६ जेष्ठ २०८१, आईतवार

 

बाख्राबालनबाटै घर–घडेरी

पर्वतको जलजला गाँउपालिका–८ लस्तीका चुकमान फगामी उमेरले ५० कटे । उनी बिहानै गोबर सोहोर्छन् । भैंसी दुहुन्छन् । घरका अन्य काम गर्छन् । खाना खाएपछि हातमा नाम्लो र हँसिया बोक्छन् । अनि बाख्रा लिएर जंगलतर्फ लाग्छन् ।

उनको यस्तो दैनिकी चल्न थालेको १७ वर्ष बितिसक्यो । २०६२ सालमा रहरैरहरमा बाख्रा पाल्न थालेका थिए । त्यस्तो त उनका बाउबाजे पनि बाख्रा पाल्थे ।

तर त्यो निरन्तर थिएन । उनी जब पर्वतको बनौबाट बसाइँ सरेर लस्ती झरे, यहाँ प्रशस्तै चरन क्षेत्र देखेपछि २०६२ सालबाट व्यावसायिक बाख्रापालन सुरु गरे । पछिल्लो समय त यसैलाई मुख्य पेसा बनाएका छन् ।

यसैबाट लस्तीमा घरजग्गासमेत जोडेका छन् ।अहिले भने कोरोनाले मठमन्दिरमा बलि रोकिएपछि व्यापार घटेको फगामीले सुनाए ।

‘पहिले बोका खरिदका लागि ग्राहक घरमै आउँथे, अहिले कोरोनाले मठमन्दिर बन्द भएकाले व्यापार घटेको छ,’ उनले भने ।

कुनै बेला एक सयवटासम्म पनि बाख्रापालन गरेका उनीसँग अहिले १७ वटा मात्र छन् ।भारतलगायत मुलुकबाट आयात गरिने पशुपक्षीको कारण स्थानीय स्तरमा उत्पादित खसीबोकालाई बजार पाउनै मुस्किल हुने गरेको उनको भनाइ छ ।

स्थानीय जातका बाख्रापालन गरेका फगामीले व्यवसायलाई आत्मनिर्भर बनाउन उन्नत जातका बाख्रा–बोका पालनमा लगानी बढाउने योजना बनाएका छन् ।

यसका लागि स्थानीय स्रोतसाधन र घरवरिपरिकै जग्गा उपयोग गरेका छन् ।

वडाभित्र बाख्रापालनको राम्रो सम्भावना भएकाले स्थानीय जातका बाख्रपालन गरेका कृषकलाई पेसागत मजबुती र आम्दानीमा वृद्धि गराउने योजना बनाइएको जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जीसीले बताए ।

प्रतिक्रिया दिनुहोस्