३ जेष्ठ २०८१, बिहीबार

 

लेखक राम विन्दु श्रेष्ठको ‘मेरो सोभियत सम्झनाहरु’ सार्वजनिक

इन्जिनियर राम विन्दु श्रेष्ठको संस्मरणात्मक कृति मेरा सोभियत संझनाहरुको काठमाडौंमा शुक्रबार विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तक विमोचन गर्नु भएको हो।

कार्यक्रममा आफ्नो भनाइ राख्दै पुस्तकका लेखक ई. राम विन्दु श्रेष्ठले पुस्तकमा आफू जन्मथलो बागलुङदेखि काठमाडौं हुँदै छात्रवृत्तिमा तत्कालीन सोभियत संघमा इन्जिनियरिङ अध्ययन गर्न जाँदा बखतका अनुभव, अनुभुति,नियात्रा, सिकाई र भोगाइका विविध पक्षबारे लेखेको बताउनुभयो।

कार्यक्रममा पुस्तक बारे समीक्षा राख्दै नेपाल रुस साहित्य समाजका महासचिव इन्जिनियर चन्द्र कान्त आचार्यले श्रेष्ठको पुस्तकले आफू सन् १९७८ मा अध्ययनका लागि सोभियत संघ जाँदाको आफ्ना अनुभुति र सम्झनालाई ताजा गरेको बताउनुभयो। उहाँले आफू र लेखकका अनुभवबीच सामान्जस्यता पाएको बताउनुभयो।

यस्तै कार्यक्रममा मित्रकुन्जका अध्यक्ष इन्जिनियर ध्रुव महर्जनले श्रेष्ठ प्रती शुभकामना व्यक्त गर्दै सोभियत संघबाट पढेर आएकाहरु नेपालका विभिन्न क्षेत्रमा पायोनियरका रुपमा प्रशंसनीय कार्य गरिररहेको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. खेम कोइराला बन्धुले श्रेष्ठको पुस्तकमा लेखकले आफनो स्मृति इमान्दारीपूर्वक प्रस्तुत गरेको बताउनुभयो। पुस्तकमा संस्मरण, नियात्रा र कवितामार्फत तत्कालीन सोभियत संघका संस्कृति, इतिहास, भू्गोल, समाज र साहित्यलगायत विविध आयाम समेटिएको बताउनुभयो । उहाँले पुस्तकमा श्रेष्ठको साहित्यिक गुण र छवि झल्किएकोमा प्रशंसा गर्नुभयो।

यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नहेन्द्र प्रधानले पुस्तकमार्फत रुसका साहित्य र अनुभवबाट रुस नपुगेकाहरुले पनि त्यसबारे जान्न पाउने बताउनुभयो ।

यस्ता कृतिहरु लेख्न एक जनाको अनुभवबाट धेरै पाठकले महत्वपूर्ण जानकारी लिन सक्ने र लेखनका लागि उत्प्रेरणा मिल्ने उहाँको भनाई थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथी पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तकले सोभियत संघको उतारचढाव पछिको मनोविज्ञानबारे चर्चा गरेको बताउनुभयो।

पुस्तक श्रेष्ठको नियात्रा, संस्मरण मात्र नभइ चिन्तनको फल रहेको उहाँको भनाइ थियो। उहाँले पुस्तक साहित्यमा अनुराग राख्नेका लागि मात्र नभइ राजनीतिमा चासो राख्नेहरुका लागि पनि उपयोगी हुने बताउनुभयो ।

“पुस्तकमा उहाँको मानवीय प्रेम, संवेदना झल्किएको छ। मलाई लाग्छ यो सोभियत संघले दिएको महत्वपूर्ण शिक्षा हो, त्यहाँको शिक्षा, संस्कार र अनुभवको देन हो जुन अमूल्य छ,” आचार्यले भन्नुभयो। उहाँले श्रेष्ठले सोभियत संघका शिक्षा, विद्यार्थी जीवनजस्ता राम्रा पक्ष मात्र नभइ त्यहाँका कमीकमजोरी र सुधार गर्नुपर्ने पक्षबारे पनि लेखेकोमा प्रशंसा गर्नुभयो।

यसैगरी नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा. डा. जंगब चौहानले पुस्तक श्रेष्ठको साहित्यप्रतिको अनुरागका कारण पाठकको ध्यान अन्तिमसम्म केन्द्रित गर्ने खालको रहेको बताउनुभयो।

कार्यक्रम लेखक प्रभा बरालको संचालन, इन्जिनियर सुष्मा खत्री रन्जितको स्वागत मन्तव्य र प्रा डा जंगब चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्