६ जेष्ठ २०८१, आईतवार

 

जैमिनीका भैंसीपालक किसानलाई अनुदान

जैमिनी नगरपालिका–१० राङखानीस्थित साना किसान सहकारी संस्था लिमिटेडको समन्वयमा भैंसीपालन प्रवर्धन अनुदान कार्यक्रमअन्तर्गत किसानलाई अनुदान वितरण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा नगरपालिकाको पशु शाखाको ससर्त अनुदानतर्फ विनियोजित १८ लाख ३७ हजार रुपैयाँ ५२ जना कृषकलाई बाँडिएको हो ।

जैमिनी–१० का वडाअध्यक्ष नरबहादुर थापाको प्रमुख आतिथ्यमा ५० जना भैँसीपालकलाई जनही ३४ हजार १ सय ४० रुपैयाँ र दुई जना राँगोपालक कृषकलाई जनही ६५ हजार रुपैयाँका दरले दिइएको वडा सदस्य तथा सहकारी संस्थाका लेखा संयोजक सुबेदार छविलाल श्रीस रानाले जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य श्रीस, अर्का वडा सदस्य नरबहादुर श्रीस राना, महिला वडा सदस्य डिलकुमारी श्रीस र परिचालक कृष्ण पौडेलले अनुदान रकमको सदुपयोग गर्दै उत्पादनमुखी बन्न किसानलाई हौसला दिएका थिए । कार्यक्रममा साना किसान सहकारी संस्था लिमिटेडकी कोषाध्यक्ष नर्वदा श्रीस, सदस्य सीता थापा र प्रबन्धक जमुना थापा श्रीसले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्