३ जेष्ठ २०८१, बिहीबार

 

सामाजिक सञ्जालमा हुने दुर्व्यवहार रोक्न २ सय महिलाले राष्ट्रसंघलाई बुझाए हस्ताक्षर

विश्वका २ सयभन्दा बढी चर्चित महिलाले सामाजिक सञ्जालका मञ्चहरूमा हुने दुर्व्यवहार रोक्नका लागि ठोस कदम चाल्न आह्वान गर्दै लेखिएको पत्रमा हस्ताक्षर गरेका छन् ।

अस्ट्रेलियाकी भूतपूर्व प्रधानमन्त्री जुलिआ गिलार्ड, भूतपूर्व अमेरिकी टेनिस खेलाडी बिली जिन किङ र ब्रिटिस अभिनेत्रीहरू थ्यान्डी न्यूटन र एमा वाट्सनलगायतले हस्ताक्षर गरेका पत्र यूएन जेनरेसन इक्वलिटी फोरममा प्रकाशित छ ।

जुलिआ गिलार्डले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘अस्ट्रेलियाको प्रधानमन्त्रीको पदमा रहँदा अन्य सार्वजनिक ओहोदामा रहेका महिलाहरूले जस्तै मैले पनि सामाजिक सञ्जालमा लैंगिकताका आधारमा चर्को दुव्र्यवहारको सामना गर्नुप¥यो । अश्लील कार्टुनहरूसमेत सञ्जालमा फैलाइए ।’

उनले त्यस्ता गतिविधिले आफूलाई ‘महिलाले अझै पनि यस्तो प्रकारको दुव्र्यवहारको सामना गर्नुपरिरहेको भनेर आक्रोशित र हताश बनाएको’ पनि बताइन् ।

उक्त पत्र फेसबुक, गुगल, टिकटक र ट्विटरका प्रमुख कार्यकारीहरूलाई सम्बोधन गरेर लेखिएको छ । त्यसमा ‘तपाईंहरूको उत्पादनको मञ्चमा महिलाहरूको सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुहोस्’ भनिएको छ ।

प्रतिबद्धतामा ती सामाजिक सञ्जालका प्रमुखहरूले अनलाइनमा हुने दुव्र्यवहारको जानकारी दिने प्रणालीलाई सुधार गर्ने, प्रयोगकर्ताहरूले देख्ने र उनीहरूसँग ककसले अन्तरक्रिया गर्न पाउने भन्ने पनि फिल्टर गर्ने बताएका छन् । तर केही अभियानकर्ताले यस्ता प्रतिबद्धता पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘यस्ता अमूर्त वक्तव्यहरूले ती प्रविधि कम्पनीलाई प्रचारप्रसारको राम्रो अवसर त उपलब्ध गराउलान् तर यी वास्तविक प्रतिबद्धता होइनन्,’ लुचिना डि मेकोले भनिन् ।

उनी सी प्रिसिटेड ग्लोबल नामक संस्थाको सहसंस्थापक हुन् र यो संस्थाले महिलाविरुद्ध अनलाइनमार्फत हुने आक्रमणका विषयमा काम गर्छ । उक्त पत्रको बेहोरामा लेखिएको छ, ‘इन्टरनेट भनेको २१औँ शताब्दीमा चौबाटोको चोक जस्तै हो ।

जहाँ विभिन्न बहसहरू हुन्छन्, समुदायहरूको निर्माण हुन्छ, उत्पादनहरू बेचिन्छन् र मानिसका प्रतिष्ठाहरू पनि बन्छन् । तर जुन स्तरमा महिलाविरुद्ध दुर्व्यवहार हुने गरेको छ, यी डिजिटल चोकहरू धेरै महिलाका लागि असुरक्षित छन् ।’

उक्त पत्रले सन् २०२० मा इकोनोमिक इन्टेलिजेन्स युनिटले ४ हजारभन्दा बढी वयस्क महिलामा गरेको अध्ययनको नतिजातर्फ पनि ध्यानाकर्षण गराएको छ जसमा तीमध्ये ५१ देशका ३८५ ले प्रत्यक्ष रूपमा अनलाइन दुव्र्यवहार भोगेको बताएका थिए ।

सीमान्तीकृत समुदाय र अश्वेत, एसियाली, ल्याटिन अमेरिकी र मिश्रित वर्णका महिलामाथि अनलाइन दुव्र्यवहार झन् खराब हुने गरेकोमा पनि जोड दिइएको छ ।

उक्त पत्रको संयोजन गरेको वर्ल्डवाइडवेब फाउन्डेसनकी वरिष्ठ नीति व्यवस्थापक अज्मिना ध्रोडियाले भनिन्, ‘सामाजिक सञ्जालका प्लाटफर्महरूमा महिलाविरुद्ध दुर्व्यवहार र हैरान पार्ने गतिविधिहरू हुन्छन् ।

त्यो लैंगिक समानताको क्षेत्रमा एउटा ठूलो व्यवधान हो भनेर स्वीकार गर्नु एकदमै महत्त्वपूर्ण कुरा हो।’ प्रविधि कम्पनीहरूले प्यारिसमा आयोजित संयुक्त राष्ट्रसंघका जेनरेसन इक्वलिटी फोरममा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

वर्ल्डवाइडवेब फाउन्डेसनले ती प्रविधि कम्पनीहरूका प्रतिबद्धता र तिनका वास्तविक व्यवहारहरूको निगरानी गर्ने र त्यसमा के कस्ता प्रगति भए भनेर वार्षिक प्रतिवेदन तयार पार्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्