६ जेष्ठ २०८१, आईतवार

 

ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिकोत्सव : विद्यालयमा वृक्षारोपण, युरो गार्ड हस्तान्तरण

बागलुङका व्यवसायीहरूको सक्रियतामा स्थापित ग्रीन डेभलपमेन्ट बैंक बुधबार नवौं वर्षमा प्रवेश गरेको छ । २०७० सालमा खुलेको बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा वृक्षारोपण गरी स्थापना दिवस मनाएको छ ।

पोखरा महानगरपालिका–२८ स्थित रत्नशोभा माध्यमिक विद्यालय प्रांगणमा वृक्षारोपण गरिएको हो । उक्त अवसरमा अशोक, इन्द्रकमल, कपुरलगायत विभिन्न प्रजातिका ५० बिरुवा रोपिएको थियो ।

बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई एक थान युरो गार्डसमेत हस्तान्तरण गरे ।विद्यालयको हरियाली प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले वृक्षारोपण गरिएको सञ्चालक श्रेष्ठले नयाँ विश्वलाई बताए ।

वृक्षारोपण कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा सदस्य विष्णुप्रसाद तिवारी, रत्न शोभा माध्यामिक विद्यालयका प्रअ गोपालबहादुर बुढाथोकी,प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य र बैकका संचालक कृष्ण शंकर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमा छरिएको पुँजीलाई एकीकृत गर्नुका साथै उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले जानकारी दिए ।

बैंकले उद्योग, व्यापार, पशुपालन, कृषि, पर्यटनजस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ । त्यस्तै न्यून आय भएका वर्गलाई लक्षित गरी सामूहिक जमानीमा विपन्न वर्ग कर्जासमेत प्रवाह गर्दै आएको छ ।

२०७० भदौ ९ गते ‘ख’ श्रेणीको विकास बैंकका रूपमा बागलुङमा केन्द्रीय कार्यालय बनाएर सञ्चालनमा आएको ग्रीन डेभलपमेन्टले १३ शाखाबाट सेवा दिइरहेको छ ।

बागलुङ, म्याग्दी, कास्की, नवलपरासी गरी ५ जिल्लाबाट सेवा दिइरहेको बैंकसँग ५१ करोड रुपैयाँको कुल सेयर पुँजी छ । बैंकले २ अर्ब कर्जा प्रवाह गरेको छ ।बैंकले ९० जना युवाहरुलाई रोजगारी दिएको छ ।

अब कास्कीको बगर, नवलपुरको दलदले र तनहुँको दमौलीमा शाखा विस्तार गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।२०७६ बाट गण्डकी प्रदेशको राजधानी पोखरामा केन्द्रीय कार्यालय राखेर बैंकले अत्याधुनिक सुविधासहित सेवा दिइरहेको ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए ।

गण्डकी प्रदेशको एक मात्र विकास बैंक ग्रीन डेभलपमेन्टले यसअघि आठौं वार्षिकोत्सवमा बागलुङ बजारको ३ सय वर्ष पुरानो हनुमान नाच र राममन्दिरको संरक्षणका लागि ५० हजार सहयोग गरेको थियो ।

उपत्यकाको भक्तपुरमा जन्मिएको नाचलाई बागलुङमा भक्तपुरबाट आएर बसेका नेवार समुदायले मात्र संरक्षण गरेका छन् ।

त्यसै गरी बैंकले बागलुङको लक्ष्मीनारायण वैंकटेश्वर मन्दिर कुँडुलेलाई पनि २५ हजार आर्थिक सहयोग गरेको थियो । देशमा दैवी प्रकोप पर्दा बैंकले आर्थिक भौतिक सहयोग गर्दै आएको बैंकका सञ्चालक मनोविज्ञान श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्