२२ बैशाख २०८१, शनिबार

 

विद्यामन्दिर माध्यमिक विद्यालयको सप्ताहव्यपी कार्यक्रम सहित ८२ औं वार्षिकोत्सव सुरु

धौलागिरि अञ्चलकै सबै भन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको ८२ औ वार्षिकोत्सव सुरु भएको छ । बुधबारबाट सुरु भएको वार्षिकोत्सव फागुन २ गते मूल समारोह आयोजना गरिएको छ।

८२ औ वार्षिकोत्सव सप्ताहव्यपी कार्यक्रम गरि मनाउन सुरु गरेको विद्यालयले बुधबार कक्षा १ देखि ५ सम्ममा विद्यार्थीहरुबिच आन्तरिक खेल तथा प्रतियोगिता आयोजना गरिएको थियो । बिहिबार म्यूजिकल चियर, हस्तलेखन, चेस र भलिबल प्रतियोगिता भएका छन् । शुक्रबार छात्र, छात्रा भलिबल, आन्तरिक हाजिरजवाफ प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै शनिबार ३ हजार मिटर दौड, २९ गते नगर स्तरिय अन्तर माध्यमिक विद्यालय हाजिर जवाफ, घैटोफोर, फुटबल, छेलो, सुपर मेमरी लगाएतका प्रतियोगिता आयोजना गरिएको विद्यालयका सहायक प्रअ छविरमण रेग्मीले जानकारी दिनु भयो ।

त्यस्तै फागुन १ गते नगर स्तरिय अन्तर माध्यमिक विद्यालय राष्ट्रिय गीतमा एकल लोक नृत्य प्रतियोगिता, गजल तथा लोक गीत प्रतियोगिता र विज्ञान प्रर्दशनी आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकालले बताउनु भयो ।

शैक्षिक जागरणको इतिहास बोकेको यस विद्यालयमा विद्यार्थीहरुलाई सृजनशिल रुपमा सिकाउने र आधुनिक सूचना प्रविधि मार्फत पढाउने योजना अघि बढेको विद्यालयका प्रधानाध्यापक ढकालले बताउनु भयो ।

फागुन २ गते अन्तिम दिन विज्ञान प्रर्दशनिसहित मुल समारोह आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनु भयो ।वार्षिकोत्सवलाई हामीले उत्सवको रुपमा मनाएर विद्यार्थी र अभिभावकहरुलाई यस विद्यालय तर्फ थप आकर्षित गर्ने अभियानमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताउनु भयो ।

विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले स्थापना गरेको विद्यालयमा पहिले पुस्तकालय, संगीत कक्षा, घरेलु इलम सिकाउने सीप कक्षा र गृह विज्ञानको पनि व्यवस्था थियो ।चेतना र जागरणको इतिहास बोकेको यस विद्यालयले यस क्षेत्रको शैक्षिक र बौद्धिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

राणा प्रधानमन्त्री देव शमशेरको छोटो कार्यकालमा बागलुङसहित देशभर ३ सय वटा भाषा पाठशाला खुलेका थिए ।ती पाठशालामा पठाइने पाठ्य पुस्तक लेख्ने जिम्मा बझाङी राजा जयपृथ्वी बहादुर सिंहलाई सुम्पे।

बागलुङ बजारमा पहिलो पटक तत्कालीन युवाहरूले बागलुङ नगरपालिका वडा नं ३ जिल्ला प्रशासन कार्यालय बागलुङको अगाडिको रेडक्रस सोसाइटीको भवन भएको ठाउँमा पाठशालामा खरीले पाटीमा लेखेर अक्षरारम्भ गरे ।

ढुंगाको छाना भएको भाषा पाठशालाको भवनमा बानपा ३ रात्माटाका जगन्नाथ उपाध्याय र चन्द्रा दत्त उपाध्यायले संस्कृत र नेपाली विषयको अध्यापन गराउनु हुथ्यो ।विद्यार्थीहरुले घरघरबाट गुद्री लिएर पढ्न जाने चलन थियो ।

ठुलो खरीको ढुंगा ल्याएर काटेर विद्यार्थीहरुलाई दिने गरिथ्यो । पछि मात्र बाँसले मोसीमा चोपेर नेपाली कागजमा लेख्ने चलन बस्यो ।त्यहि भाषा पाठशालाका विद्यार्थीहरुले घरेलु उघोग विघामन्दिर विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालय मा थप अध्ययनलाई अगाडि बढाएको थियो ।

विस १९९७ सालमा विघालयका संस्थापक ओम प्रसाद गौचनले प्युठानबाट कुल प्रसाद कौ नाम गरेका मास्टरलाई ल्याएपछि विघार्थीहरूले पहिलो पटक अग्रजी भाषाको वर्णमालाका अक्षरहरू पढ्न पाए ।कौ मास्टरले नेपाली, हिन्दी, उर्दू, र अग्रजी भाषा पढाउनु हुन्थ्यो ।

कौ मास्टरलाई ल्याउन अर्का संस्थापक मेघ कुमार वैघको विशेष भूमिका थियो ।पाठशालाकै हातामा  १९९९ सालमा रातिराति लालटिनको उज्यालोमा वाचनालय पनि संचालनमा आएको थियो । १९९७ सालमा ओम प्रसाद गौचन र मेघकुमार वैधको नेतृत्वमा राधाकृष्ण मन्दिरको पाटीमा घरेलु उघोग विघामन्दिर पाठशालाको भवन तयारी गरी व्यवस्थिति रुपमा पढाई सुरु गरिएको थियो ।

साथै पाठशालाको अभिन्न अंगको रूपमा रहने गरि वाचनालयलाई विद्यामन्दिर पुस्तकालयको रूपमा विकास गरियो । रात्रिकालिन वाचनालय खोलेको आरोपमा गौडाका हाकिम लेफ्टिनेट बास्सा राजाले ओम प्रसाद गौचन, मेघ कुमार वैघ, कुल प्रसाद श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, बद्री नारायण भारी र श्याम सुन्दर गुभाजूहरुलाई पक्राउ गरेका थिए ।

सन् १८५० मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत र फ्रान्सको भ्रमणबाट फर्किएपछि आफ्ना भाइ छोराहरूलाई पढाउनका लागि धीर शमशेरको अगुवाइमा दरबारमा एउटा स्कुल खुलेको थियो ।

त्यही नै आजको परिष्कृत दरबार स्कुलको सुरुवाती रूप हो । त्यही स्कुल हिटीदरबार बाट सेतो दरबार हुँदै अहिले रानीपोखरीको छेउसम्म आइपुगेको हो । जुद्ध शमशेरको पालासम्म त्यही दरबार स्कुल नै मुलुकको एक मात्र हाईस्कुल थियो ।

धीर शमशेरले नै तीनधारा पाठशाला र पाकशालासमेत खोलेका थिए । २८ वर्षसम्म शासनसत्ताको बागडोर सम्हालेका महाराज चन्द्र शमशेरले आफ्ना भाइछोरा पढाउन तथा विदेशीलाई नेपालमा पनि कलेज छ है भन्ने देखाउनका लागि भए पनि त्रिचन्द्र कलेजको स्थापना गरेका थिए । त्यही नै एक शताब्दी लामो राणा शासनमा खुलेको एक मात्र कलेज थियो ।

प्रतिक्रिया दिनुहोस्