३ जेष्ठ २०८१, बिहीबार

 

यस कारण महाकवि

विसं २००२ सालमा तत्कालीन भाषानुपरिषद्का अध्यक्ष श्री मे. क. पुष्करशमशेरको चुनौतीलाई स्विकार्दै लक्ष्मीप्रसाद देवकोटाले दस दिनमै लेखेको महान् कृति हो– सुलोचना । यसको सिर्जनापछि नै उनले महाकविको सर्वस्वीकार्य लोक–उपाधि पाएका थिए ।

सुलोचनामा कल्पनाको उडानभन्दा पनि सामाजिक यथार्थको गहिराइ छ । स्रष्टाको जीवन–दर्शन र निजी भोगाइ छ । अनि साहित्यिक सौन्दर्य र भाव पक्षको एउटा बेग्लै उचाइ छ ।महाकाव्य भईकन पनि सुलोचना पूर्णतः औपन्यासिक स्वादमा छ ।

यसबारे महाकविले कृतिको भूमिकामा आफैँ भनेका छन्– ‘‘के उपन्यास छन्दमा लेखिन सकिँदैन सायद कविता र उपन्यास मिले दुवैमा मजा आउला । कति सफलता पाएको छ, सो पाठकले विचार गर्ने कुरा हो ।’

देवकोटाले लेखेको सुलोचना पुस्तकको भूमिका

यो पुस्तक दसै दिनको गर्भधारणबाट पैदा भएको हो । जहाँ स्त्रीजातिलाई दस महिना लाग्दछ त्यहाँ दसै दिनमा कविबाट प्रसूति हुनामा महाकाव्य भन्न सुहाउँदो रचनाको विचित्र विलक्षणता हुनुपर्दछ कि यो होला साहैै्र बोधो, कि ज्यादै विचित्र ।

सायद यी दुवै छैन । यसमा खहरेको वेग थियो । बाढी आएको बेलामा पानी जरुर धमिलो भएकै होला, माटो भए पनि वाग्मतीजस्तो पवित्रता या गंगाजीको जस्तो न्यूनता राख्ने खोलो भए सज्जनवर्गका चाखलाई काम लाग्दो हो ।

तर छ साधारण सामाजिक औपन्यासिक सामग्री र युक्तिको कल्पनाद्वारा रचना गरिएको कविता—उपन्यास जसलाई महाकाव्य भन्ने साधारण समझको उपाधि सायद उपाधि नै हुने गरी दिइएको छ ।यो काव्य कुरैकुराले जन्मिन गयो । भाषानुवाद—परिषद्का अध्यक्ष श्री मे. क. पुष्करशमशेर जंगबहादुर राणासँग मैले बिन्ती गरेँ, ‘एक नेपाली महाकाव्य त म दसै दिनमा तयार गर्न सक्छु ।’ उहाँबाट मर्जी भयो, ‘दस दिनमा तयार गर न त हेरूँ ।’

मैले कम्मर कसेँ । घडी हेरेर लेखिन सुरु भयो । एक घण्टामा स्वागतमा ४५ श्लोक जुद्धसडकमा मोटर दगुरेझैं दौडे, कविताले मलाई टिपेर लग्यो । शार्दूलविक्रीडितमा ३५ श्लोक कुदे, अनुष्टुप्मा मैले गनिनँ । २५ वर्षको कविताको तपस्या थियो । म श्लोकमा कुरा गर्न सक्छु । दिनभरि श्लोकमा फतफताइन रहन सक्छु । तब दस दिनमा एउटा महाकाव्य किन नबनोस् ?

अझ होड गरेको थिइनँ, सायद एक दिनभरिमा एउटा लेख्न सक्छु भन्ने समेत मलाई आशा छ । तर चाँडै विचार गर, छन्दमा कुद । तब विचार कसरी गहिरो होस रु छिपछिपे नै होला यहाँ । तब बेसै भयो भनिठान्दछु । किनकि बुझिएन भन्नेको संख्या बढेको बेलामा अरूलाई निस्सासिनु ता परेन ।

सामग्री सामाजिक लिएँ । मैले यो सम्झेँ कि यो पनि एक नयाँ ढंग होला । नाटकभन्दा सायद बेस हुन सक्छ, किनकि कल्पना प्रशस्त बोल्ने अवकाश मिल्छ । समाज चित्रण यस्ता काव्यमा राम्रो तबरले गर्न सकिन्छ, नाटकमा भन्दा ।

म यहाँ कवितात्मक नाटककार बनेको हुँला अथवा पद्यात्मक उपन्यासकार । के उपन्यास छन्दमा लेखिन सकिँदैन रु सायद कविता र उपन्यास मिले दुवैको मजा त आउला । कति मात्रामा मिल्न सक्छन् र यहाँ कति सफलता पाएको छु, सो पाठक वर्गले विचार गर्ने कुरा हो ।

कथाको आकाशमा उडिरहने किल्लीमा जीवन प्रतिविम्बी सिर्जना सामग्रीहरू आधुनिक नजरले पक्रेर मैले कल्पनाको कार्चोपीमा छन्दको दौडमा बेअडान पंक्तिहरू हवाईजहाज कुदाएर यो काव्य निर्माण गरेको छु । ठाउँठाउँमा वर्णन लामो भएर चिच्याटलाग्दो हुन गयो कि भन्ने डर छ । छरितो छनाइलाई समय पो कहाँ थियो र ।

पछि एकैबाजि दोहो¥याएँ । खालि शब्दहरू बिगारेर लेखिएका ठाउँमा सुधार गर्न । तर ढिलो लेख्ने कछुवाहरू गोलमा पुग्दछन्, म खरायो बीचैमा निदाएर दौड हारिरहेछु । यो पनि एक किसिमको खेलकुदको मज्जा हो ।

यहाँ बुनाइ, कताइ, छनाइ, तौल, नाप, जाँच, अक्षर पुछाइ पाइनेछैन । भविष्यलाई पातीका नाममा तीतेपाती चडाउन सक्छु । तर यो पनि कविता संसारको सानो टुँडिखेलमा एक दौडबाजी हो । मैले कति हारेँ, पढ्नेले जाँचून्, कति जितेँ, मलाई याद छैन ।

यसको भाषा समितिको व्याकरणको निम्ति सिफारिस पनि हो, किनकि ज्यादाजसो व्याकरण शुद्ध भएर पनि यो महाकाव्य दसै दिनमा लेखिनमा आधुनिक नेपाली व्याकरण कविताको जकडबन्दी नेल–हतकडी सम्झिनेको पानी गल्छ । सायद महाकाव्य भन्नुपर्ने, कति मात्रामा सुहाउँछ, म भन्न सक्तिनँ ।

(नेपाली भाषानुवाद — परिषद् नेपाल । १५ माघ, २००२०)
– लक्ष्मीप्रसाद देवकोटा बी.ए., बी.एल., सुलोचना पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्