खुम्बुक्षेत्रका पर्यटक तथा ट्रेकिङ गाइडको एक वर्षभन्दा बढी समय सुनसानमै बित्यो । तत्काल वैकल्पिक पेसा वा व्यवसाय गर्ने विषयमा पनि उनीहरू अलमलमै थिए । पर्यटन क्षेत्र बिस्तारै उकासिने आशामा रहेका उनीहरू अझै पर्यटनले लय नसमात्दा आर्थिक समस्यामै छन् ।

कोभिडले नराम्रोसँग असर पारेको क्षेत्र पहिचान गरी प्रभु बैंकले बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने क्रममा खुम्बुका ट्रेकिङ गाइडलाई पनि प्राथमिकतामा राखेको हो ।

सोलु, सुर्केका पासाङ दावाले पर्यटन क्षेत्र प्रभावित भएको र त्यसमा पनि आफूहरू अति प्रभावित भइरहेका बेला प्रभु बैंकले दैलोमा आएर सस्तो ब्याजमा ऋण उपलब्ध गराएर आत्मविश्वास बढाइदिएको बताए । ‘अब बिस्तारै पर्यटन क्षेत्रमा पनि केही आशा गर्ने अवस्था आउँदै छ, यो बेला सामान्य केही गर्नका लागि ऋणले सहज बनाएको छ,’ उनले भने ।

ट्रेकिङ गाइडका अगुवा कामी दोर्जे शेर्पाले महामारीका कारण आम्दानी नभएको अवस्थामा प्रभु बैंक र आइडिया स्टुडियोले घाउमा मल्हम लगाइदिएको बताए । ‘खुम्बु क्षेत्र सबैभन्दा बढी पर्यटक गाइड भएको क्षेत्र हो, अर्थतन्त्र डाउन भएको बेला हामी पनि प्रभावित भएका छौं तर प्रभु बैंकले हामीलाई सम्झियो,’ उनले भने ।

सोही क्षेत्रमा भएका बैंकले नसम्झेका बेला प्रभुले काठमाडौंबाट आएर राहतका लागि हात अगाडि बढाउनु सुखद भएको उनले बताए । ‘यहाँ धेरैभन्दा धेरै गाइड प्रभावित भएकाले अझ बढी पर्यटक गाइडलाई सहुलियतमा ऋण उपलब्ध गराउनुपर्ने अवस्था छ,’ शेर्पाले भने ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहुलियत ऋण कोभिड प्रभावितहरूलाई सानो सहयोग मात्र भएको जनाउँदै बैंक सधैं यस्तो सेवा दिन तत्पर रहेको बताए ।‘विश्व बजारमा देखिएको कोरोना महामारीका कारण अर्थतन्त्र र विशेष गरी पर्यटन क्षेत्रमा प्रभाव पार्‍यो ।

यस्तोमा समस्यामा परेका ट्रेकिङ गाइडलाई प्रभु बैंकले केही राहतका लागि यो ऋण उपलब्ध गराएको हो । ऋण लिने र यसको प्रयोग गर्नेका साथै आगामी दिनमा बैंकसँग कसरी नजिक हुने भन्ने यो एउटा वित्तीय साक्षरता पनि हो,’उनले भने । खुम्बु क्षेत्रमा स्याउ, आलु, चिजलगायत कृषि उपजको पनि सम्भावना रहेकाले कोही–कसैले यसमा सहकार्य गर्न खोजे प्रभु बैंक सधैं तयार रहेको उनले बताए ।

आइडिया स्टुडियोका संस्थापक डा। छिरिङ लामाले कोभिडका कारण दैनिक मजदुरी गर्नेहरूदेखि लिएर ठूला व्यवसायी पनि समस्यामा परेको, रोजगारी गुमेको अवस्था रहेकाले अति प्रभावित क्षेत्रको अनुसन्धान र पहिचान गरी प्रभु बैंकसँगको सहकार्यमा ऋण उपलब्ध गराउन साझेदारी गरेको बताए । ‘हाम्रो उद्देश्य भनेको यस्तो क्षेत्रमा सहुलियतपूर्ण ऋणका लागि सहजीकरण गरेर मानवीय मर्यादा कायम गर्नु पनि हो । यसैका लागि हामीले खुम्बु क्षेत्रका ट्रेकिङ गाइडका लागि प्रभु बैंकसँगको सहकार्यमा काम गरेका हौं,’ उनले भने ।

बैंकले बिनाधितो ३ दशमलव ५ प्रतिशतमा ऋण उपलब्ध गराएको हो । बैंकले ऋणको किस्ता ६ महिनापछि तिरे हुने सुविधा पनि दिएको छ । बैंकले अब सडकमा सानो व्यवसाय गर्ने र सैलुन पसल गर्नेहरूलाई पनि ऋण दिन आइडिया स्टुडियोसँग मिलेर अध्ययन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्