उत्तर अमेरिकी महादेशको टापुमा रहेको सानो देश क्युबामा अर्गानिक खेतीबारे भारतीय वातावरण अभियन्ता भरत मन्साटाद्वारा लिखित ‘अर्गानिक रिभोलुसन’ पुस्तक अध्ययन गर्दा मलाई साँच्चिकै प्रेरणादायी अनुभूति भयो ।
लामो समय अमेरिकाले लगाएको नाकाबन्दीको चुनौतीलाई क्युबाले कसरी सदुपयोग गर्दै वातावरणमैत्री सफल कृषिमा परिणत गरी खाद्य सुरक्षा प्रदान गर्यो भन्ने कुरा अहिले समग्र विश्वका लागि पनि महत्त्वपूर्ण शिक्षा हो ।
दिगो वातावरण मैत्री कृषि अभियानका लागि क्युबाको अर्गानिक ९प्रांगारिक० खेती एक पाठशालासमेत हो ।अहिले हाम्रो देशको परिवेशलाई हेर्ने हो भने पनि कृषिक्षेत्रको विकासका लागि क्युबाबाट केही पाठ सिक्नुपर्ने हुन्छ ।
कामभन्दा कुरा ठूला गर्ने राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मले क्युबाको अर्गानिक कृषिको सफल रहस्य पढ्न र त्यसलाई मनन गर्न अत्यावश्यक छ ।
क्युबामा शताब्दीऔंअगाडि परम्परागत शैलीको बहुखेती प्रणाली थियो । उपनिवेशको क्रमसँगै स्पेनी साम्राज्य फैलिँदै जाँदा पाँच लाख अफ्रिकी दासको आगमनले क्युबालाई अफ्रिकी शैलीको कृषितर्फ आकर्षित गर्यो । उखु र सुर्तीको एकल खेती गर्ने गरी युरोप निर्यात सुरु भयो ।
१९औं शताब्दीको सुरुवातसँगै क्युबामा अमेरिकी हस्तक्षेप पनि सुरु भयो । अमेरिकाका ठूला चिनी व्यापारीको हातमा क्युबाको धेरै जमिन पर्यो । एकल खेतीको क्रम व्यापक भयो ।
उखुको खेती विस्तारका लागि त्यो समयमा वन फडाँनीसमेत व्यापक भएको थियो । सन् १९३० को समयमा क्युबा संसारकै सबैभन्दा धेरै उखु उत्पादन गर्ने मुलुक बन्यो । तर जमिनको स्वामित्व पनि केही जमिनदार र अमेरिकी चिनी कम्पनीमा रहिरह्यो ।
क्युबामा फिडेल क्यास्ट्रोले सुरु गरेको संघर्षले सन् १९५९ मा क्युबाली बाटिस्टाको शासन पल्टाइदियो । सत्ता कब्जापछि नयाँ सरकारले नयाँ भूमि सुधार कानुनमार्फत भूस्वामित्वको हदबन्दी तोकिदियो ।
नयाँ सरकारसँगै रुष्ट अमेरिकाले सन् १९६० बाट चरम नाकाबन्दी सुरु गर्यो । क्युबाबाट तत्काल निर्यात हुने चिनी किन्न बन्द गर्नुका साथै भविष्यका लागि भएका सम्झौतासमेत रद्द गरिदियो ।
सोही अमेरिकी कदमले क्युबालाई सोभियत संघको नजिक पुर्यायो । सोभियत संघले क्युबाको चिनी किन्यो । बिस्तारै क्युबाको सम्पूर्ण व्यापार सोभियत संघ गुटका देशहरूमा केन्द्रित हुन पुग्यो ।
क्युबाको क्रान्तिकारी सरकारले कृषिमा विविधीकरण गर्न थाले पनि अमेरिकी नाकाबन्दी र सोभियत संघसँग बढ्दो निर्भरताका कारण उखुखेतीकै बाहुल्य रहिरह्यो ।
व्यापक यन्त्रीकरण र रसायनमा आधारित खेतीको विकास पनि भइरह्यो । जबसम्म सोभियत संघमा आबद्ध देशहरूको समूह क्युबाका लागि चिनी निर्यातको राम्रो बजार र पेट्रोलयम, रासायनिक सामग्री र खाद्यान्नका लागि भरपर्दो आधारका रूपमा रहिरह्यो, तबसम्म क्युबाले आर्थिक समृद्धि राम्रै हासिल गरेको थियो ।
क्युबाले क्रान्तिपछिको तीन दशकमा कृषिको औद्योगिकीकरण तीव्र पार्यो । सोही अवधिमा गाउँबाट सहरतिर पनि हुलका हुल जनता झर्ने क्रम बढ्यो ।
सन् १९८९ मा सोभियत संघको विघटन सुरु भएपछि समाजवादी देशहरूको आर्थिक सहयोग परिषद्अन्तर्गतका देशहरूबाट क्युबाले पाउँदै आएको व्यापारिक सुविधा अचानक खारेज भयो ।
क्युबाको अर्थतन्त्रमा नयाँ संकटको मोड पनि यहीँबाट सुरु भयो । क्यास्ट्रोको क्युबाली सरकारले सोही संकटको सामना गर्न शान्तिपूर्ण विशेष समयको घोषणा गर्यो ।
संकटको अभावमा आफ्नो टापुलाई बचाइराख्न योजनाबद्ध लोडसेडिङ, यातायातमा साइकलको प्रयोग र ट्याक्टरको स्थानमा पशुको प्रयोगजस्ता विविध रणनीति लियो ।
आयात खाद्यान्नमा निर्भर क्युबाको अप्ठ्यारा वर्षहरूको सुरुवातपछि खाद्यान्न वितरणमा कोटा प्रणाली लागू गरियो । खाद्यान्नको कमीका कारण भिटामिन बीको अभावमा न्युरोप्याथी फैलिई ५० हजार मानिसले त्यस बेला आँखाको ज्योति गुमाए ।
धेरै क्युबाली जनताले संकटको समयमा कम्तीमा १० देखि १५ केजीसम्म तौल गुमाए । त्यस बेला केही जनताले निराशा र हताशाका कारण क्युबा छाडे । तर धेरैले चुनौतीका विरुद्ध खडा भएर प्रकोपलाई जित्ने साहस देखाए ।
संकटलाई झन् गम्भीर पार्न अमेरिकाले नाकाबन्दी कसिलो बनाइरह्यो । अमेरिकाले क्युबामा उसका मित्रदेशका उद्योगहरूले समेत खाद्यान्न र औषधि बेच्न नपाउने नियम बनायो ।
यी र यस्ता संकट समाधान गर्न क्युबाले बाध्यतावश प्रांगारिक खेतीको थालनी गर्यो । सन् १९९० मा जीवन धान्नसम्म हुने अर्थ–व्यवस्थाको थालनी गरियो ।
सम्भाव्य खेतीयोग्य जमिनको एक टुक्रा पनि खाली नराख्ने घोषणा भयो । कृषि रसायनको अभावका कारण स्थानीय स्तरमा जे उपलब्ध छ त्यही उपयोग गर्न कृषक विवश बने ।
यही विवशताले क्युबा प्रांगारिक कृषिमा रूपान्तरण भयो । बिस्तारै बृहत्तर पर्यावरणमैत्री कृषिको विकास हुन थाल्यो । स्थानीय रूपमै बनाइएका कम्पोस्ट र गड्यौले मल ९जैविक मल० को प्रयोग बढ्यो ।
सरकारले खाद्य ओसारपसारलाई न्यून पार्दै ‘जहाँ उपभोक्ता, त्यहीँ उत्पादन’ शैलीमा काम थाल्यो । खाली जमिन भएका कार्यालय र संस्थाले आफ्ना लागि आफैं खाद्यान्न उत्पादनको कार्यक्रम सुरु गरे ।
विकेन्द्रीकरणसँगै सरकारको नीतिले–कृषि उपजहरूको मूल्य माग र आपूर्तिका आधारमा निर्धारण गर्न पाउने व्यवस्था भयो । रक्षा मन्त्रालयले ‘खाद्य उत्पादन हाम्रो मुख्य कार्यभार हो’ भनेर घोषणा नै गर्यो ।
सन् १९९३ मा क्युबा सरकारले अत्यावश्यक ठानिएको साहसिक कृषि सुधार नीति लागू गर्यो । यसले ठूला सरकारी फर्मलाई सहकारी उत्पादनका आधार इकाई यूबीपीसी भनिने स्थानीय श्रमिकहरूबाट स्वायत्त रूपमा सञ्चालित ससाना सहकारीहरूमा टुक्य्रायो ।
सन् १९९४ को वसन्त ऋतुको आखिरीतिर राज्यको स्वामित्वमा रहेका सबै चिनी फर्महरू यूबीपीसीमा रूपान्तरित भए । यसको कुल सदस्य–संख्या १,३३,६८५ थियो ।
क्युबामा रासायनिक विषादी विस्थापन गरेर जैविक नियन्त्रणका विधिहरूको प्रयोग धेरै प्रभावकारी र पर्यावरणीय दृष्टिकोणबाट समेत महत्त्वपूर्ण रह्यो ।
क्युबाली जनताले बहुखेती प्रणाली अवलम्बन गर्दै फरकफरक बाली लगाउने, बाली चक्र अपनाउने र रैथाने बाली लगाउनेजस्ता परम्परागत अभ्यासहरूको पुन थालनी गरे ।
अमेरिकी नाकाबन्दी र सोभियत संघको पतनले ट्याक्टर र इन्धनको अभावमा कृषकहरू गोरुको सहारा लिन बाध्य भए । कृषिका लागि जनतामा सकारात्मक सोच बन्यो र ग्रामीण भेगमा रहेको सहरकेन्द्रित पलायन हट्यो ।
प्रकृतिको पुनर्जीवनका लागि सन् १९९० को दशकको प्रारम्भदेखि नै १ लाख हेक्टर जमिनमा हरेक वर्ष वृक्षरोपण सुरु गरियो । बाँस, निगालोलगायत बिरुवाहरूबाट सम्पूर्ण क्षेत्रमा हरियाली बनाइयो ।
सन् १९९० को सुरुमा १४ प्रतिशत जंगल भएको क्युबामा सन् २००६ मा पुग्दा बढेर २४ प्रतिशत भयो । सन् १९८९ अगाडि सहरी कृषिको प्रयोग नभएको क्युबामा संकटकै कारणले त्यसको पनि सुरुवात भयो ।
खाद्य संकट झेलेपछि अचानक र स्वतस्स्फूर्त रूपमा सहरी करेसाबारीको थालनी गरियो । सन् १९९४ मा सहरको खाली जमिनलाई खाद्यान्न उत्पादनका लागि प्रयोग गर्ने उद्देश्यसहित संसारमै पहिलोपटक हभानामा सहरी कृषि विभाग गठन गरियो ।
सन् १९९६ मा फेरि एउटा कानुन पास गरी सहरमा कुनै पनि कृषिक्षेत्रमा रासायनिक पदार्थको प्रयोगमा प्रतिबन्ध लगाइयो । त्यसै गरी सबैतिर आफ्नो सञ्जाल भएको कृषि विभागले प्रांगारिक कृषि बगैंचासम्बन्धमा असंख्य तालिम र गोष्ठीहरू चलायो ।
चरम संकटपछि उदायको प्रांगारिक कृषिले विश्व समुदायमाझ क्युबालाई नमुना बनाइदियो । क्युबामा चरम खाद्य संकटको समाधान प्रांगारिक खेती प्रणालीले गर्यो ।
जैविक कृषिमा विश्वमै महत्त्वपूर्ण काम गरेबापत सन् १९९९ मा स्विडिस संसद्ले क्युबाली प्रांगारिक कृषि संघलाई वैकल्पिक नोबेल पुरस्कार भनिने राइट लाइभ्लीहुड पुरस्कारले सम्मानित गर्यो ।
सन् २००६ मा विश्व वन्यजन्तु कोषको लिभिङ प्लानेट र ग्लोबल फुटप्रिन्ट नेटवर्कको प्रतिवेदनले ‘विश्वमा क्युबा एक मात्र त्यस्तो देश हो जसले वास्तवमै दिगो विकास हसिल गरेको छ’ भनी घोषणा नै गर्यो ।
लिभिङ प्लानेटको सन् २००६ को प्रतिवेदनले क्युबालाई उच्च तहको साक्षरता, लामो औसत आयु र खनिज पदार्थको कम उपभोग गर्ने देश पुष्टि गरेको छ ।
रासायनिक विषादीरहित सबै जैविक खानपिन, विविध खानेकुरा र सक्रिय क्रियाकलापका कारण क्युबालीहरूको स्वास्थ्यमा सकरात्मक प्रभाव छ ।
विश्वभर आक्रान्त पारिरहेको मुटुरोग अन्य देशहरूमा बढिरहँदा क्युबामा भने १९७० को दशकमा भन्दा ४५ प्रतिशतले कमी आएको छ । साथै क्युबाको बाल मृत्युदर अमेरिकाको भन्दा पनि कम छ ।
त्यस्तै नेसनल जियोग्राफी पत्रिकाको एउटा लेखमा क्युबाको वातावरण, वनको संरक्षण र विस्तारका लागि जमिनका ठूला फाँटहरू छुट्याइएका कारण एकदमै चोखो रहेको भनी उल्लेख गरिएको छ ।
अर्गानिक खेतीको क्रान्तिले क्युबाको जीवनशैली र वातावरण पूर्ण रूपमा बदलिएको छ । क्युबाको अर्गानिक खेती तत्कालीन समस्याको समाधान हुँदै अहिले विश्व समुदायले अवलम्बन पर्ने पाठशाला बनेको छ ।
नेपालले पनि करिब एक वर्षअघि भारतीय अघोषित नाकाबन्दीको सामना गर्नु पर्यो । तर विडम्बना के छ भने कामभन्दा कुरा ठूला गर्ने प्रचलन अझै हराएको छैन ।
अझै पनि परनिर्भरता व्यापक मात्रामा छ । नेपालमा उत्पादन हुँदै गरेका केही खेतबारीमा आधुनिकताका नाममा रासायनिक विषादीको प्रयोगले गर्दा खाने कुराभन्दा बढी रोगको भण्डार उत्पादन भइरहेको छ ।
त्यसै गरी हाम्रा गाउँ–बस्ती र सहर–बजारमा धेरै खेतबारी बाँझै छन् । देशमा रहेको उत्पादनशील जनशक्ति उत्पादनमा जोड दिँदैन । एक काइयो केरादेखि दाल, चामल र तरकारीसम्म विदेशको भर गर्नुपर्ने अवस्था छ ।
करिब ६ महिनासम्म भारतले नाकाबन्दी गर्दासमेत नेता र जनताको होस खुल्न सकेको छैन । बजारदेखि गाउँघरसम्मै आयात गरिएको वस्तु किनेर खानेको भिडभाड मात्रै छ ।
हो अहिले नेपालले क्युबाका फिडेल क्यास्ट्रोजस्ता नेता चाहेको छ । अमेरिकाले गरेको लामो नाकाबन्दीविरुद्ध जुट्दै क्युबामा भएको एक सफल अर्गानिक खेतीको रहस्योद्घाटन हाम्रो देशमा पनि लागू गर्नुपर्ने बेला आएको छ ।
बाउबाजेले गरेको बहुखेती कृषि–प्रणाली र जैविक विषादीको सफलताबारे क्युबाबाट केही सिक्नुपर्ने देखिन्छ । सहकारीको असल प्रयोग र खेतीपातीसम्बन्धी उपर्युक्त नीतिद्वारा क्युबाले विश्वलाई चकित पारेको विषय साँच्चिकै नेपाली जनताका लागि पनि ज्यादै उपयोगी छ ।
क्युबाले चरम संकटपछि सुरु गरेको अर्गानिक खेती, सहकारीको माध्यमबाट गोलबद्ध पार्ने नीति र जमिनलाई बाँझो नराख्ने कार्यबाट हामीले पनि केही सिक्नुपर्ने बेला आएको छ ।
देशमा खाद्य सुरक्षाका लागि हामी पनि क्युबाले सुरु गरेको अर्गानिक खेतीबाट केही सिकौं । आफूलाई बाँच्नका लागि चाहिने खाद्य वस्तुको उत्पादन आजैदेखि सुरु गरौँ ।
( थापा डिभिजन वन कार्यालय, बागलुङका सहायक वन अधिकृत हुन् )