६ जेष्ठ २०८१, आईतवार

 

भैंसी पालेरै आत्मनिर्भर, दैनिक १६० लिटर दूध बेच्छन् क्षेत्री

वैदेशिक रोजगारी चित्तबुझ्दो नभएपछि फर्किएर भैंसी पालन थालेका पर्वतका एक युवक सोही पेसाबाट आत्मनिर्भर बनेका छन् । खाडीमा एक दशक बिताएका जलजला गाउँपालिका–८ लस्तीका टेकबहादुर क्षेत्रीले भैंसीपालनलाई पेसा बनाएका हुन् ।

यसबाट उनले दाम मात्र कमाएका होइनन्, सामाजिक पहिचानसमेत बनाएका छन् ।जलजला गाउँपालिकामै सबैभन्दा ठूलो भैंसी फार्म क्षेत्रीकै छ । बजारमा भैंसीको दूधको माग बढ्दो रहेको र मूल्य पनि राम्रै पाइने गरेको उनले बताए ।

उनको फार्ममा १६ वटा भैंसी र तीन गाई छन् । प्रत्येक दिन बिहान र साँझ १ सय ६० लिटर दूध बागलुङ बजारमा पुर्‍याउँछन् । २०७३ सालबाट भैंसी पाल्न थालेका क्षेत्री पाँच वर्ष कसरी बित्यो, पत्तै नभएको बताउँछन् ।

उनलाई श्रीमती र छोराछोरीले पनि सहयोग गरेका छन् । अन्य २ जनालाई पनि रोजगारी दिएकासमेत दिएका छन् । ‘विदेशमा पसिना बगाएको सम्झँदा अहिले पश्चात्ताप लागिरहेछ ।

बिहान उठ्यो, भैंसी दुहेर बजार लग्यो, यसरी नै परिवारका साथ रमाइलो गरी जीवन बिताइरहेको छु,’ उनले भने ।दूध बेचेरै मासिक २ लाख आम्दानी गर्ने गरेको उनको भनाइ छ।

भारतका विभिन्न स्थान पुगेर उन्नत जातका भैंसी खरिद गरी व्यवसाय चलाएका क्षेत्रीले एउटा भैंसीलाई १ लाख ३० हजारदेखि दुई लाखसम्म तिरेका छन् ।

गाउँपालिकाभित्र भैंसीपालनलाई प्रोत्साहन गर्न पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको आर्थिक विकास समितिका संयोजक तथा जलजला–८ का वडाध्यक्ष हरिविकास जीसीले बताए । १० वटाभन्दा धेरै भैंसीपालन गर्ने कृषकलाई पानी तताउने सोलार, रबरका म्याट, च्यापकटर र भकारो सुधारका लागि विभिन्न अनुदान दिइँदै आएको उनले जानकारी दिए ।

बजारमा भैंसीको दूधको बढी माग आएकाले कृषकले गाईभन्दा भैंसी बढी पालेका छन् । हाल बजारमा भैंसीको दूधको मूल्य प्रतिलिटर १ सय रुपैयाँ छ । दुग्ध व्यवसायीले भने दूधको गुणस्तर जाँचेर कृषकलाई ८० रुपैयाँदेखि माथि दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्