६ जेष्ठ २०८१, आईतवार

 

पानी समयमै परेपछि बागलुङमा धान रोपाई सुरु

समयमै मनुसुन सक्रिय भएपछि गण्डकी प्रदेशको बागलुङ जिल्लाको विभिन्न ठाउँमा धान रोपाई शुरु भएको छ । जिल्लाको १० वटा स्थानीय तहका खोला किनार र तटिय क्षेत्रमा रोपाई सुरु भएको हो ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका लगायतको खोला किनार तथा सिम खेत क्षेत्रमा यतिबेला किसानहरू धान रोप्न ब्यस्त छन् ।

यस वर्ष छिट्टै मनसुन सुरू भए संगै वर्षा भएपछि वर्ष दिनलाई चाहिने धानबाली लगाउन सुरु गरेको बागलुङ नगरपालिका वडा नम्वर ३ का स्थानीय पुष्पा विकले बताउनु भयो । जिल्लाका सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो थालिएको छ ।

अहिले मनसुनले साथ दिएपछि खोला किनारको अधिकांश खेतमा रोपाइँ भइरहेको छ । कोरोना भाईरसको कारण देश बन्दाबन्दी हुँदा सहर बजार झरेका अधिकांस गाँउ फर्र्कियपछि खेताला नपाउने समस्या घटेको कृषक बताउछन् ।

दैनिकजसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसानहरू बताउँछन् । यो वर्ष अघिल्लो वर्षभन्दा अलि छिटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताउनु भयो ।

मकैबाली लगाइएको खेतमा भने किसानले मकै बाली भित्राएपछि मात्र असार अन्तिम र साउनको पहिलो सातासम्म रोपाइँ गर्छन् ।
यतिबेला कृषकहरूले मानो छरेर मुरी फलाउने समय हो ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को दोश्रोे लहर फैलिएको बेला कोरानाको प्रवाह नगरी किसानहरु रोपाईमा ब्यस्त छन् । देशका कतिपय जिल्लामा रासायनिक मलको अभाव भए पनि बागलुङमा भने मलको समस्या नभएको जनाईएको छ ।

जिल्लाको कुल ६ हजार एक सय २२ हेक्टर क्षेत्रफलमा धानखेती हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।त्यसमध्ये दुई हजार ६ सय ३५ हेक्टरमा उन्नत र तीन हजार चार सय ८७ हेक्टरमा स्थानीय जातको धानखेती हुन्छ ।

प्रतिक्रिया दिनुहोस्