३ जेष्ठ २०८१, बिहीबार

 

१५ वर्षदेखि दुनोट बनाउन व्यस्त छिन् पार्वती

हातमा सीप र जाँगर हुनेलाई धन कमाउन स्वदेशमै थुप्रै सम्भावना छन् । उदाहरण हुन्– पार्वती गौतम । १५ वर्षअघि काभ्रेबाट राजधानी छिरेकी उनी दुनोट बनाउने पेसामा व्यस्त छिन् । सजिलो खाजाको परिचय बनाएको दुनोट सबैको रोजाइमा परेपछि उनको व्यापार फस्टाएको छ ।

काभ्रेको चौरी–देउरालीकी उनी अहिले काठमाडौंको चन्द्रागिरि नगरपालिका– ७ चेकपोस्टमा व्यवसाय गर्छिन् । कयौं महिलाहरू देशमा रोजगार नभएको भन्दै हात बाँधेर बसिरहेका बेला पार्वतीलाई भने बिहानदेखि बेलुकासम्म दुनोट बनाउन र बेच्न भ्याइनभ्याइ हुन्छ । उनलाई यो व्यवसायमा छोरीले सघाइरहेकी छिन् ।

कोभिड १९ लाई लक्षित गरी सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै केही महिना ठप्प रहेको दुनोटको व्यापार फेरि फस्टाएको छ ।

चन्द्रागिरि–७ स्थित प्रभात माविको सटर भाडामा लिएर गौतमले बनाएको दुनोट, नमकिन, आठे हातहातै बिक्री हुने गर्छ । ४ लाखको लगानीबाट सुरु गरेको व्यवसायले १५ वर्ष छुँदा निकै उतारचढाव झेलिसकेको छ । लगानी पनि क्रमिक रूपले बढ्दै गइरहेको छ । दुनोट प्रतिगोटा १० रूपैयाँमा बिक्री हुने गर्छ भने क्रिम राखेको दुनोटको २० रूपैयाँ पर्छ ।

कोरोनापछि व्यवसाय अलि कम भएको तर पनि आफू सन्तुष्ट रहेको पार्वती बताउँछिन् । पार्वतीलाई यो पेसामा उनकी बहिनीले पनि सघाउँछिन् । दिउँसो सामुदायिक विद्यालयमा कक्षा १० मा पढ्ने छोरी पनि बिहानसाँझ दुनोट उद्योगमा सघाउँछिन् । अहिले उनको दुनोट उद्योगमा दैनिक ३० देखि ३५ केजी मैदा खपत हुन गरेको छ । हिजोका दिनमा हातैले पूरै पिठ मुछ्नुपर्ने समस्या रहेकामा केही वर्षयता मेसिन आएपछि सहज भएको छ ।

पार्वतीका अनुसार दैनिक १५ लिटर तेल खपत हुने गरेको छ । दैनिक ५ देखि ७ हजार रूपैयाँको कारोबार हुने यही घरेलु उद्योगबाट उनले १० जनाको परिवारको लालनपालन गर्नुका साथै छोरीहरूको शैक्षिक खर्च धानिरहेकी छन् । यही पेसाबाट काठमाडौंको जोरपाटीमा घडेरी खरिद गरेर घर बनाउने तर्खरमा छिन् ।

सरकारले घरेलु उद्योग सञ्चालन गरेर राम्रो काम गरिरहेका महिला उद्यमीलाई सहुलियत ऋण प्रदान गरेको प्रचार गरे पनि पार्वतीले त्यो सुविधा पाउन सकेकी छैनन् । सरकारले राजनीतिक पहुँच र शक्तिको आडमा सहुलियत ऋणलगायत सुविधा दिनुभन्दा वास्तविक रूपमा उद्यमी बनेर काम गरिरहेका व्यक्तिलाई दिएको खण्डमा मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सार्थक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्