६ जेष्ठ २०८१, आईतवार

 

बैंकको जागिर छाडेर कालिज पालन

पछिल्लो समय ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिक पालन हुन थालेको छ । पहाडी क्षेत्रमा पाइने कालिजको मासुको माग बढेपछि यो आय आर्जनको माध्यम बनेको हो ।

नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो ।

पर्वतका एक युवक बैंकिङ क्षेत्रको जागिरै छाडेर कालिज पालनमा लागेका छन् । लामो समय बैंकमा काम गरेका जलजला गाउँपालिका–७ लस्तीका यामनाथ आचार्यले कृषि पेसा अपनाएका हुन् । उनले लस्ती कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन्

उनी सुरुमा टर्की र माछा पाल्थे । तर कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि यसतर्फ पनि मोडिए ।
कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनको भनाइ छ ।

उनका अनुसार कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ । आहारामा समेत कम खर्च लाग्छ । यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । त्यसैले खोर बनाउन भने खर्चिलो छ ।

आचार्यले फर्ममा करिब २५ लाख लगानी गरिसकेका छन् । आफ्नै जग्गामा अहिले पूर्वाधारको काम भइरहेको र बाख्रा र कालिज पालनलाई प्राथमिकता दिने उनले बताए । अहिले फर्ममा २ सय २० कालिज, १ सयभन्दा बढी टर्की, २० वटा बाख्रा छन् । तीनवटा पोखरीमा माछापालन पनि गरिरहेका छन् ।

जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रोत्साहनको नीति लिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा यसकै लागि ४५ लाख बजेट विनियोजन गरेको छ ।

उक्त रकमबाट कृषिको मूल्यांकन गरी समान रूपमा सहयोग गर्ने योजना बनाएको जलजला–८ का वडाध्यक्ष तथा गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक हरिविकास जीसीले बताए ।‘व्यावसायिक रूपमा कृषिमा लाग्ने युवालाई समान रूपमा पालिकाले सहयोग गर्दै जानेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्