३ जेष्ठ २०८१, बिहीबार

 

देवकोटा कवि कि महाकवि ?

देवकोटाका केही पक्ष अन्तरविरोधी छन्– सुरुदेखि अन्त्यसम्मै। उनका उन्तरविरोधी पक्षलाई उपेक्षा गर्‍र्यौं भने त्यो भयानक गल्ती हुन्छ।देवकोटा नेपालका प्रतिभा सम्पन्न कवि हुन्। उनी कवितामा मात्रै केन्द्रित छैनन्– महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा समालोचना सबै क्षेत्रमा कलम चलाएका छन्। उनी मूलतः कवि हुन्।

देवकोटालाई मूल्यांकन गर्ने सन्दर्भमा नेपालका समालोचक र साहित्यकारले ‘उनी केही पनि होइनन्, विचारविहीन मान्छे हुन्’ भन्दै अवमूल्यन पनि गरेको देख्छु।

अर्कोतिर ‘नेपालको साहित्यकार भनेको देवकोटा मात्रै हुन्, देवकोटा बाहेक अरू छैनन्’ भन्दै अधिमूल्यांकन पनि गरेको देख्छु। समाज उपयोगी रचनालाई कम मूल्यांकन गर्ने र समाजका लागि कम महत्व भएका सामग्रीलाई बढाइचढाइ गर्ने प्रवृत्ति देखिन्छ। उनलाई अधिमूल्यांकन र कम मूल्यांकन दुवै नगरी उचित मूल्यांकन गरिनुपर्छ।

महाकाव्यमा खडेरी परेको अवस्थामा उनले ‘शाकुन्तल’ लेखे। त्यो महाकाव्य उनले तीन महिनामै लेखे भनिन्छ। उनले ६ वटा महाकाव्य लेखेका छन्। उनलाई ठूला कवि हुन् भन्नु र महाकवि हुन् भन्नुमा खासै फरक देख्दिनँ।

देवकोटालाई कसरी महाकवि भन्न थालियो भन्नेबारे मलाई ठ्याक्कै थाहा छैन। राहुल सांकृत्यायनले ‘धर्मयुग’ पत्रिकामा देवकोटाभित्र भारतीय ठूला छायावादी कविहरू जयशंकर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’ तिनै जना पाउन सकिन्छ भनेका थिए।

देवकोटा ती सबैका संगम हुन्, भनेका थिए। तर, देवकोटालाई कसरी महाकवि भन्न थालियो भन्नेबारे मैले खोजेको छैन। उनलाई महाकवि भन्नु गल्ती हुन्छ भन्ने मलाई लाग्दैन। नेपाली जनजीवनलाई उनको साहित्यले जति प्रभाव पार्‍यो ९त्यो कति सही कति गलत बेग्लैै कुरा हो, त्यति प्रभाव अरू कुनै कविले पारेनन्।

भानुभक्तलाई आदिकवि भनियो। उनी आदिकवि होइनन् भनेर धेरै खण्डन भइसक्यो। हिजोआज राष्ट्रकवि भन्दै कविलाई पगरी गुथाउने जुन काम जे भइरहेको छ त्यो बेठीक छ। शासक वर्गका लागि स्तुतिपरक साहित्य लेखिदिएकाले उनलाई ‘राष्ट्रकवि’ भन्न थालियो। यसमा नइ प्रकाशनजस्ता संस्था निरन्तर लागि परे। त्यसैमा अरू पनि बग्दै–बग्दै गएको देख्छु।

देवकोटासँगै तत्कालीन रूसको तासकन्दमा भएको सम्मेलनमा पुग्ने मानिस माधवप्रसाद घिमिरे पनि हुन्। के भनिन्छ भने ‘देवकोटा कम्युनिस्ट भयो’ भनेर महेन्द्रलाई सुनाउने कवि घिमिरे नै हुन्।

त्यसैकारण एकेडेमीमा सदस्य रहेका देवकोटाले त्यहाँबाट पाउने भत्ता पनि रोकियो भनिन्छ। त्यसैले देवकोटालाई औषधि उपचारमा समस्या भयो। एकेडेमीको तलब रोकिएपछि ट्युसनजीवी देवकोटाको स्वास्थ्यमा ठूलो असर पर्‍यो। कतिपयले त त्यही घटनाले उनलाई मृत्युको मुखमा धकेल्यो पनि भन्छन्।

देवकोटा–किस्सा

देवकोटा एउटा मिथक पुरुषजस्ता लाग्छन्। उनीबारे धेरै किस्सा बनाइएका छन्। केही बढाइचढाइ पनि पाउँछु। उनको दरिद्रताबारे अतिरञ्जना पनि भयो। तर, जसले देवकोटालाई बुझेका छन्, उनीसँग संगत गरेका छन् तिनीहरूको भनाइअनुसार, देवकोटा एकदमै उदार थिए।

गरिबलाई आफूसँग जे छ त्यो दिन्थे। देवकोटाले जति कमाएर ल्याए पनि त्यो उनको घरमा बच्दैनथ्यो भन्ने सुनेको छु। त्यो पुष्टि पनि हुँदै छ। देवकोटा जे–जति कमाउँथे, सबै पैसा उनकी श्रीमतीले धार्मिक संस्थामार्फत पशुपतिमा पुर्‍याउँथिन् पनि भनिन्छ।

केआई सिंहको पालामा देवकोटा तीनरचार महिनामात्रै शिक्षामन्त्री भए। लामो समय ट्युसन पढाएरै बाँचे। वनारसमा ‘युगवाणी’को सम्पादक रहँदा ‘एउटा चुरोटका लागि पनि कविता लेख्थे’ भनिन्छ। २५ पैसामा कविता बेचेर जीविका चलाउँथे पनि भनिन्छ।

देवकोटा भारतमा पनि विडम्बनापूर्ण तरिकाले बसे। उनका नजिकका श्यामदास वैष्णवलगायतको कुरा सुन्दा देवकोटाको अवस्था विपन्नै थियो। त्यस्तो अवस्थामा समस्या भोगेनन् भन्न सकिन्न। तर झट्ट हेर्दा एकातिर मन्त्री पनि भएका छन्, अर्कोतिर दरिद्र जीवन बाँचे पनि भनिन्छ। अलि नमिल्दो कुरा देखिन्छ।

अन्तरविरोधी देवकोटा

देवकोटाका केही पक्ष अन्तरविरोधी छन्– सुरुदेखि अन्तसम्मै। उनका उन्तरविरोधी पक्षलाई उपेक्षा गर्‍यौं भने गल्ती हुन्छ। उनी अलिअलि ईश्वरवादी पनि छन्। जीवनको अन्तिम वर्ष क्यान्सरले पीडित भएको बेला ‘आखिर श्रीकृष्ण रहेछन् एक’ भने।

उनले सुरुदेखि नै राणाको स्तुतिगान पनि गाए। अन्त्यतिर पनि त्रिभुवन र महेन्द्रको स्तुतिगान गाए। बाँच्नुपर्ने बाध्यताले बेलाबेला त्यस्तो गरेको हुन सक्छ। कुनैबेला सामाजिक जीवनमा समाधान गर्न नसकिने विषय ९जस्तै धर्म, अलौकिक तत्व०बारे विचार राखे उनले।

देवकोटा उत्पीडित जातजातिको पक्षमा थिए। उनको समयमा कसैले पनि तामाङ, शेर्पा, मगरलाई नायक बनाएनन्। तर, उनले आफ्ना कृतिमा तिनैलाई नायक बनाए।

नेपाली भनेको ‘बाहुन–क्षेत्री, शासक जाति र वर्ग मात्रै होइन, अरू पनि छन्’ भनी देखाए। क्षेत्री–बाहुन परम्पराबाट आएका नायकको ठाउँमा शेर्पा, मगर तामाङ पात्रलाई नायक बनाए। उनी पुरानो संस्कारबाट मुक्त नभइसकेका तर त्यो संस्कारबाट मुक्त हुने प्रक्रियाका थिए।

जीवनको पछिल्लो खण्डमा आइपुग्दा उनी क्रान्तिकारी स्वछन्दतावादी थिए। रूसको तासखन्दमा उनले दिएको प्रवचनले उनलाई भौतिकवादी देखाउँछ। यी पक्ष देवकोटाभित्र रहेको अन्तरविरोध र असंगतिको पाटो हो। यिनै असंगतिको पाटोलाई मात्रै हेरेर विश्लेषण गरियो भने देवकोटामाथि अन्याय हुन सक्छ।

देवकोटाको वैचारिकी

कतिपयले देवकोटाका सुरुआती अवस्थालाई मात्रै हेरि पछिल्लो अवस्थालाई उपेक्षा गर्छन्। माक्र्सवादीले माक्र्सवादी कोणबाट मात्रै मूल्यांकन गर्न खोज्ने, कांग्रेसवृत्तले आफ्नै दृष्टिकोणअनुसार व्याख्या गर्ने गरेका छन्। अर्काथरी चाहिँ देवकोटालाई ‘प्रकृतिका ठूला कवि’ मात्रै मान्छन्। तर, देवकोटालाई समग्र कोणबाट हेरिँदैन।

मूलतः देवकोटा समकालीन युग र यथार्थलाई हेरेर विचारलाई परिष्कृत गर्दै लेख्ने लेखक हुन्। यस अर्थमा उनको विकास ‘तलभन्दा माथि’ हुँदै गएको देखिन्छ। सुरुमा उनीसँग स्पष्ट दृष्टिकोण थिएन। यो साँचो हो।

समानता, स्वतन्त्रता र भ्रातृत्वको पुँजीवादी विचारबाट पनि उनले सुरुमा मूर्त रूपमा लेख्न सकेनन्। आफूलाई सुरुदेखि नै क्रान्तिकारी रूपमा पनि परिवर्तन गर्न सकेनन्। तर, छुट्ट्याउनै नहुने पक्ष के हो भने सुरुदेखि अन्त्यसम्म देवकोटा मानवतावादी दृष्टिकोणमा भने दृढ छन्।

२००३ देखि देवकोटा राष्ट्रिय कंग्रेसमा लागे। पढाउँदा पढाउँदैको जागिर छाडेर ‘युगवाणी’को सम्पादक हुन भारत पुगे। उनी क्रान्तिमा हामफाल्नै गएका हुन्। पत्रिकामा राजतन्त्रविरुद्धका कथा र कविता छापे।

देवकोटा ब्राह्मण परिवारका मानिस हुन्। दरबारसँग नजिकको सम्बन्ध भएका मानिस पनि। त्यसैकारण उनले पुरातनपन्थी चिन्तन चटक्कै फ्याँक्न पनि सकेनन्।

त्यति हुँदाहुँदै पनि कम्तीमा परिष्कारवादी चिन्तनविरुद्ध लेखे। गरिबप्रति सहानुभूति राख्ने, धनीप्रति अलिअलि वितृष्णा खडा गर्ने काम सुरुदेखि नै उनमा देखिन्छ। ती सबैका लागि उनले स्वछन्दतावादी रचनाविधि अपनाए।

राजतन्त्रतान्त्रक व्यवस्था वरिवरि रहेर लेखिने साहित्यलाई हामी शास्त्रीयतावादी अभिजात्यवादी भन्छौं। यसले निरंकुशताको पक्षपोषण गर्छ। स्वछन्दतावाद यही चिन्तनको विरुद्धमा अगाडि आएको चिन्तन हो।

लेखनाथ पौड्याल र बालकृष्ण समको शास्त्रीयतावादी साहित्यको ठाउँमा देवकोटाले स्वछन्दतावादी साहित्य लेखे। स्वछन्दतावादले सहरी जीवनभन्दा ग्रामीण जीवन राम्रो हो भन्छ। जनजीवनका लोकलय र लोक धुनलाई प्राथमकितामा राख्छ र प्रकृतितिर फर्क भन्छ। तर, हामीले नेपालमा स्वछन्दतावादलाई सही रूपमा स्थापित गर्न सकेनौं।

स्वछन्दतावादका विभिन्न रूप हुन्छन्। एउटा निष्क्रिय, अर्को सक्रिय स्वछन्दतावाद। सक्रिय स्वछन्दतावादलाई पश्चिमातिर सामाजिक स्वछन्दतावाद पनि भनिन्छ। सजिलोका लागि सक्रिय स्वछन्तावादलाई क्रान्तिकारी स्वछन्दतावाद पनि भनिन्छ।

क्रान्तिकारी स्वछन्दतावादका पनि दुई रूप छन्। एउटा पुँजीवादी सीमाभित्र क्रान्तिको वकालत गर्ने। अर्को पुँजीवादी सीमा बाहिर निस्किएर समाजवादी दृष्टिकोणअनुसार क्रान्तिको पक्षपोषण गर्ने। देवकोटामा क्रान्तिकारी स्वछन्दतावादका केही पक्ष थिए। उनी जनजीवनको पक्षमा उभिए। जाति व्यवस्थाको विरोधमा उभिए। नेपाली झ्याउरे लोकलय अँगाले। ‘मानिसले बलिदान गरेको ठाउँ मेरो लागि श्रद्धास्थल हो’ भने।

देवकोटा २००७ को वरिपरिसम्म पुँजीवादी चिन्तनअन्तगतको क्रान्तिकारी धारमा थिए। सात सातको असफल क्रान्तिपछि उनले आफ्नो सिर्जनामा पुनर्विचार गरेको देखिन्छ। सात सालको क्रान्तिवरिपरि उनले लेखेका रचनाले ‘क्रान्ति असफल भयो’ भन्छ।

उनले त्यतिखेरको नेतृत्वलाई गाली गरेका छन्। ‘क्रान्ति जरुरी छ’ भन्दै उनी क्रान्तिको आह्वान गर्छन्। त्यो समयलाई देवकोटाको उत्कर्ष र इन्द्रेणी काल पनि भनिन्छ। इन्दे्रणीकालका अधिकांश रचना समाजवादी चिन्तनबाट प्रभावित छन्। उनी पूर्ण समाजवादी हुन्, म भन्दिनँ। उनको त्यो कालखण्डलाई प्रगतिवाद उन्मुख भन्न सकिन्छ।

२०१० सालपछि उनी जब पूर्वी युरोप, रूस, चीनलगायतका देश भ्रमण गरी फर्किए, त्यसपछि उनको विचारमा बदलाव आएको देखिन्छ। तासकन्दमा दिएको भाषणमा उनले वर्गीय साहित्यकै वकालत गरेका छन्। साहित्य माथिल्लो वर्गको सोखको विषय हुन सक्दैन भनेका छन्।

त्यहाँ उनी वर्गीय साहित्यको पक्षमा उभिएका छन्। उनले बौद्धिक रूपमा द्वन्द्वात्मक भौतिकवादको समर्थन गरेका छन्। भौतिक रूपमा माक्र्सवादको पनि समर्थन गरेका छन्। माओबारे कविता पनि लेखेका छन्।

देवकोटाले इन्द्रेणीकालमै आफूलाई सिद्धहस्त प्रमाणित गरे। उनले ‘कृषिवाला’ नाटकमा सामन्त र किसानको द्वन्द्वलाई देखाएका छन्। सामान्तको विरुद्ध जुध्नुपर्छ भनेका छन्। देवकोटाको ‘पागल’ कविता र ‘गोली हो, यो गोली हो’ जस्ता रचनाले सशस्त्र क्रान्तिको आह्वान गर्छ।

समालोचकहरू देवकोटामा यी सबै पक्षलाई उपेक्षा गर्ने र उनीभित्रको भारतीय चिन्तन अनि हिन्दु परम्परालाई मात्रै महिमामण्डन गर्ने ‘शाकुन्तल’ महाकाव्यलाई चाहिँ उनकोे पयार्यावादी हो भनी प्रस्तुत गर्छन्।

‘शाकुन्तल’ महाकाव्यको कुनै सामाजिक दायित्व र महत्व छ भन्ने मलाई लाग्दैन। ‘शाकुन्तल’ले अतीततिर फर्किने, अतीतको गुणगान गाउने निष्क्रिय स्वछन्दतावादको पक्षपोषण गर्छ। ‘प्रमिथस’ जत्तिको सशक्त, परिमार्जित र सामाजिक उपादयेताको दृष्टिकोणले पनि महत्वपूर्ण महाकाव्य उनको अर्को छैन।

देवकोटालाई किन सम्झिने ?

नेपाली साहित्यका अनुभवलाई सँगालेर, अनुभवलाई सञ्चित कोषको रूपमा राखी नयाँ उदीयमान प्रतिभाहरू अगाडि बढ्नुपर्छ। तर, नयाँ पुस्ता देवकोटा पढ्दैनन्, भूपि पढ्दैनन्, रिमाल पढ्दैनन्। नयाँ पुस्ताले महत्वपूर्ण पक्ष छुटाइरहेको छ।

अघिल्लो पुस्ताको कलात्मक विशेषतालाई आत्मसात गरियो भने मात्रै आफूलाई परिमार्जित गरेर अगाडि बढ्न सकिन्छ। देवकोटा, रिमाल, भूपि कसैलाई पनि नपढ्ने हो भने नेपाली साहित्यले आर्जन गरेको सीप हराएर जान्छ। हाम्रो आधार पनि रहँदैन। त्यसपछि हामी कुन जगमा उभिने ?

अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्