६ जेष्ठ २०८१, आईतवार

 

लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्दै बैंक

विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्न लागेका छन् । बैंकहरूले २२ अर्ब ४५ करोड रुपैयाँ बराबरको २ करोड २४ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।

ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ छ । यसका लागि बैंकहरूले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बैंकहरूले न्यूनतम ६ देखि १५ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्दै छन् ।

ऋणपत्रको ब्याजदर न्यूनतम ४ देखि अधिकतम ९ प्रतिशतसम्म दिने प्रस्ताव बैंकहरूले गरेका छन् । ऋणपत्र निष्कासन गर्नेमा नबिल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, प्रभु बैंक, सेन्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र ग्लोबल आईएमई बैंक छन् ।

रकमका आधारमा सबैभन्दा कम सांग्रिला डेभलपमेन्टको र बढी प्रभु बैंकको छ । सांग्रिलाले ७५ करोड र प्रभुले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कास गर्न लागेका छन् ।

बैंकहरूलाई लगानीयोग्य पुँजी संकटको अवस्था आएपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट चुक्तापुँजीको २५ प्रतिशतबराबर ऋणपत्र निष्कासन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको निर्देशन पालना गर्न बैंकहरूले धमाधम ऋणपत्र निष्कासन गर्न लागेका हुन् । न्यूनतम ८ अर्ब रुपैयाँ चुक्तापुँजी हुने बैंकले २ अर्ब रुपैयाँ ऋणपत्र निष्कासन गर्नुपर्ने हुन्छ ।

बैंकहरूमा तरलता हाबी भएपछि ऋणपत्रको ब्याज घटेको छ । अधिक तरलताले गर्दा यस्तै निक्षेप तथा कर्जा दुवैको ब्याजदर घटेको छ । मुद्दतीका साथै साधारण निक्षेपको पनि ब्याजदर घटेकाले यसको असर ऋणपत्रमा परेको छ । कर्जा लगानी बढेपछि तरलता कम हुन गई ऋणपत्रको ब्याजदर पहिलाको अवस्थामा आउने सम्भावना छ ।

ऋणपत्रबापतको रकम शतप्रतिशत कर्जा प्रवाहका लागि उपयोग गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । बैंकिङ प्रणालीमा अझै पनि १ खर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन् । प्रणालीमा ७० अर्ब र राष्ट्र बैंकले प्रशोचन गरेको ३० अर्ब रुपैयाँ छ ।

केन्द्रीय बैंकले पुनर्कर्जा दिन थालेपछि बैंकमा तरलता देखिएको उनको भनाइ छ । धितोपत्र बोर्डले साउनयता विभिन्न नौवटा बैंकलाई २६ अर्ब ६० करोड रुपैयाँ बराबरको २ करोड ६६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

ऋणपत्र अनुमति पाउनेमा सिद्धार्थ बैंक, बैंक अफ काठमान्डु, नेपाल इन्भेस्टमेन्ट बैंक, मञ्जुश्री फाइनान्स लिमिटेड, प्राइम कमर्सियल बैंक, कामना सेवा विकास बैंक, कृषि विकास बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक छन् ।

सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको छ । यसले वार्षिक ४ प्रतिशत ब्याज दिने गरी ७ वर्षका लागि ६ अर्ब रुपैयाँ बराबरको कृषि ऋणपत्र निष्कासन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्