६ जेष्ठ २०८१, आईतवार

 

बैंकहरूले जलविद्युत्‌मा बढाए लगानी, झन्डै ३६ अर्ब रुपैयाँको ऋण सम्झौता

कोरोना महामारीका बीच बैंकहरूले जलविद्युत्‌मा लगानी बढाएका छन् । बैंकहरूले ६ वटा जलविद्युत आयोजनामा झन्डै ३६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौतासमेत गरिसकेका छन् ।

यो रकम ऋणको अंश मात्र हो । यसबाहेक विकासकर्ताहरूले अर्बौं रुपैयाँ स्वपुँजी थप लगानी गरेका छन् । विकासकर्ताहरूले आधा स्वपुँजी लगानी गरेपछि सम्झौता गरेका बैंकहरूले कर्जा प्रवाह सुरु गर्छन् । बैंकहरूले लगानी गरेका आयोजनाको जडित क्षमता २५१ मेगावाट छ ।

लगानी सम्झौता भएका आयोजनाहरूमा ४८ दशमवलव ५० मेगावाटको राहुघाट खोला, २१ मेगावाटको अपर खुदी, ४ दशमलव ९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ तल्लो, १४ मेगावाटको तल्लो इर्खुवाखोला, १६० मेगावाटको लाप्चीखोला र २५ मेगावाटको सेतीनदी आयोजना छन् ।

यी आयोजनामा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स र माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, बैंक अफ काठमान्डु, कृषि विकास बैंकका साथै कर्मचारी सञ्चय कोषले पनि सहवित्तीयकरणमा ऋण लगानी गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले २०८१ सालसम्म कुल कर्जाको १० प्रतिशत जलविद्युत्‌मा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि बैंकहरू लगानी गर्न तातेका हुन् जसअनुसार २०७८ असारसम्म कुल कर्जाको ६ प्रतिशत लगानी जलविद्युत्‌मा हुनुपर्ने बाध्यकारी व्यवस्था छ । यस्तै वार्षिक १ प्रतिशतका दरले लगानी बढाएर २०८१ सम्म १० प्रतिशत पुर्‍याउनुपर्नेछ ।

लगानी सीमा तोकेपछि यसलाई पुर्‍याउन धमाधम आर्थिक एवम प्राविधिक रूपमा सम्भाव्य आयोजनामा कर्जा प्रवाह बढाएका हुन् । यस्तै विकास बैंकहरूले जलविद्युत्, घरेलु तथा साना उद्योग र पर्यटनमा २० र वित्त कम्पनीहरूले १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ ।

हालै मात्र तुँदी पावर कम्पनी प्राइभेट लिमिटेडले ४८ दशमलव ५० मेगावाटको राहुघाट खोला जलविद्युत् आयोजना बनाउन बैंकहरूबाट ५ अर्ब ८१ करोड रुपैयाँ ऋण लिएको छ । यो आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी हुने सम्झौता भएको छ । आयोजना बनाउन ८ अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजनामा कुमारीका अतिरिक्त ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, एनसीसी बैंक र माछापुच्छ्रे बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने भएका छन् । यस्तै, वैदेशिक लगानीकर्ताको रूपमा चिनियाँ कम्पनी सिचुवान जी अन्ताई इनर्जी डेभेलपमेन्ट लिमिटेड रहने भएको छ । आयोजनाबाट २०८० सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

यस्तै २१ मेगावाटको अपर खुदी जलविद्युत आयोजना बनाउन ५ वटा वाणिज्य बैंकले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन् । आयोजनामा बैंक अफ काठमान्डुको अगुवाइमा सो रकम ऋण लगानी हुने भएको छ । बीओकेको सहवित्तीयकरणमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक र एनसीसी बैंक रहेका छन् । आयोजनामा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ ।

सोमबार नै माबिलुङ इनर्जी लिमिटेडले निर्माण गर्न लागेको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा २ वटा बैंकले ऋण लगानी सम्झौता गरेका छन् । लक्ष्मी बैंकको अगुवाइमा माछापुच्छ्रेले आयोजना सहवित्तीयकरणअन्तर्गत ६५ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका हुन् ।

आयोजनामा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख रुपैयाँ ऋण लगानीका रूपमा रहने सम्झौता छ । संखुवासभा जिल्लामा रहेको आयोजनाको जडित क्षमता ४ दशमलव ९५ मेगावाट छ । आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ ।

बैंकहरूले आयोजना लागतको ७० प्रतिशत बेहोर्नेछन् भने बाँकी ३० प्रतिशत कम्पनीको स्वपुँजी लगानी रहनेछ । आयोजनाबाट २ करोड ८४ लाख १७ हजार युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सन् २०२२ को फेब्रुअरीमा सम्पन्न हुने विकासकर्ताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्