५ जेष्ठ २०८१, शनिबार

 

चिनियाँ प्रधानमन्त्रीकाे सिफारिसमा छापियो ५ लाख `जेराे मार्जिनल कस्ट साेसाइटी´ पुस्तक

विश्वचर्चित अमेरिकी लेखक जेरेमी रिफ्किनद्वारा लिखित बेस्ट सेलर पुस्तक ‘जेरो मार्जिनल कस्ट सोसाइटी’को नेपाली संस्करण ‘शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज’बजारमा आएको छ ।

नाफामा आधारित पुँजीवाद कसरी ढल्दै छ र त्यसको समानान्तरमा सहयोगी समाजको उदय कसरी भइरहेको छ भन्नेबारे गहन तथ्यहरू प्रस्तुत गरिएको पुस्तकको नेपाली भाषामा अनुवाद तथा सम्पादन रमेश सुनुवार र राजकुमार श्रेष्ठले गरेका हुन् ।

जेरेमी रिफ्किन एक अमेरिकी लेखक, सार्वजनिक वक्ता, आर्थिक तथा सामाजिक सिद्धान्तकार, राजनीतिक सल्लाहकार र अभियानकर्ता हुन् ।

उनले २१ पुस्तक लेखेका छन्, जुन अर्थतन्त्र, श्रमशक्ति, समाज र पर्यावरणमाथि वैज्ञानिक तथा प्राविधिक परिवर्तनहरूको प्रभावमा केन्द्रित छन् । यी पुस्तकमध्ये प्रमुख ‘कामको अन्त्य,’ ‘तेस्रो औद्योगिक क्रान्ति,’ क्रान्ति’र ‘शून्य सीमान्त लागत समाज’हुन् ।

‘कामको अन्त्य’ मा विज्ञान–प्रविधिको उच्च विकास भएपछि मानव–श्रम विस्थापित भएको छ र त्यसबाट कामको अन्त्य भएको छ भन्ने कुराको वर्णन गरिएको छ ।

त्यसै गरी ‘तेस्रो औद्योगिक क्रान्ति’मा नयाँ ऊर्जाका रूपमा नवीकरणीय ऊर्जाको आगमनले अब विश्वव्यापी रूपमा ऊर्जाको पहुँच हुने अवस्था सिर्जना भएको तथ्य उद्घाटन गरिएको छ ।

यो पुस्तक विश्वमा सर्वाधिक बिक्री हुने पुस्तकहरूमा पर्दछ । चिनियाँ प्रधानमन्त्रीले यसलाई अत्यन्तै महत्त्व दिएका थिए र उनकै सिफारिसमा चीनमा ५ लाख प्रति छापिएको थियो ।

‘शून्य सीमान्त लागत समाज’ सन् २०१४ मा प्रकाशित भएको थियो । यस पुस्तकमा लेखकले तीनवटा विषयहरूको वर्णन गरेका छन्– विज्ञान तथा प्रविधिको प्रधानता, प्रचुरताको अर्थतन्त्र र सहयोगी समाजको उदय । यिनीहरूकै आधारमा अब पुँजीवादको अन्त्य हुँदै छ भन्ने उद्घोष गरिएको छ ।

जस्तो कि यो पुस्तकको सुरुमै भनिएको छ– ‘पुँजीवादी युग छिटो नभए पनि अनिवार्य रूपमा समाप्त हुँदै छ । त्यसको स्थानमा नयाँ आर्थिक ढाँचा ‘सहयोगी समाज’ को उदय भइरहेको छ, जसले हाम्रो जीवनशैली परिवर्तन गर्दछ ।’

यस पुस्तकमा पुँजीवाद कसरी ढल्दै छ भन्नेबारे तथ्य र तर्कपूर्ण सामग्री प्रस्तुत गरिएको छ । पुँजीवादीहरूले अजर, अमर र शाश्वत छ भनेको पुँजीवाद कसरी ढल्दै छ रु के समाजवादी क्रान्तिको लहरले पुँजीवाद ढाल्दै छ त रु होइन, तर ढल्दै छ ।

यो पुस्तक पुँजीवादको मृत्युको घोषणाको तर्कपूर्ण तथ्यहरूको सँगालो हो । मानव समाजले अरू सामाजिक र राजनीतिक प्रणालीहरूभन्दा छोटो समयमा तीव्र विकास गरेको र छिट्टै अस्ताउन लागेको आर्थिक राजनीतिक प्रणाली हो– पुँजीवाद ।

गतिका आर्थिक नियमहरूको अध्ययनले बताउँछ कि पुँजीवाद पनि नाश हुनेछ । तर यहाँ जेरेमी रिफ्किन मार्क्सको विश्लेषणका आधारमा होइन, विज्ञान प्रविधिको असाधारण कार्यक्षमताका कारण उत्पादनमा आएको प्रचुरताले नाफामुखी पुँजीवादको अवसान र सहयोगी समाजको उदय अनिवार्य बनिरहेको छ भन्ने निष्कर्षमा लेखक पुगेका छन् ।

अब नाफामा आधारित पुँजीवादको स्थान शून्य सीमान्त लागतमा आधारित सहयोगी समाजले लिइरहेको छ । आजको विश्व राजनीति र अर्थनीतिलाई बदलिएको आँखाबाट हेर्न यो पुस्तक उपयोगी साबित हुनेछ ।

आज अर्बौं मान्छेहरूलाई जोड्ने इन्टरनेटको सञ्जालको विकास भएको छ, जसले हाम्रो ज्ञानलाई पनि साझा बनाएको छ । अब कोही पनि एकल सर्वज्ञानी रहेन ।

संसारभरको उन्नत विषय हामी क्षणभरमै पढ्न, सिक्न र बाँड्न सक्ने भएका छौं । अब बौद्धिक सम्पत्ति पनि सबैको साझा हुन गएको छ ।

अभावपूर्ण उत्पादनप्रणालीबाट मानव समाज प्रचुर उत्पादनतर्फ फड्को मारिरहेको छ । विज्ञानप्रविधिको जगमा बन्दै गरेको नयाँ विश्वग्रामबारे बुझ्न सबैले एकपटक यो पुस्तक सबैले पढ्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्