२ जेष्ठ २०८१, बुधबार

 

साहित्य महोत्सवमा पूर्वप्रधानमन्त्री ओलीका रमाइला किस्सा

वाकपटुतामा माहिर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पोखरेलीमाझ प्रस्तुत हुनुभयो । ‘नेपाल साहित्य महोत्सव’को प्रेक्षालयमा उहाँ बोलिरहँदा घरि गम्भीरता छाउँथ्यो घरि ताली र हाँसोको पर्रा छुट्थ्यो । धक नमानी उहाँले जीवनका अन्तरकुन्तर कुरा खोतल्नुभयो । भान्छामा साग केलाउनेदेखि जेलमा बन्दी जीवन बिताउँदाका क्षणलाई एक मेसोमै स्मरण गर्नुभयो ।

‘राजनीतिबाहिरको जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग साक्षात्कार गर्नुभएका ओलीले राजनीतिज्ञ मात्र नभएर एक आम मानिसका रुपमा बाँचेको जीवनका रमाइला अनुभव र भोगाइलाई यसरी साट्नुभयो ।

किस्सा – १

एकपल्ट म हार्मोनयिममा बसेँ । साथीले मलाई सोध्नुभयो । हार्मोनियम बजाउन आउँछ । मैले भने, आउँछ । पछाडिबाट हावा दिनुपर्छ, अनि रिडमा थिच्नुपर्छ । अनि बच्छ, आउँछ । तर, एउटा शर्त छ । मेरो बजाउने तरिका अरु कसैसँग मिल्दैन । मलाई आउन धेरै कुरा आउँछ तर अरुको सँग नमिल्ने हुन्छ । आफ्नै पाराको, मौलिक । अथवा सिक्दै निसकेको बच्चाले जस्तै अत्यन्तै ‘ओरिजिनल’ बजाउँछु ।

किस्सा – २

उत्तर कोरिया जाँदा त्यहाँको चलन अनुसार नेताको सालिकअघि पुगेपछि ‘बो डाउन प्लिज’ भनिँदो रहेछ । उनीहरुले भनेपछि निहुरिनुप¥यो । निहुरिएर सम्मान व्यक्त गर्नुप¥यो । बुद्धको त्यहाँ एउटा राम्रो खाले स्तूपा छ । बुद्धको मूर्ति भएको ठाउँमा पुगेपछि ‘बो डाउन प्लिज’ भन्ने ठाउँ यो पनि हो भन्ने मलाई लाग्यो ।

मैले पनि उनीहरुलाई भनेँ, “बो डाउन प्लिज ।” सबै लाम लागेर बुद्धको मूर्तिअघि झुके । प्रार्थना जस्तो पनि भयो । त्यसअघि मलाई मूर्तिको अगाडि निहुरिउँ भन्ने लाग्दैन थियो । त्यहाँ जब नेताको सालिक अगाडि ‘बो डाउन प्लिज’ भनेर ढोगाएपछि बुद्धको मूर्तिअघि मैले पनि ‘बो डाउन प्लिज’ भनेर ढोगाएर हिँडे । त्यो एउटा यथार्थ घटना हो । त्यसले मलाई सत्य र दर्शन सिकायो ।

किस्सा – ३

विज्ञता कतिलाई भन्ने । मभन्दा नजान्ने खेलाडी पाएँ भने हराउँछु । त्यसैलाई विज्ञता भन्ने हो कि ? त्यसकारण म फुटबल खेल्छु, भलिबल खेल्नुछ, टिटी खेल्छु, स्नुकर खेल्छ, क्यारेम खेल्छु, नजान्ने पाएँ भने हराउँछु । पहिले गिर खेलियो । त्यसबेला क्रिकेट थिएन ।

किस्सा – ४

काठमाडौँका मेयर बालेन शाह तबला बजाउने गर्नुहुन्छ भन्ने मलाई जानकारी थियो । उहाँको माटाको तबला थियो । ठाउँ सार्दा फुट्यो । उहाँसँग तबला थिएन । मसँग मेटल तबला थियो । बलियो थियो । सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अहिले बलियो तबला, राम्रो गुणस्तरको तबला, यो यताउता सार्दावर्दा फुट्दैन है लैजाउ भनेर उपहार दिएको हो ।

किस्सा – ५

अघि यसो कुरा आएको थियो, साग केलाएको । खाना नै मैले कति वर्षसम्म बनाएको छु । आफै चामल केलाएको छु । मलाई छिन्कन, निफन्न, सार्न सबै आउँछ । सायद कतिपयले बुझ्नुहुन्न होला, यो छिन्कने, निफन्ने भनेको के हो ?

राजनीति गर्ने मान्छेले खानु पर्दैन ?, साग खानुपर्दैन ? साग खाने भए केलाउनु पर्दैन ? भ्याएसम्म, सकेसम्म रमाउनुपर्दैन ? संसारमा केही दुःखी मान्छे हुन्छन्, जो कहिल्यै मुस्कुराउँदैनन् । जहिल्यै अँध्यारो मुख लगाएर बस्छन् । कहिल्यै प्रसन्न चित्त हुँदैन । मानिलिउँ यो संसार मात्रै उसैले बोकेको छ ।

संसारको पीर चिन्ता उसैलाई मात्रै छ भनेर बस्छ । आफ्नो भागको पीर, आफ्नो भागको चिन्ता र आफ्नो भागको काम । हामीले काम पनि आफ्नो भागको गर्ने हो । कर्तव्य पनि आफ्नो भागको पूरा गर्ने हो । देउसी खेल्ने ठाउँ भेटियो भने धुम्धुम्ती भएर बस्ने ? त्यहाँ त देउसी रे गाउने, नाच्ने हो ।

किस्सा – ६

सिङ्गो जीवनको कुरा गर्दा म बच्चा थिएँ । किशोर, युवा, अधबैँसे हुँदै गए । अहिले अधबैँसे–अधबैँसे नै छु भन्नुप¥यो । बाँचिरहे बूढो हुनु पनि अनिवार्य नै छ । म बिरामी भएपछि चिन्ता लिएका साथीहरुलाई भनेँ, “हाम्रो खलक अलि अल्पायु, अल्पायु छ । स्वास्थ्य त्यति राम्रो छैन । हजुरआमा पनि १०१ वर्षमा बित्नुभयो ।

हजुरबुबा पनि झण्डै सय वर्ष पुग्दानपुग्दा बित्नुभयो । हेर्दाहेर्दै मेरो बुबा पनि बूढो बूढो देखिन थालिसक्नुभयो भनेको थिएँ ।” मेरो बुबा दुईचार किलोमिटर वरपर हिँड्नुहुन्छ । मेरोभन्दा उहाँको स्वास्थ्य राम्रो छ । जीवन भनेको एउटामात्रै उमेर होइन नि ! म युवा हुँदाको, बालक हुँदाको, किशोर हुँदाको पनि जीवन हो ।

किस्सा – ७

गाउँमा छँदा ठूला सपना देखिँदैन थियो । हाम्रो चलन के थियो भने एक मानाको बन्दोबस्त छ कि छैन भनिन्थ्यो । कसैलाई छोरी दिनुपर्दा एक मानाको बन्दोबस्त छ कि छैन भनेर सोधिन्थ्यो । धेरै ठूला सपनाहरु थिएनन् । मैले अलि ठूलो भइञ्जेलसम्म साना, ठूला काम बुझ्दैन थिएँ । आमा पनि बित्नुभएको थियो ।

त्यही भएर होला, धेरै काम गर्थे । मलाई बाती काट्नेदेखि टपरी, दुना बनाउनेदेखि, तान लगाउने, परालका पिर्का बनाउन आउँछ । पोखरा जेलमा बस्दा कपडा बुन्न सिकेको थिएँ । मन परेका दिदीबहिनीहरुलाई साडी बनाएर बाहिर पठाइदिन्थेँ । आफैले लाउने कपडा पनि बुन्थेँ । मलाई कमिज सुरुवाल काट्न, सिउँन आउँछ ।

जेलमा बस्दा पनि साथीहरु खाना बनाउथे, म भाँडा माझ्थेँ । मैले घरगृहस्थीमा आफूलाई चाहिने काम सबै गर्थेँ । हवाईजवाजको पाइलट हुन सकिँन, चलाउन जानेको छैन । मैले २०३६ सालमा गाडी चलाउन सिकेको हुँ । २०२० सालमा साइकल चलाएँ ।

प्रतिक्रिया दिनुहोस्