६ जेष्ठ २०८१, आईतवार

 

काँक्रोको बीउ उत्पादन गरेरै वार्षिक तीन करोड आम्दानी

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका किसान काँक्रोको बीउ उत्पादन गरेरै आत्मनिर्भर बनेका छन् । धाइरिङको सल्यान गाउँका बासिन्दाले परम्परागत रूपमा बीउ उत्पादन गरेर वार्षिक ३ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् ।

सल्यानका अधिकांश घरपरिवार व्यावसायिक तरकारी र बिउ उत्पादनमा सक्रिय छन् । यहाँबाट स्थानीय काँक्रो र गोलभेडाको बीउ उत्पादन गर्ने गरिएको छ । यहाँका किसानले १५ वर्षदेखि व्यावसायिक रूपमा बीउ उत्पादनमा गर्दै आए पनि राज्यका तर्फबाट सहयोग नहुँदा पाउनुपर्नेजति बजार पाउन नसकेको अगुवा कृषक एकनारायण पौडेलले बताए ।

‘राज्यले अनुदान र उत्पादित बिउको बजारीकरणमा सघाए अझै धेरै उत्पादन गर्न सकिन्छ,’ उनले भने । यहाँ उत्पादित भक्तपुर लोकल काँक्रोको बीउ नेपालभर प्रख्यात छ ।

यहाँका करिब ८३ घरपरिवारले तीनवटा समूहमा आबद्ध भई व्यावसायिक रूपमा बीउ उत्पादन गर्ने गरेका छन् । व्यावसायिक तरकारी र बीउ उत्पादन गर्ने कृषलाई वडाले मल, साना कृषि औजार सहयोग गर्दै आएको छ ।

यस वर्षदेखि गाउँपालिकाले उक्त गाउँलाई बीउ पकेट क्षेत्र घोषणा गरेको वडाध्यक्ष टुंगनाथ आचार्यले बताए । पहिले खाद्यान्न बाली लगाउँदै आएका किसान तरकारी खेतीमा मोडिएका थिए । पछि यसैमा आत्मनिर्भर भएका हुन् ।

सल्यानको गाउँको उर्वर भूमिमा सिँचाइ सुविधासमेत पर्याप्त छ । यहाँ जग्गा नभएकाले पनि भाडामा लिएर तरकारी खेती गरेका छन् । वडाका अनुसार यहाँका हरेक किसानले वार्षिक न्यूनतम १ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्