६ जेष्ठ २०८१, आईतवार

 

अवकाशपछि झन् सक्रिय : कुखुरा फार्म, माछापालनदेखि तरकारी उत्पादनमा रमाउँदै पूर्वसैनिक

जागिरबाट अवकाशपछि धेरैको मनसाय आराम गर्ने, धर्मकर्म र समाजसेवामा लाग्ने हुन्छ । तर, बागलुङ नगरपालिका–८ सिगानाका सुबेदार कृष्ण खड्का जागिरबाट अवकाशपछि गाउँमै उद्यममा व्यस्त छन् ।

१८ वर्ष नेपाली सेनामा बिताएका उनी सुबेदार पदबाट अवकाशपछि पुनः बहराइन पुगे । तर नेपाली सेनाको जागिर र विदेशको कमाइभन्दा बढी सन्तुष्टि व्यावसायिक कृषि फर्ममा मिलिरेहको उनी बाटै प्राप्त भएको उनी बताउँछन् ।

बागलुङ नगरपालिका–८ सिगाना बेसीको सडकछेउकै दुई रोपनी जग्गामा खड्काको कुखुरा फर्म, माछापालन, तरकारी खेती, सिमाना खाजा तथा किराना पसलका साथै सिमाना फ्रेस हाउस छ ।

२०५२ सालमा नेपाली सेनामा भर्ती भएका खड्काले १८ वर्ष सेवापछि अवकाश लिए । त्यसपछि उनी विदेशी मोहले तानेर बहराइन पुगे । तर रमाउन सकेनन् ।

अनि स्वदेशमै गएर उद्यम गर्छु भन्ने सोचेले झन्डै एक लाख ६० हजार तलबको जागिर एक वर्षमै छोडेर सिगाना फर्किएको उनको भनाइ छ ।
खड्काले दुई वर्षअघि सिगानामा परीक्षणका लागि खाजा घर, किराना पसल, पोल्टी फर्म तथा माछापालन सुरु गरेका थिए ।

गाउँमै उद्यमशीलतामा रमाउने उद्देश्यले खड्काले पोल्टी फर्म दर्ता गरेर व्यावसायिक बोइलर कुखुरा पालन गर्दै आएका छन् । फर्ममा अण्डा उत्पादन गर्ने लोकल कुखुरासमेत पालेका छन् ।

‘अवकाशपछि गाउँमा राजनीति गर्ने सोच राखेको थिएँ तर गाउँमा राजनीतिक चेतनाको कमी देखेँ अनि आफ्नै जग्गामा बहुउद्देश्यीय सोच राखेर कुखुरा पालनदेखि बिक्रीसम्मको सबै काम गर्दै आएको छु,’ खड्काले भने, ‘मासिक ४०र५० हजार कमाउन सजिलै सकिँदो रहेछ, परीक्षणका लागि पालेका कुखुराबाट राम्रो आम्दानी भयो, अब कुखुरा फर्म थप विस्तारको योजनामा छु ।’

खड्काको फर्ममा अहिले ४ सय ५० बोइलर कुखुरा, सानो पोखरीमा ४ सय ५० माछा, ५० वटा लोकल कुखुरा छन् । फर्ममा उत्पादित कुखुराको मासु र माछा बिक्री गर्ने आफ्नै फ्रेस हाउससमेत छ ।

फर्मको तरकारी खपतसमेत आफ्नै पसलबाट भएको उनी बताउँछन् । ‘विदेशमा आफ्नो दशेमा जस्तो हुँदो रहेनछ, त्यसैले गाउँ फर्केर उद्यमशीलता रोजेँ, अहिले कुटानी पिसानी मिलसमेत चलाउँदै आएको छु,’ उनले भने, ‘लगानी थप्दै गएर पाँच रोपनीमा फर्म विस्तार गर्ने योजना छ ।’

उत्पादन गरेको मासु, तरकारी तथा अण्डा आफ्नै पसलबाट खपत हुने गरेकाले बजार पठाउनुपर्ने झन्झट खड्कालाई छैन । पसल तथा फर्ममा श्रीमतीले सघाउने गरेको उनको भनाइ छ ।

फर्ममा एक जनालाई नियमित रोजगारी र अन्य काममा आवश्यकताअनुसार ज्यालामा खटाउँदै आएका छन् । अब एक हजार ब्रोइलर कुखुरा पाल्ने योजना रहेको उनले सुनाए ।

कृषिमा बिचौलियाको अन्त्य गर्न आफ्नो उत्पादन आफैं उपभोक्तासम्म पुर्‍याउनुपर्ने खड्काको धारणा छ । कुखुरा, माछा, पसल तथा कुटानी–पिसानी गरी १५ लाख लगानी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्