६ जेष्ठ २०८१, आईतवार

 

बागलुङको गुठीमा कृषि हाट तथा थोक बजार सुरु

बागलुङ नगरपालिका–३ गुठीमा कृषि हाट तथा थोक बजार सञ्चालनमा आएको छ ।

बागलुङ नगरपालिका, कृषि ज्ञान केन्द्र बागलुङ र उद्योग वाणिज्य संघ बागलुङको सहयोग तथा सहजिकरणमा कृषि हाट तथा थोक बजार सञ्चालन आएको हो । कृषि हाट तथा थोक बजारको शनिवार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले कृषि उपजहरुको मूल्य निर्धारणको लागि कृषकहरु संगठित हुनुपर्ने बताए । हाट बजार सामाजिक सेवाको बजार भएकोले कृषक, व्यवसायी र उपभोक्ताहरु एक जुट भएर सञ्चालन गर्नुपर्ने उनले बताए ।

विचौलियाका कारण किसान र उपभोक्ता दुवै मारमा परेकाले हाट बजारले कृषक उपोक्तालाई फाइदा पुग्ने पौडेलको भनाइ छ ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराजराजभण्डारी उपभोक्ता मञ्चका शैलेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साताको शनिवार हाट बजार र अन्य दिन थोक बजार नियमित रुपमा सञ्चालन हुने बताइएको छ । कृषि हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता सदस्य सुदिप कँडेलको स्वागत र गोविन्द सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बागलुङमा कृषि हाट तथा थोक बजार सञ्चालनको लागि बागलुङ नगरपालिका –३ मा बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरि कृषि ज्ञान केन्द्र बागलुङसँगको सहकार्यमा संरचनाको निर्माण गरिएको थियो ।

समितिले हरेक दिन तरकारीको मूल्य निर्धारण गरी बजार भाउ कायम गर्ने छ । किसानले आफूले उत्पादन गरेका वस्तुको राम्रो बजार मूल्य नपाउने र उपभोक्ताले पनि अनावश्यक चर्को मूल्य तिरेर उपभोग गर्नुपर्ने समस्या हटाउँनका लागि हाट बजारले भुमिका खेल्न अपेक्षा गरिएको बागलुङ नगरपालिका ५ मालिकाका विजय सापकोटाको भनाइ छ ।

बिचमा खेल्ने विचौलियाहरुले धेरै नाफा खाँदा बजारमा भाउ महंगो हुने र किसानले साह्रै सस्तोमा आफ्नो कृषि उपज दिनुपर्ने बाध्यता रहेको कृर्षकको भनाई छ ।

विचौलिया बिना सिधैं किसानले उपभोक्तासँग विक्री गर्दा बजारमा पर्ने तरकारीको मूल्य भन्दा आधा सस्तो हुने उनीहरु बताउँछन् ।

यस अघि केही महिना सञ्चालन भएको हाट बजार साताको दुई दिन मंगलबार र शनिबार सञ्चालनमा ल्याइए पनि कोरोनाको कारण बन्द भएको थियो।

उपभोक्ता र किसानको सिधै सम्पर्क हुने भएकोले सस्तो मूल्यमा उपभोक्ताले सामान पाउने र किसानले पनि आफ्नो उत्पादनको मूल्य पाउने अवस्था भएकोले यसको निरन्तरताका लागि सरोकारवाला चनाखो हुनुपर्ने कृषक बताउँछन् ।

विचौलियाको चलखेल भएर फेरि बन्द हुने अवस्था आउने भएकोले सबैले चासो दिन आवश्यक रहेको कृषकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्